मर्निङवाक टोली

तुलसीहरि कोइराला 

आज पनि उसैगरी नै कालेले ख्वाँइमायाको सलले पसिना पुछ्यो सिनित्त पारेर । उसले पुछिसकेपछि डाक्टर, पत्रकार, पसले साहू र मोटरसाइकल पार्टस् व्यापारी पनि हारालुछै जस्तो गरी आ–आफ्ना पसिना पुछ्न थाले ख्वाँइमायाको सलले ।
त्यसो त सबैका नै पुछ्नैपर्ने गरी पसिना आएका पनि थिएनन् तर त्यसरी पुछ्ने क्रममा पनि एकखालको नियमितता थियो । बरु तप्प तप्प पसिना चुहिरहेको ख्वाँइमायाको अनुहार भने पुछिएको हुँदैनथ्यो । मर्निङवाकपछिको व्यायामले गर्दा निस्किएको शारीरिक तापले रातो भएको छ ख्वाँइमायाको अनुहार । उसको नाक र चिउँडोबाट तप्प तप्प पसिनाका थोपा झरेर शीतले भिजेको चउरको दूबोमा विलिन भइरहेका थिए । ख्वाँइमायाको अनुहारबाट जति बढी पसिना निस्किन्छ उति भरभराउँदो देखिँदै जान्छ उनको मुखमण्डलको आभा ।

सबैले एकसरो पसिना पुछिसकेपछि पत्रकार मतिर फर्कियो र मुसुक्क हाँस्यो । उसको हँसाइको भावमा जति कुटिलता झल्किन्थ्यो, उति नै मप्रति व्यंग्य पनि मिसिएको थियो । म पनि पत्रकार भन्ने थाहा पाएपछि मसँग उसले चिनजान बढाएको थियो । उसँग हाइहेल्लो चल्दाचल्दै त्यो ग्रूपका सबैसँग सामान्य रूपमा म पनि परिचित भइसकेको थिएँ । खै आज के सोच्यो पत्रकारले र म नजिकै आएर सोध्यो— तपाईं पनि ख्वाँइमायाको सलले पसिना पुछ्ने हो ?

पहिलो त पुछ्नैपर्ने गरी मेरा पसिना नै निस्किएका थिएनन् । त्यसमाथि ख्वाँइमायासँग उति नजिक भइसकेको पनि छैन म, उनीहरूको जसरी सल तानेर पसिना पुछ्नलाई । अझ भन्नैपर्दा, एउटा सलमा पाँचपाँच जनाले मुख दलिसकेपछि मैले छैटौं मुख दल्नुको मतलब अरूका पसिनाको गन्ध लिनु मात्रै हो र त्यस्तो गन्धलाई मेरो नाकले दुर्गन्ध मान्दै आएको छ । मैले भैगो, म पुछ्दिनँ, मेरा पसिना नै आएका छैनन् भनिदिएँ पत्रकारलाई ।

ख्वाँइमायाले हामीबीचको संवाद सुनिछिन् । मतिर फर्किएर बोलिन्, ‘पुछ्न मन भए पुछे भइहाल्छ नि ।’
मर्निङवाकको यो रमाइलो दृश्य त्यस वरिपरिका कसैको लागि पनि अनौठो थिएन । मेरो लागि त झन् अनौठो हुने प्रश्नै उठ्दैनथ्यो । उनीहरूसँग परिचय हुनुभन्दा अघिदेखि नै यो दृश्यसँग म परिचित थिएँ । त्यसपछि मात्र दृश्यका पात्रहरूसँग परिचय भएको हो । यसलाई यसोभन्दा नि हुन्छ— नाटक हेर्दाहेर्दा नाटकका पात्रहरूसँग नि म परिचित भइसकेको थिएँ ।

मैले सुरुसुरुमा ख्वाँइमायाका बारेमा अनुमान लगाएको थिए कि यी चार जनामध्येमा कालेकी चाहिँ ऊ श्रीमती हो र अरू चार जना उसका देवर, भाइ, भदाहा हुन सक्छन् ।

मैले यसरी अनुमान लगाउनुमा केही तथ्य मेरा आँखाले भेट्टाएका थिए । जस्तो कि, काले आफूले व्यायाम गर्नुभन्दा पनि ख्वाँइमायालाई व्यायाम गराउनमा ज्यादा दिलचस्पी दिइरहेको हुन्थ्यो । ख्वाँइमायालाई हात र खुट्टाको तालमा बुरुक्क बुरुक्क उफ्रिनलाई हौस्याउँदै सिकाउँथ्यो । उसको भ्यात्त परेको पेट र त्योभन्दा माथिका निक्कै गह्रुँगाझैं देखिने सामग्री व्यायाममा उफ्रिँदाको तालमा औधि नै वाचाल देखिन्थे । ख्वाँइमायाको त्यो दृश्य ऊ ज्यादै नजिकबाट हेथ्र्यो । ख्वाँइमाया गलेर फतक्क भएर स्वाँस्वाँ गर्दै बिसाएपछि मुसुक्क हाँस्दै ख्वाँइमायाको पेट सुम्सुम्याउँथ्यो ऊ र भन्थ्यो— हेर त, स्वातसुत्तै घटेर अब त जिरो फिगरमै आइहालिन् नि !

ख्वाँइमायालाई फुक्र्याएपछि साथीहरूतिर फर्किन्थ्यो ऊ र आँखा झिम्क्याउँथ्यो । त्यसपछि सबै जना एकसाथ हाँस्थे ‘लाफिङ थेरापी’ भन्दै । हाँसोले पूरै चउरको वातावरणलाई कोलाहलमय बनाएर टाढाटाढासम्म गुञ्जिन्थ्यो । ख्वाँइमायालाई भने लाजले फतक्क गलाउँथ्यो र थचक्क बस्थिन् दूबोमा । कालेले आराम गरेर बस्नै दिँदैनथ्यो । तानेर उठाउँथ्यो र पिटी खेलाउन सुरु गराइहाल्थ्यो— एक(दुई, एक(दुई ।
ख्वाँइमाया र उनको अघिपछि लाग्ने यो टोलीकै कारण मेरो अल्छी पाराको मर्निङवाकले पनि केही समयदेखि निरन्तरता पाइरहेको थियो । मर्निङवाक गर्ने(गराउनेको रमाइलो जति हुन्थ्यो, वरपरका रमितेहरूलाई पनि आँखाको रमाइलो थियो । कतिपय न धपेडीमा हिँडिरहेका हुन्थे, न त व्यायाम नै गरेका देखिन्थे र पनि नियमितजस्तै देखिन्थे तिनीहरू पनि ।

अर्को रमाइलो कुरा त, कुनै दिन कारणवश उनीहरूमध्ये कुनै एक जना आएको छैन भने उसको बारेमा काट्नसम्म कुरा काटिरहेका हुन्थे उनीहरू । पत्रकार आएको छैन भने उनीहरू— आज कता मुन्टिएछ ठग पत्रकार, कतै असुलीमा हिँडेको होला ‘झोले पत्रकार’ भनिहाल्थे । उसको साप्ताहिक पत्रिका कुन हो भन्ने पनि उनीहरूलाई थाहा थिएन र त्यो पत्रिका निस्किन्छ कि निस्ँिकदैन भन्ने पनि थाहा थिएन ।
पसलेलाई त झन् नामै ‘जिरामेथी’ राखेकै हुन् । मोटरसाइकल पार्टस्वालालाई पनि ‘ग्यारेजमिस्त्री’ भन्थे । उसको कामको बारेमा सबैलाई जानकारी भएझैं भन्थे— त्यसको काम नै टायरमा हावा भर्ने र पन्चड टाल्ने त हो नि । डाक्टरको बारेमा पनि उनीहरू उसरी नै भन्थे— खै त आज ‘प्रसूति डाक्टर ? ’ सुत्केरी गराउँदा गराउँदा आफैं सुत्केरी भयो कि के हो कम्पाउन्डर ?

ख्वाँइमायाको बारेमा भने उनीहरू कुनैले पनि एक शब्द नराम्रो चुहाउँदैनथे । कुनै बिहान ऊ आएकी छैन भने उनीहरू गहिरो शोकमा परेका छन् जस्तो देखिन्थ्यो । उनीहरूमा कुनै जाँगर नै देखिँदैनथ्यो । लाग्थ्यो— ख्वाँइमायाले उनीहरूको जाँगर जति पोको पारेर उसँगै राखेकी छ र ऊ आई भने मात्रै जाँगरको पोको फुकाएर सबैलाई भागशान्ति बाँडिदिन्छे । त्यसैले ऊ नआएको बिहानीको मर्निङवाक उनीहरूका लागि ‘दिक्कवाक’ भइदिन्थ्यो ।

उसको नाम ख्वाँइमाया राखिनुको कारण नै यसैमा रहेछ भन्ने भेउ पाउन मलाई धेरै दिन लागेनथ्यो । महिनाको तीन दिन ऊ मर्निङवाकमा आउँदिनथी । यी तीन दिन उनीहरूका लागि तीन महिनाजस्ता लाग्थे । उनीहरू कुनै एक्सरसाइज नै नगरी गफैगफमा बिहान बिताउँथे । बरु हिँड्नमा फाइदा छ, वरिपरिको हरियाली हेर्दै हिँड्दा आँखालाई डाइट पुग्छ भन्थे र हिँडिहाल्थे । ख्वाँइमायाको वास्तविक नाम त ‘माया’ मात्रै रहेछ । ऊ आउन ढिलो गरेको दिन अथवा नआएको दिन उसको खोजी गर्दै ‘खै माया ? ’ भन्दाभन्दै नामै खैमाया र यसैको भाषिक अपभ्रंशित रूप ‘ख्वाँइमाया’ बनाएका रहेछन् ।

उनीहरूका कारण मेरो मर्निङवाक पनि नियमित नै भइरहेको थियो । अन्यथा म उति जाँगरिलो मान्छे त होइन । ख्वाँइमाया नआएको दिन पनि उनीहरूको जस्तो जाँगरको पोको उसले नै लगेको जस्तो मलाई हुँदैनथ्यो । उसको उपस्थितिमा बेग्लै रमाइलो त हुन्थ्यो भने नआएको दिनमा पनि टोलीको खाइखाइ र खुइखुइ हेर्न लायकको हुन्थ्यो ।

उनीहरू सबैको घर एक–अर्कोको टोल छिमेकमै रहेको गफैगफमा मैले थाहा पाएको थिएँ । ख्वाँइमायाको श्रीमान् वैदेशिक रोजगारीमा गएको छ भन्ने थाहा पाउन केही समय लागेथ्यो मलाई । साउदी जानुभन्दा पहिले मोटरसाइकल पार्टस् व्यापारी भनिएको कालेकै ग्यारेजमा काम गर्ने ख्वाँइमायाको लोग्नेलाई उनीहरूले नै पैसा हालिदिएर विदेश पठाइदिएका रहेछन् । दुखियालाई जहाँ गए पनि उसको दुःख सँगसँगै गएको हुन्छ भनेर नै ‘नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै’ भनेका हो रहेछन् । साउदी गएको दुई महिनामै ख्वाइमायाको लोग्ने एउटा सामूहिक बलात्कारको केसमा जेल परेको रहेछ । उसको लोग्ने त्यसमा संलग्न थियो कि थिएन भन्ने पत्ता लगाउन र संलग्न नभएको भए झुठा अभियोगको विरुद्धमा अदालतको ढोका ढकढक्याउन त्यो हदसम्मको दुःख कसले गरिदेओस् ।

भन्न त ख्वाँइमायालाई मर्निङवाक टोलीका सबैले नै ‘हामी पहल गरिरहेका छौं, केही समयपछि छुट्छ, पिर नमान, हामी छौं’ भनेका रहेछन् र भरणपोषणको जिम्मेवारी नि वहन गरेका रहेछन् । लोग्नेलाई विदेश पठाइदिनु, यता उसको दुःखमा सहयोग र भरणपोषण गर्नु, त्योभन्दा ठूलो सहयोग के हुन्छ ? यी सबै कुरा थाहा पाइसकेपछि उसको सलले पालैपालो सबैले पसिना पुछेको पनि मलाई ठीकै हो जस्तो लाग्न थालेको थियो । अनि बिहान बिहान यसो चउरमा भेटिएको भरमा उनीहरूकै जसरी म कुन हकले ख्वाँइमायाको सलमा आफ्नो मुख दल्न सक्थेँ ?

उनीहरूको मर्निङवाक टोलीमा सबैभन्दा पछि थपिएको सदस्यचाहिँ डाक्टर रहेछ । उसको अगाडि त सबै जना नै उसलाई निक्कै मान गरेको देखाउँथे र ‘डाक्टरसाब’ नै भन्थे तर नआएको दिन चाहिँ उसलाई ‘कम्पाउन्डर’मा झारिहाल्थे । कम्पाउन्डर नै भने पनि उसप्रति ख्वाँइमाया लगायतको पूरै टोली उसको अगाडि अनुगृहित देखिन्थ्यो ।

मर्निङवाकको रमाइलोमा केही समयपछि एकाएक ग्रहण लागेजस्तो भयो । यसको मूल कारण त ख्वाँइमायाको अनुपस्थिति नै हो । ख्वाँइमाया मर्निङवाकमा आउन छोडेको हप्ता दिनसम्म त एकदुई जना आउँदै थिए तर त्यसपछि भने उनीहरूको पूरै टिम नै गायब भयो । डाक्टर त झन् अलिक अगाडिदेखि नै आउन छोडिसकेको थियो । यो टोली एकाएक हराउनुको रहस्यले मलाई भित्रभित्रै चिमोट्न थाल्यो । मान्छेको स्वभाव पनि अचम्मकै हुन्छ, न आफन्त, न चिनजानका घनिष्ठ, न त आफ्नै टोलका ! तैपनि यो रहस्यको नजिक पुगेर कौतूहल मेटाउने भोकले मलाई गुप्तचरीको ठूलै जिम्मेवारी पाएको कर्मचारीजस्तै बनाइदियो । चिताइसकेपछि कुनै पनि रहस्यको पोको फुकाउन गाह्रोचाहिँ नहुने रहेछ, भलै मेहेनत र परि श्रम भने बढी नै परोस् ।

ख्वाँइमाया र पसिना ग्रूपबीचको गाढा सम्बन्धको परिणाम उसको लालनपालनमा गाँसिएको जिम्मेवारीमा मात्रै सीमित रहेन । लोग्ने साउदीको जेलमा परेको श्रीमतीलाई छिट्टै उसको श्रीमान्लाई जेलबाट निकाल्न पहल गरिरहेका छौं भन्दै पसिना ग्रूपले लिएको फाइदाको परिणामको पोको पटकपटक डाक्टरको क्लिनिकमा बिसाइसकेकी थिई ख्वाँइमायाले । यो पटक भने उनीहरूले ख्वाँइमायालाई नै उल्टै सुनकुखुरी बनाउने व्यवसाय फेला पारेछन् । उसलाई एउटा कोठाको बासबाट सिंगो फ्ल्याटमा आरामसाथ सारिदिएका रहेछन् । संयोग नै कस्तो मिलेको भने मेरो घनिष्ठ मित्रको घरमा उसको अहिलेको डेरा भएको पत्तो लागेको दिन मेरो पैतालामा गडेको डम्फरको काँडा फुत्त निस्किएजत्तिकै हलुका भएँथेँ म ।

मित्रको घरमा गएको बेला घाम तापेर बसिरहेकी स्वास्नीमान्छेलाई देखाउँदै मसँग मित्रले गनगन गरेथे— ऊ त्यो आइमाईलाई हेर न सन्तोष, यहाँ फ्ल्याट लिएर बसेकी छे । लोग्ने विदेश गएको छ भन्छे । कहिले को, कहिले को आएको देख्छु । कुनैलाई मामा भन्छे, कुनैलाई देवर भन्छे, कुनैलाई भाइ । यसको चाल देख्दा त ती आउने उसका आफन्तहरूमाथि पनि मलाई त शंका लाग्छ । भन्दा पनि के भन्नु ? भाडा पनि अग्रिम नै तिरिरहेकी छे । निकालिदिऊँ भने पनि कसरी निकालिहाल्नु, सरेको पनि धेरै भएको छैन । पेट बोकेकी छे । यस्तो अवस्थामा मानवीय नाताले पनि हेर्नुर्पयो नि फेरि, हैन र ?

साथीका अन्तिमका शब्द ‘हैन र ? ’ को आशयले मसँग सकारात्मक समर्थन खोजेजस्तो बुझिन्थ्यो । उसले समस्या पर्नसक्ने आशंका पनि व्यक्त गरिरहेको छ र मानवीय नाताबाट पनि सकारात्मक सोचिरहेको छ । ‘ए हो र ! यस्तै हो दुःखैदुःखको संसार’भन्दा थप केही भन्न चाहिनँ मैले । त्यति बेलै त्यो महिला घामबाट उठेर भित्र जान लागेकी थिई र ऊ अगाडि आउँदै गर्दा मैले झट्टै चिनिहाले ख्वाँइमायालाई ! चिनेर पनि मैले त्यहाँ बोलिहाल्नु पक्कै पनि हुँदैनथ्यो । बरु ख्वाँइमायाका नजर माथि उचालिएर बरन्डाको मसम्म आउने पो हुन् कि भनेर तुरुन्तै अर्कोतर्फ फर्किहाल्ने होश पु¥याइहालेँ ।

मेरो कुनै लिनु न दिनु, तैपनि यो ख्वाँइमायाको जालो आँखैअगार्डि यार्उँयाउँ गरिरहेझैँ भइरहन्थ्यो । उसलाई देखिसकेपछि एकाएक सबै हटेर गयो । ठूलै समस्याबाट मुक्ति पाएजस्तै हलुका भएथेँ म । साथीकहाँ जाने क्रम एकाध महिनाको अन्तरमा जारी नै राखेको थिएँ र कतै झ्वाट्ट अगाडि पर्ने पो हो कि ख्वाँइमाया भन्ने आशङ्काले माक्स नखोली नै भित्र छिर्थें । कहिले ख्वाँइमाया देखिन्थी, कहिले देखिन्नथी । देखिँदा नि मैले देखेँ तर उसले मलाई देखिन जत्तिकै भइरह्यो । ऊ भित्तातिर फर्किएर घाम तापिरहेकी हुन्थी, म फुत्त भित्र छिरिहाल्थेँ । साथीकहाँ बाक्लै जान पनि समस्या नै थियो । कतै साथीले नि अचेल किन यो धेरै फुर्स्दिलो भयो भन्ने पो हो कि, बाट जोगिनु त छँदै थियो ।

ख्वाँइमायाको बारेमा मभित्र किन यति धेरै अनुराग छ, कुरा मडारिरहेछन् भन्ने उत्तर म स्वयंसँगै थिएन । मूल कौतूहलको विषय त उसको गर्भकै हो । लोग्ने विदेशी जेलमा परेको छ, त्यो पनि बलात्कारको केसमा ! यता श्रीमती गर्भवती छे ! त्यो पनि पटकपटकको गर्भपतनपश्चात् बोकेको गर्भ ! मेरो अनुमानमा उसको सलमा पसिना पुछ्नेजति सबैले उसबाट फाइदा लिएका हुनुपर्छ । यसपटकको गर्भ किन बेलैमा पतन गराएनन् त ? सायद ख्वाँइमायाको स्वास्थ्यसँग जोडिएर हुनसक्छ । अथवा ढिलोगरी पत्तो पाएर समय बितिसकेको पनि हुनसक्छ ।

समस्याको चुरो जेसुकै भए पनि गाँठ्ठी कुरोचाहिँ उसबाट जन्मने बच्चाको छ । उसलाई ख्वाँइमायाले कसबाट पितृत्वको छाप लगाउली ? मेरो आफ्नै मनदेखि कहिलेकहिले त हाँसो पनि उठ्छ । लाग्छ, म विद्यावारिधि गर्दैछु र ख्वाँइमाया नै मेरो शोधको विषय हो । अब केही महिनामै मेरो विद्यावारिधि पूरा हुँदैछ । यसबीचमा मैले कम्पाउन्डरको नाम मात्रैको ‘अस्पताल’ पनि फेला पारिसकेको थिएँ । त्यही अस्पतालमा ख्वाँइमायाको पटकपटकको गर्भको नियोजन गरिएको रहेछ र कम्पाउन्डर यही कारणले त्यो मर्निङवाक टोलीमा मिसिन पुगेको रहेछ । पक्का छ कि, उसलाई सुत्केरी गराउने अस्पताल पनि यही हो ।

मेरो अनुमान मात्रै नभएर हुने नै त्यही थियो, त्यसै गरियो । ख्वाँइमायाको पेटको बच्चाको क्रिटिकल अवस्था देखाएर अप्रेसन गरेर निकालियो । उसको अप्रेसनको दिन मर्निङवाक टोलीका सबै नै उपस्थित थिए र ख्वाँइमायालाई निश्चिन्त हुन ढाडस दिइरहेका थिए । आफूहरूले उसलाई जसरी भए पनि व्यवस्थापन गर्ने र कुनै किसिमको लाञ्छना लाग्न नदिने वचन दिइरहेका थिए ।

अपशोच ! नौ महिनासम्म त्यत्रो तनावमा पेटमा बोकेर जन्मिएको बच्चा मृत जन्मिएको थाहा पाउँदा ख्वाँइमायालाई असह्य पीडा भएको थियो । ‘हुन्द्यौ, अब पिर गरेर हुने केही होइन । जे हुनु भइसक्यो, सम्हाल आफूलाई माया’ एक मुखले त्यत्तिका आफ्ना शुभचिन्तक मात्रै नभएर अन्नदाताहरूले नै भनिसकेपछि उसले के भनोस्, कति मात्रै पिर गरोस्् । उसले गर्न नै के सक्थी र । रुँदै यतिसम्म त भनिथी, ‘एकपटक मरेकै बच्चाको पनि मुखसम्म देखाइदिएको भए त हुन्थ्यो नि ।’ सायद उसलाई पनि ‘ठूलै समस्याबाट मुक्ति पाएँ, भैगो’ भन्ने लागेको पनि हुनसक्छ ।

ख्वाँइमायाको गर्भको बच्चाको अवस्था र विचरीको मनोदशा थाहा पाएर म आफैं पनि आश्चर्यचकित भइरहेको थिएँ । आफ्नो सर्वस्व सुम्पिएर विश्वास गरेकाहरूसँग उसले गरेको आशा र भरोसामा खग्रास ग्रहण लगाइदिएका थिए मर्निङवाक टोलीले । उनीहरूले गरेको यति ठूलो छल र धोकाधडीको पत्तो नै नपाउने गरी ख्वाँइमाया ‘सरोगेट मदर’ बनाइएकी थिई । उसको पेटबाट निकालिएको बच्चा सालनालसहित नै बीसौं लाखमा बिकेर आमाबाबुको काखमा पुगिसकेको थियो । ख्वाँइमाया भने मातृत्वको पीडा छातीबाट बगेको अमृतरूपी पानीको भेलमा बगाइरहेकी थिई ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार