पशुपालनबाट मासिक एक लाख आम्दानी

कपिलवस्तु । १२ बर्ष खाडी मुलुकहरूमा काम गरेर फर्केका जिल्लाको बाणगंगा नगरपालिका– ७ मोतिपुरका जयलाल गिरीले व्यवसायिक पशुपालनबाट विदेशभन्दा राम्रो कमाई गर्दै आएका छन् । ४ बर्ष अघिदेखि व्यवसायिक पशुपालन गरेका उनले अहिले मासिक एक लाख बढी आम्दानी गर्दै आएका हुन् ।

व्यवसायिक बाख्रा, भैंसी र गाईपालनमार्फत मासिक एक लाख आम्दानी गर्दै आएका हुन् । कपिलवस्तु बाख्रापालन तथा कृषि फर्म दर्ता गरी गिरीले २०७० सालदेखि कृषि व्यवसाय अंगालेका हुन् । डेढ सय वटा बाख्राबाट व्यवसाय थालेका थिए । गिरीले अहिले व्यवसायलाई फराकिलो बनाउँदै लगेका छन् ।

हाल उनले बाख्रासंगै साना ठूला गरी २२ वटा भैंसी र गाई पालेका छन् । बाख्राबाट बार्षिक तीनदेखि चार लाख आम्दानी गर्दै आएका छन् । गिरीले गाईभैसीको दूध बेचेर मासिक ७० देखि ८० हजार आम्दानी गर्दै आएको उनले बताए । उनीसंग साना ठूला गरी २२ वटा भैंसी र गाई छन्, ती मध्ये सात भैंसी र तीन गाईले दूध दिन्छन् । ‘विदेश जाने सोचलाई त्यागेर पशुपालनमा हात हालें, यही व्यवसाय फापेको छ ’ उनले खुशी हुँदै भने ‘मासिक रूपमा खसी, बोका पनि बेच्दै आएको छु सबैगरि मासिक एक लाख बढी कमाई गर्छु ’ ।

रोजगारीको शिलशिलामा १२ बर्ष अरबको खाडीमा नंग्रा खियाए पनि खासै कमाउन नसकेका उनले बताए । ‘बाह्र बर्ष आधा दर्जन खाडी मुलुकमा श्रम गरें ’ उनले भने, “विदेशमा श्रम गरेर केही नहुने देखेपछि स्वदेश आएर कृषिमा हात हालेको हुँ’ स्थानीय एक सरकारी विद्यालयको जग्गा भाडामा लिएर उनले व्यवसाय सञ्चालन गरेका हुन् ।

तीन विगाह ५ कठ्ठा जग्गामा उनले पशु पालन गरेका छन् । अझै १० वटा उन्नत जातका गाई थप्ने योजना उनले बनाएका छन् । अबको केही हप्तामा उन्नत जातका बाख्रा पनि विदेशबाट ल्याउने तयारीमा छन् उनी । व्यवसायमा अहिलेसम्म ५५ लाख लगानी लगाएका उनले सरकारी स्तरबाट कुनै सहयोग नपाएको गुनासो गरे । ‘सरकारी अनुदान त पाइन’ उनले भने ‘ राज्यले केही नगरे पनि ऋणमा सहुलियत दिनुपर्छ ’ व्यवसायिक पशुपालनसंगै उनले एउटा पोखरीमा माछा पनि पालेका छन् । उनीसंगै श्रीमती र छोरा पनि काममा खटिदै आएका छन् । साथमा तीन जना कामदार पनि उनले रोखका छन् ।

कामदारलाई मासिक ८ हजारदेखि बढी तलब दिँदै आएको उनले बताए । उत्पादित दुध र मासु बेच्न कुनै समस्या नरहेको उनले बताए । ‘दुध लिन विहानै गाडी फर्ममै आउँछ, खसी, बोका किन्न पनि व्यापारी यहि आउँछन् उनले भने–‘ बिक्रीको कुनै चिन्ता छैन ’ खरी, जमुनापारी, क्रस, वित्तल क्रस र लोकल जातका बाख्रा पालेका छन् । नजिकै रहेको जंगलमा दुई घण्टा बाख्रा चराएर अघिपछि घरायसी घाँस र दाना खुवाउने गरेको उनी बताउँछन् ।

व्यवसायिक रूपमा बाख्रापालन गर्न सके मासिक हजारौँ रूपैयाँ कमाउन गर्न सकिने उनको भनाइ छ । भैसी स्थानीय जातका जातका छन् । दूध दिन छाडेपछि भैंसी बेच्न समस्या नहुने देखेर व्यवसायिक भंैसीपालन गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार