समृद्धिको आशा

  • सम्पादकीय
  • अहिले आम जनतामा समृद्धिको आशा पलाएको छ । राजनैतिक जागरण प्रधान भएको अवस्थामा त्यो जागरणले निम्त्याएको युद्ध र आन्दोलनको माध्यमबाट पुरानो उत्पादन सम्बन्ध फेरिएर नयाँ उत्पादन सम्बन्ध निर्माण भएपछि मुलुकमा समृद्धि प्रधान भएको छ ।
    नेपालमा आर्थिक क्रान्तिको लागि उत्पादन सम्बन्धमा परिवर्तन आएको छ । सामन्तवादले अठ्याएर राखेको पुरानो उत्पादन सम्बन्धलाई युद्ध र जनआन्दोलनको धक्काले भत्काई दिएपछि उत्पादनका साधनको स्वामित्वमा परिवर्तन आई पँुजीवादी युग शुरु भएको छ । यसलाई कुनै कुनै पार्टीहरूले पँुजीवादी जनवादी क्रान्ति पूरा भएको ठानेका छन् । उनीहरूको यो सही विश्लेषण हो । यो अवस्थामा अब नयाँ चिन्तन र भावनाका साथ सबैलाई साथ लिएर समृद्धिको बाटोमा लाग्नु पर्छ । विकासको लागि युगान्तरले मात्र हुँदैन । हाम्रोजस्तो बहुजातीय, बहुसाँस्कृतिक तथा बहुभाषिक मुलुकको विशेषतालाई ख्याल गरेर सबै सम्प्रदाय सँगसँगै हिंड्ने अठोट गर्नु पर्छ । सबै अटाउने, सबै देखिने र सबै जोडिने गरी सबैलाई सहअस्तित्व, समानता र स्वतन्त्रताका आधारमा समृद्धिको मेलामा सँगै हिंडाउनुु पर्छ । त्यसो हुन नसकी कुनै जाति, भाषा विशेषलाई महत्व दिएर अरूहरूलाई मूल प्रवाहबाट बाहिर फ्याँकेर हिंड्न थालियो भने समृद्धि सम्भव छैन । विगतमा युद्धको नाममा असन्तुष्टहरूले भौतिक संरचना भताभुङ्ग पारेको सन्देशबाट सिक्नुपर्छ । अबका दिनहरूमा हचुवाका आधारमा हैन संवेदनशील बनेर सबैलाई राज्य प्रणाली र पार्टी प्रणालीमा समाहित गरेर हिंडाउन सक्नुपर्छ । अहिले आम जनताहरूले समृद्धिको आशा गरिरहेका छन् । उनीहरूको नारा एउटै बनेको छ, त्यो हो समृद्धि । केहीले भने राज्य पुनःरचनाले सबै अटाउने, सबै देखिने र सबै जोडिने गरी व्यवस्थापन गर्ने कुरामा पूर्णता दिन नसकेको र अझै पनि आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरी अघि जान सुझाएका छन् । ती गुनासाहरूलाई पनि संशोधनका आधारमा व्यवस्थापन गर्न आनकानी गर्नु हुन्न । अन्त्यमा राजनैतिक क्रान्ति सम्पन्न भइसकेपछि आर्थिक समृद्धि पहिलो लक्ष्य बनेको छ । यो अवस्थामा पूर्ण शान्ति र स्थिरताको आवश्यकता छ । स्थिरताको लागि नेपाली जनताले बहुमत दिएका छन् । यो अवस्थामा सरकार बनाउन सबै वर्ग र समुदायसँग सँगै यात्रा गर्दै लक्ष्यमा पुग्नु जरुरी छ । विकास बटम च्यापेर आउँदैन । त्यो विस्तारै देखापर्छ । नेताहरूले अनावश्यक रूपमा सपना देखाउने र आगामी पाँच वर्षभित्र त्यो सपना पूरा गर्न सकिएन भने आवधिक निर्वाचनमा फ्याँकिनु पर्छ । त्यसैले बडो धैर्य, संयम र वस्तुगत बनेर आम जनतामा जानुपर्छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार