न्यायपालिकाको शक्ति जनविश्वास ः राष्ट्रपति

नेपालगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताएकी छन् ।

नेपाल बार एशोसिएसनले शुक्रबार नेपालगञ्जजमा आयोजना गरेको १४ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको लोकतान्त्रीकरण प्रक्रियामा एशोसिएसनले खेलेको भूमिका प्रशंसनीय छ भनिन् ।

‘समकालीन विश्व राजनीतिक परिवेशमा संविधान निर्माणको ऐतिहासिक उपलब्धिलाई जोगाइराख्न संविधानको कार्यान्वयन, नागरिकको न्यायमा पहुँच र राजनीतिक स्थायित्वका लागि कानुन व्यवसायीले अझ महत्वपूर्ण भूमिका खेल्नुपर्छ’– उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले पछिल्लो समय न्याय क्षेत्रमा घटेका घटना गम्भीर प्रकृतिका छन्, यस विषयमा सम्मेलनको ध्यानआकृष्ट हुनुपर्छ र न्यायपालिकाको परम्परागत छविलाई अझ सुदृढ पार्न कानुन व्यवसायीको भूमिका महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरिन् । न्यायपालिकाको शक्ति जनविश्वास भएको बताउँदै उनले संविधान र कानुनको व्याख्यामा एकरूपतासहित नेपालको न्यायपालिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सबै पक्ष अग्रसर हुनुपर्नेमा पनि जोड दिइन् ।

राष्ट्रपति भण्डारीले कानुन व्यवसायीले कानुन कार्यान्वयन गराउन सहज भूमिका खेल्नुपर्छ भन्दै बरु १०० जना अपराधी छुटोस् तर, एकजना निरपराधीले सजाय पाउनु हुन्न भन्ने भावना र मान्यतामा भूमिका खोजिनुपर्छ भनिन् । सम्मेलन उद्घाटन समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले कानूनी पैरवीकर्ताका रूपमा एशोसिएसनले आफूलाई स्थापित गर्नुपर्ने बताए ।
उनले नयाँ राजनीतिक परिवेशभित्र संविधान कार्यान्वयन तथा मुलुकको आर्थिक समृद्धि र विकास योजनालाई पनि सँगै लिएर हिँड्नुपर्ने आवश्यकतामा जोड दिए ।

पूर्व सभामुख सुभाषचन्द्र नेवाङले नेपालको संविधानमाथि कसैको हस्तक्षेप कदापि स्वीकार्य नहुने स्पष्ट पार्दै नेपाली जनता र मुलुकको आवश्यकताअनुसार संविधान संशोधन हामी आफै गर्छौं भने । एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीको सभापतित्वमा भएको सम्मेलन उद्घाटन समारोहमा एशोसिएसनका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटा र महासचिव खम्बबहादुर खातीले पनि बोलेका थिए ।
कार्यक्रममा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, नेपाल सरकारका महान्यायाधिवक्ता, प्रदेश र प्रतिनिधिसभाका सांसदलगायतका विशिष्ट महानुभावको उपस्थिति रहेको थियो ।

त्यस अवसरका एशोसिएसनका तर्फबाट अध्यक्ष केसीले राष्ट्रपति भण्डारी, मुख्यमन्त्री पोखरेल र पूर्व सभामुख नेवाङलाई मायाको चिनो प्रदान गरेका थिए । आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा १० वटा विषय प्रस्तुत हुने र त्यसमाथि समूहगत छलफल गरी नेपालगञ्ज घोषणापत्र जारी गर्ने बताइएको छ । सम्मेलनमा मुलुकभरका करीब तीन हजार कानुन व्यवसायीको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार