पेश्की रकम नपाएको भन्दै उखु किसान आन्दोलित

नवलपुर । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर ८ गंगापुरमा रहेको इन्दिरा सुगर एण्ड एग्रो इण्डष्ट्रिज प्रालिले किसानहरूलाई दिनुपर्ने पेश्की रकम भुक्तानी नदिएको भन्दै उखु किसानहरू आन्दोलित भएका छन् ।

उनीहरू इन्दिरा सुगर मिल अगाडि धर्ना दिएका हुन् । करिब १५ दिन अघिदेखि उनीहरूले सुगर मिलमा उत्पादित चिनी निर्यातमा रोक लगाएर आन्दोलन गरिरहेका किसानहरूले अहिले पनि गेट अगाडि नै रिले अनसन बसेर आन्दोलन गरेका छन् ।

स्थानीय किसान एवम् नेकपा एमाले नवलपरासीका जिल्ला सदस्य प्रदिपसिंह थापाले आफूहरूले गत बर्षको पनि ५ लाखभन्दा बढी रकम भुक्तान पाउन बांकी रहेको र यस बर्षको पनि पेश्की रकम मात्रै २५ लाख भुक्तान पाउन बांकी रहेको बताए । सरकारले उखुको मुल्य निर्धारण नगर्दासम्म प्रतिक्वीन्टल ५ सय रूपैयां किसानहरूलाई पेश्की दिने र बांकी रकम सरकारले मूल्य निर्धारण गरेपछि दिने सर्तमा किसानहरूसंग उखु खरिद गरेको भएपनि अहिलेसम्म ५ करोडको हाराहारीमा भुक्तान दिएको र बांकी रकम भुक्तान नदिएको उनले बताए ।

प्रतापपुर ८ गंगापुरमा रहेको इन्दिरा सुगर मिलले यस बर्ष ४ लाख २५ हजार ३ सय ५९ दशमलब ७५ क्युन्टल उखु क्रसिङ्ग गरेकोमा ६ करोड ७५ लाख भुक्तानी गरेको छ । चिनी मिलले ६६ हजार बोरा चिनी उत्पादन गरिसकेकोमा १४ हजार क्युन्टल चिनी मात्र कारखानाबाट बाहिर निकाल्न बांकी रहेको छ । उनीहरूले गत बर्षको बांकी रकम र यस बर्ष कारखानाले दिने भनेको पेश्की रकम पुरै भुक्तानी पाउनु पर्ने माग गर्दै कारखानाको गेटमै रिले अनसनमा बसेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार