२१ सय सवारी साधनलाई ‘नो इन्ट्री’

बुटवल । वातावरण प्रदूषण गराएको भन्दै २० वर्ष पुराना भाडाका सवारी साधनहरू चैत लागेसँगैै चल्न नपाउने भएका छन् । मन्त्री परिषद्को निर्णय चैत लागेसँगैै कार्यान्वयनमा आएको छ । सरकारको यो निर्णयबाट करिब ६ हजार बढी भाडाका सवारी साधनहरू सडकबाट विस्थापित हुँदैछन् ।

यातायात व्यवसायीहरूले भने पूँजी पलायन हुने र त्यसबाट हजारौंको रोजी रोटी गुम्ने अवस्था आएको भन्दै सरकारको अलोकप्रिय निर्णय खारेज गर्न माग गरेका छन् । तर सरकारले यो निर्णयमा कुनै सम्झौता हुन नसक्ने बताउँदै आएको छ ।

यातायात व्यवस्था विभागले आउँदो चैत्र १ गतेबाट सडकमै उत्रेर अनुगमन गरी कारवाही शुरु गरेको छ । पर्यटन नम्बरका सवारी साधनसमेत चल्न नपाउने गरी विभागले देशभर रहेका मातहतका निकायहरूलाई निर्देशन दिएको छ ।

सरकारको यस निर्णयबाट लुम्बिनी क्षेत्रका करिब २ हजार ९५ सवारी–साधनहरू सडकमा गुड्न नपाउने भएका हुन् । त्यस्ता गाडीहरू अब सडकमा देखे तत्काल नियन्त्रणमा लिई कवाडीमा बिक्री गरिने तयारी भैरहेको लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख गगन बहादुर हमालले बताए ।

उपत्यका बाहिर ०७४ फागुन ३० गतेसम्म चल्ने अन्तिम समय अवधी भएको बताउँदै उनले अब ती २० वर्ष पुराना सवारी साधन फलामको डल्लोमा परिणत हुने बताए ।उनले ट्राफिक प्रहरीलगायतका निकायको सहकार्यमा एक महिनासम्म अनुगमन गरिने बताउँदै सबै पुराना सवारीहरू सडकमा नहुन पनि सक्ने बताए । चेकिङ्को लागि बुटवलभन्दा २० किलोमिटर टाढा बसेर ट्राफिकको सहयोगमा कार्य गरिरहेको बताउँदै उनले भने– ‘अनुगमनको पहिलो दिन नै एउटा बस समात्यौँ ।’

समातिएका गाडीहरूका सवारीधनीलाई गाडीको राजस्व तिर्न लगाएर लिलाम बिक्री गर्ने बताउँदै उनले लिलाममार्फत उठेको रकमलाई नेपाल सरकारलाई बुझाउने बताए । लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालयका अनुसार २० वर्ष पुराना यात्रुबाहक बस २ सय ७७ वटा, ट्रक तथा टिप्परहरू ९ सय ९५ वटा, माईक्रो तथा मिनी बसहरू १७ वटा, छोटा हात्ती तथा मिनी ट्रकहरू २८ वटा, कार तथा जिपहरू ३ सय ९२ वटा, पिकअप तथा भ्यानहरू ९५ वटा र ट्याक्टरहरू २ सय ९१ वटा रहेका छन् । यो क्षेत्र मा मोटरसाईकलसँगै ५ लाख सवारी साधनहरू सञ्चालनमा रहेको हमालले बताए ।

यता पश्चिम नेपाल बस व्यवसायी संघले भने आफूकहाँ १७ वर्ष भन्दा पुराना गाडी नभएको बताएको छ । नेपाल सरकारले ल्याएको यो योजना यस संस्थाले पहिलेदेखि नै लिएको संघका अध्यक्ष दधि खरेलले जानकारी दिए । उनले यात्रुमैत्री वातावरण बनाउनको लागि यो योजना महत्वपूर्ण भएको बताउँदै उनले भने– ‘नयाँ सवारी साधानहरूबाट सुरक्षित यात्रा तय गर्न सकिन्छ । कारणबस दुर्घटना भएमा पुरानो भन्दा नयाँमा क्षति कम हुन्छ । वातावरण प्रदूषण कम हुन्छ ।’

उनले आफूहरूले जस्तो लिलाम हुने सवारीलाई केही राहतको पनि ब्यवस्था हुनु पर्ने बताए । संस्थाले एक स्थापित एक विस्थापितको योजना सञ्चालन गर्नुपर्ने बताए ।

संघमा २४ सय सवारी रहेको बताउँदै अध्यक्ष खरेलले ९ सय सवारी साधन बिस्थापित गरेको जानकारी दिए । उनले भने– ‘२०५९ सालबाट विस्थापित र स्थापितको योजना ल्याएका थियौँ । हामीले पुराना सवारी साधन विस्थापितको अवस्थामा ६ लाख रूपैयाँसम्म सहुलियतको ब्यवस्था समेत गरेका छौँ ।’

यता सिद्धार्थ बस व्यवसायी समितिले पनि ०६२ सालदेखि नै पुराना गाडी बिस्थापित गर्दै आएको छ । संघका अध्यक्ष संजीव रोक्का भन्छन्– ‘हामीसँग पुराना गाडी छैनन् ।’ सरकारको निर्णयप्रति सहमत भएको बताउँदै उनले सरकारले पुराना जफत गरेका सवारीको मुआब्जा दिनुपर्ने बताए । हाल समितिअन्तर्गत ४ सय ५० वटा बसहरू रहेका छन् ।

बुटवल यातायात व्यवसायी समितिले सरकारले २० वर्ष पुराना सवारी हटाउने निर्णयको विरोध गरेको छ । समितिमा ३५ वटा गाडी रहेको अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए । पुराना सवारी भए पनि राम्रोसँग चलिरहेका सवारी हटाउन खोज्नु उपयुक्त निर्णय नभएको उनको भनाई छ । सरकारले यो निर्णयलाई कडाईका साथ लैजान खोजे केन्द्रीय संगठनबाट कडा रूपमा प्रस्तुत हुने उनको भनाई छ । उनले भने– ‘सरकारले सार्वजनिक सवारी मात्र हटाउन भन्यो सरकारी किन भनेन ?’ सरकरले सबै सवारी हटाए मात्र आफूहरू हटाउन तयारी रहेको उनको भनाई छ । समितिमा २ सय ७५ वटा गाडीहरू रहेका छन् ।

लुम्बिनी अञ्चल यातायात व्यवस्था कार्यालयले दिएको जानकारीमा सबैभन्दा बढी रहेका सवारी ट्रक तथा टिप्पर रहे पनि सरकारको यो निर्णयप्रति आफूहरू निर्णयको पक्षमा नरहेको लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु खरेलले बताए ।

संघमा ५० वटा पुराना गाडी भए पनि गाडी फिट रहेको हुँदा आफूहरू हटाउन तयार नरहेको उनको भनाइ छ । उनी भन्छन्– ‘म अध्यक्ष हुँ मेरा नै २ वटा गाडी छन् । ती फिट छन् । नयाँ पुर्जा हालेका छौँ । किन हटाउनु प¥यो, नयाँमा पनि सामान नयाँ त हुन्छ ।’ चलाउन उपयुक्त नभएका सवारी प्रहरीले भन्नुपर्ने भए पनि सरकारको यो एकल योजना आफूहरूलाई मान्य नरहेको बताए । हाल संघमा ९ सय ४७ वटा गाडी रहेका छन् भने संघमा आबद्ध नभएका सवारीहरू पनि ३ सय भन्दा बढी रहेको खरेलले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार