बर्ड फ्लु : यस्तो छ वास्तविकता

रूपन्देही लगायतका आसपासका क्षेत्रमा वर्डफ्लुका समस्याहरू बेला बेलामा बढिरहेका कुराहरू हामीले सुन्दै आएका छौँ ।
पछिल्लो समयमा सबैभन्दा बढी चर्चाको विषय पनि यही नै बनेको छ । विभिन्न सञ्चार माध्यमहरूबाट हामीले वर्डफ्लु लागेर यति कुखरा, चराचुरुङ्गीहरू मरेको समाचार सुन्दै आएको बेलामा जिल्ला पशुसेवा कार्यालयका कार्यालय प्रमुख तथा पशुरोग विशेषज्ञ डाक्टर विनयराज कर्णले योे वर्डफ्लु नभएको बताए ।
उनले वर्डफ्लुको भाइरस एच फाइव एन वान भएको र अहिले देखा परेको भाइरस भने एच नाइन एन टु रहेको बताए ।

वर्डफ्लु एच फाइव एन वान भाइरसको संक्रमणबाट हुने गर्छ । बर्ड फ्लू काग, परेवा, बट्टाई, कोयल, कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गी, उड्ने चरा, पानीमा बस्ने चरामा लाग्ने सरुवा रोग हो । यो रोग मानिसमा पनि सर्न सक्छ । तर नेपालमा भने मानिसमा अझै भेटिएको छैन ।
यो रोग सर्वप्रथम सन् १८७८ मा पंक्षीमा देखा परेको थियो । त्यति बेला संसारभरिका गरेर ५० लाख मानिसहरू मरेका थिए । सन् १९०२ मा पनि पंक्षीमा देखिएको हो ।

त्यस्तै सन् १९९७ मा हङकङमा देखा परेको थियो जसलाई हङकङ फ्लु भन्ने पनि नाम दिएको थियो । साथै त्यति बेलादेखि बर्डफ्लु भनेर नाम दिएको हो । खोकीको सङ्क्रमण जस्तै हो बर्ड फ्लू, जसले कुखुरा तथा पक्षीहरूमा विभिन्न समस्या निम्त्याउँछ । बर्ड फ्लूको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, ¥याल, सूली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्ने गर्दछ । कुखुराको मासु ७० डिग्रीभन्दा माथिको तापक्रममा राम्ररी पकाएर खाएमा रोग लाग्दैन ।

बर्ड फ्लुबाट बच्ने उपाय
कुखुरा व्यवसायीहरूले जैविक सुरक्षा अपनाउने
अवैधरूपमा सिमाका बोर्डरहरूबाट कुखुरा, मासु, दानाहरूको आवतजावतमा रोक लगाउनु पर्ने
कुखुराहरू मरिहालेमा नजिकैको भेटनरी कार्यालयमा जानकारी गराउने । तपाईं बस्ने वरपर कुनै पनि पंक्षी मरेको देख्नेबित्तिकै सचेत हुनुहोस्, आफैं जान्ने भएर टिपेर फाल्नेतिर नलाग्नुस् । आफ्ना बालबालिकालाई त्यस्ता पंक्षीहरूको छेउछाउमा जान नदिनोस् ।
कुखुरा तथा पंक्षीको मासु मज्जाले धोएपछि राम्ररी पकाएर मात्रै खाने गर्नुहोस् ।
तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरू मरेको देख्नु भएको छ भने तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरूमा खबर गरी जानुहोस् ।
यसरी तपाईको टोल छिमेकमा कुखुरा तथा पंक्षीहरू मरेको थाहा पाउनु भयो या शंका लाग्यो भने माक्स लगाएर हिंड्नुहोस् ।
रोगको लक्षण
कुखुरामा बर्ड फ्लूको सङ्क्रमण थाहा पाउने पहिलो विधि हो यापिड टेस्ट । यो टेस्टको सुविधा देशका पाँच विकास क्षेत्रमा अवस्थित क्षेत्रीय प्रयोगशालामा छ ।
यसबाट ए समूहको भाइरस हो कि होइन पत्ता लगाएपछि अर्को टेस्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइन्छ, जहाँबाट एचफाइभ एनवान हो, होइन पत्ता लाग्छ ।
पोल्टी फार्म वा घरमा पालिएका कुखुरा ¥याल–सिंगान काढ्ने, लोती सुन्निने, लोती र सिउर हरियो हुने, डाइरिया हुने लक्षण देखा परी अप्रत्यासित रूपमा कुखुरा मर्न थाले भने पशु चिकित्सक वा प्राविधिकहरूलाई खबर गरिहाल्नु पर्दछ ।
मरेका कुखुरालाई नाङ्गो हातले छुनु हुँदैन, खोरमा जाँदा माक्स र ग्लोबहरू लगाएर जानुपर्दछ र फर्केपछि राम्ररी साबुनपानीले हात धुनुपर्दछ । कुखुराबाट अत्यन्त चाँडो मान्छेमा सर्न सक्ने भएकाले यो मानव स्वास्थ्यका लागि पनि खतरापूर्ण छ र तत्काल नियन्त्रण गरिएन भने महामारीको रूप लिनसक्छ ।

सावधानी
बर्डफलु पक्षीहरूमा लाग्ने अति संक्रामक, घातक सरुवा रोग हो । रोग लागेका कुखुरा, हाँस वा अन्य पंक्षीसँग असावधानीपूर्वक र प्रत्यक्षरूपमा सम्पर्कमा आउनाले ( जस्तै काट्ने, भुत्ल्याउने र बोक्ने मानिस तथा कुखुरासँग खेल्ने बच्चामा समेत) सर्न सक्ने सम्भावना धेरै हुन्छ ।
बर्डफलु रोग एभियन इन्फलुएन्जाको कारणबाट लाग्छ । हाल देखा परेको भाइरसलाई एच ५ एन १ को नामले चिन्ने गरिन्छ ।
यो रोग संक्रमण भएको ४८ घण्टाभित्र कुखुरा फार्मको ९० देखि १०० प्रतिशतसम्म कुखुरा मर्न सक्छन् । भाइरसको असर सबैभन्दा बढी कुखुरामा देखिन्छ ।
हाँस र जङ्गली चराहरूमा यस किसिमको भाइरस हुने भए ता पनि ती बिरामी नपर्न सक्छन् । खासगरी जङ्गली चराहरूमा यी भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता हुने भएकाले रोगले असर गर्दैन तर तिनले अरू पक्षीमा भाइरस सार्न सक्छन् ।
एभियन इन्फलुएन्जा भाइरस कसरी र्सछ ?
रोगी पक्षीले खोक्दा नजिक रहने पक्षीमा भाइरस सर्न सक्छ । तर एक ठाउँबाट अन्यत्र हावाको माध्यमबाट भने भाइरस सर्दैन ।
रोगी पक्षीको सुलीमा अत्यधिक रूपमा भाइरस रहन्छ । सुली टाँसिएका सम्पूर्ण वस्तु जस्तैः अण्डा, अण्डाको क्रेट, दानाका बोरा, फार्ममा जाने व्यक्तिको जुत्ता, हात र सुली टाँसिएको सवारीसाधनको पाङ्ग्रा आदिको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा रोग सर्न सक्छ ।
कुखुराको मासुमा हुने रसमा पनि भाइरस हुने भएकोले रोग लागेको ज्यूँदो कुखुरा र त्यसको काँचो मासु एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा टाढा टाढासम्म पनि यो भाइरस फैलिन सक्छ ।
प्रदूषित पानीमा ४ देखि ३० दिनसम्म पनि यो भाइरस जीवित रहने भएकाले एक ठाउँबाट बगेर दूषित पानी अर्को ठाउँमा जाँदा रोग सर्न सक्छ ।
बसाइँ सरेर आउने चराचुरुङ्गीहरू विभिन्न देश घुम्दै आउने हुन्छन् । यदि यी चराचुरुङ्गीहरू रोग भएको मुलुकबाट आएका छन् भने तिनले आफूसँग भाइरस बोकेर ल्याउन सक्छन् । यस्ता जङ्गली चरा र हाँस स्वयम् बिरामी नभए पनि यदि उनीहरूमा भाइरस छ भने घरपालुवा कुखुरासँग सम्पर्क हुँदा तिनले पनि भाइरस सार्न सक्छन् ।

कुखुरामा बर्डफलु लागेको थाहा पाउने उपाय

रानीखेत तथा अन्य केही रोगका लक्षणहरू बर्डफ्लुसँग एकदम मिल्दाजुल्दा हुन्छन् । तसर्थ प्रयोगशालामा परीक्षण नगरी लक्षणको आधारमा रोगको निक्र्योल गर्न सकिँदैन । तसर्थ रोगको यकिन नभए पनि रोगबाट हुन सक्ने ठूलो क्षतिबाट बच्न निम्न लक्षण देखिने बित्तिकै नजिकको पशु सेवा केन्द्र वा जिल्ला पशु सेवा कार्यालयमा खबर गर्नु उचित हुन्छ ।
अकस्मात् र अस्वाभाविक रूपमा एकैचोटि धेरै पक्षीहरू मर्न थालेमा ।
पक्षीले स्वाँ–स्वाँ गर्ने, खोक्ने र सिँगान, ¥याल आदि बगाउने गरेमा ।
टाउको सुन्निएमा, सिउर–लोती नीलो रङ्गको भएमा ।
फुल पार्न बन्द भएमा वा कमजोर बोक्रा भएको फुल पार्ने गरेमा ।
दाना नखाने, तिर्खाउने र छेर्ने गरेमा ।
बर्डफलु सम्बन्धमा बेलैमा सतर्कता अपनाउन सके यसबाट हुने ठूलो नोक्सानीबाट बच्न सकिन्छ । साथै मानव स्वास्थ्यमा पर्न सक्ने क्षतिबाट पनि जोगिन सकिन्छ । त्यसका लागि व्यक्ति स्वयंको तत्परताको बढी महत्व हुन्छ ।
(जिल्ला पशुसेवा कार्यालयका कार्यालय प्रमुख तथा पशुरोग विशेषज्ञ डाक्टर विनयराज कर्ण र फिजिसियन डाक्टर महेशराज घिमिरेसँग गरिएको कुराकानीमा आधारित)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार