सरकारी विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाको कार्यालय सहयोगीमा

बुद्धिमान पुन :
सल्यान  । विद्यालयका प्रधानाध्यापक गाउँपालिकाको कार्यालय सहयागी भए भन्दा अचम्म लाग्न सक्छ । तर विगत दुई वर्षदेखि तलब नपाएपछि सल्यानको एक विद्यालयका प्रधानाध्यापकले गाउँपालिकाको कार्यालय सहयोगीको रूपमा काम गर्न थालेका छन् । जिल्लाको दार्मा गाउँपालिका–४ भल्चौर लहरे पिपलमा रहेको बालकल्याण प्राथमिक विद्यालयका प्रधानाध्यापक हेमन्तबहादुर थापाले विद्यालयमा पढाउन छोडेर दार्मा गाउँपालिकामा कार्यालय सहयोगीको रूपमा काम गर्न थालेका हुन् ।

वि.स २०६६ सालदेखि निजी स्रोतबाट सो विद्यालयमा रही पढाउँदै आइरहेका उनले विगत दुई वर्षदेखि तलब नपाएपछि बाध्य भएर गाउँपालिकामा कार्यालय सहयोगीको रूपमा काम गर्न थालेको बताए । ‘मैले २०६६ सालदेखि बाह्र सय तलब लिएर सो विद्यालयमा पढाउन थालेको हुँ, २०६९ सालमा प्रधानाध्यापक भएर काम गरे तर भनेको समयमा कहिले पनि तलव पाइन’, उनले भने ।

‘गत आर्थिक वर्षदेखि त झन तलब पनि पाएको थिएन, घरखर्च चलाउन मुस्किल भएपछि गाउँपालिकामा कार्यालय सहयोगीको रूपमा काम गर्न बाध्य भएको हुँ’– उनले थपे । उनलाई मासिक ५ हजारका दरले तलव दिने विद्यालय व्यवस्थापन समितिले निर्णय गरे पनि दुई वर्ष यता तलब नपाएपछि उनले गाउँपालिकाको कार्यालय सहयोगीमा काम गर्न थालेको बताए ।

‘तलब थोरै थियो, त्यही पनि दुई वर्षयता तलब पाउन सकिन, घर खर्च नै टार्न समस्या भयो अहिले बाध्य भएर कार्यालय सहयोगीको रूपमा काम गर्न थालेको छु’, उनले भने । प्रधानाध्यापकले आप्mनो विद्यालयमा पढाउन छोडेपछि पठनपाठन अवरुद्ध भएको विद्यार्थीहरूको भनाइ रहेको छ ।

प्रधानाध्यापकले नै विद्यालयमा अध्यापन गराउन छाडेर गएपछि पठन पाठनमा समस्या भएको विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले गुनासो गरेका छन् । ३१ जना विद्यार्थी रहेको सो विद्यालय अब एक बाल विकास सहयोगी कार्यकर्ताका भरमा मात्रै सञ्चालन हुँदै आइरहेको छ ।

एउटा पनि दरबन्दी नै नरहेको सो विद्यालय विगतका वर्षहरूमा चन्दाको भरमा चल्दै आइरहेको बाल विकास सहयोगी कार्यकर्ता निरा बुढाथोकीले बताइन् । उनले भनिन्– ‘स्थानीयले चन्दा उठाउन छोडेपछि अहिले मलाई पनि समस्या भएको छ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार