अझै भएन शिक्षक दरबन्दी मिलान

बुद्धिमान पुन : सल्यान  । सल्यानको कालीमाटी गाउँपालिकामा रहेका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले गाउँपालिकामा रहेका शिक्षकहरूको दरबन्दी मिलान गर्न आग्रह गरेका छन् । कुनै विद्यालयमा आवश्यकता भन्दा धेरै शिक्षक भएको र कुनै विद्यालय १–२ जना शिक्षकहरूको भरमा नै विद्यालय सञ्चालन हुँदै आएको बताउँदै गाउँपालिकामा शिक्षकहरूको दरबन्दी मिलान गर्न आग्रह गरेका हुन् ।
जिल्ला शिक्षा कार्यालय सल्यानको आर्थिक तथा प्राविधिक सहयोग र रेडियो राप्ती, रेडियो शारदा र रेडियो तहत्काले संयुक्त रूपमा आयोजना गरेको शैक्षिक सरोकार रेडियो बहस कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् । उनीहरूले गाउँपालिकामा आवश्यकता अनुसार शिक्षक दरबन्दी सिर्जना गर्नुपर्ने, विद्यालयहरूको भौतिक संरचना निर्माणमा जोड दिनुपर्नेलगायतका मागसमेत राखेका थिए ।

कार्यक्रममा बोल्दै त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक पोखरसिङ खत्रीले शैक्षिक क्षेत्रलाई माथि उकास्न विभिन्न समस्याहरू भएको बताउँदै यस्ता समस्या समाधान गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताए । उनले समय समयमा गाउँपालिका, गाउँ शिक्षा शाखालगायतका निकायहरूबाट विद्यालयहरूमा अनुगमन तथा निरीक्षण गर्नुपर्ने बताए ।

यस्तै शारदा प्राथामिक विद्यालयका प्रधानाध्यापक आपेन्द्रबहादुर केसीले विद्यालय दक्ष जनशक्ति उत्पादन गर्ने ठाउँ भएको बताए । उनले भने –‘यहाँको शैक्षिक सुधारमा सबैले ध्यान दिनुपर्छ, विद्यालयमा सञ्चालन हुने अंग्रेजी, गणित, विज्ञानलगायतका विषयमा गाउँपालिकास्तरीय विषयगत प्रशिक्षक राख्न आवश्यक छ, यी प्रशिक्षकहरूले हरेक विद्यालयमा गएर छलफललगायतका काम गरेमा पनि शैक्षिक सुधारमा टेवा पुग्ने थियो ।’

यता जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जिल्लामा शिक्षक दरबन्दी मिलान गर्न चार पटक प्रयास गरे पनि त्यो प्रयास सफल नभएको बताए । स्थानीय निकायका प्रमुखहरूले आफ्नो निकायको शिक्षकहरूको वास्तविक विवरण संकलन गर्ने र सोही विवरण अनुसार दरबन्दी मिलान गर्ने भनेर ढिला भएको बताए । उनले अब गाउँपालिकामा आवश्यकता अनुसार मात्रै विद्यालय सञ्चालन गर्न आग्रह गरे । ‘आर्थिक अवस्था र स्रोत साधन हेरेर मात्रै विद्यालय सञ्चालन गर्नुहोस्, साथै विद्यालय निरीक्षण र अनुगमनलाई प्रभावकारी बनाउनुहोस्’— उनले भने ।

यसैबीच गाउँपालिका अध्यक्ष दानबहादुर केसीले गाउँपालिकामा विद्यार्थी, शिक्षकहरूको संख्याका आधारमा शिक्षक दरबन्दी मिलान गर्ने बताउँदै आवश्यकता अनुसार नयाँ दरबन्दी सिर्जना गर्ने बताए । अहिले भौतिक संरचना निर्माण, फर्निचर निर्माणलगायतका क्षेत्रमा मात्रै ३० लाख बढी बजेट बिनियोजन गरिएको बताउँदै उनले यो बजेट थोरै भएको र आगामी बर्षमा प्रयाप्त मात्रामा बजेट बिनियोजन गर्ने बताए । ‘शिक्षा सबैको साझा हो, अहिले शिक्षामा विभिन्न समस्याहरू देखिएका छन्, शिक्षामा देखिएका समस्या कम गर्नको लागि म प्रयासरत छु’— उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार