स्थानीय तहले लियो कक्षा ८ को परीक्षा

गणेश पाख्रेल : सैनामैना । आधारभूत तहको अन्त्यमा लिइने कक्षा ८ को परीक्षालाई व्यवस्थित बनाउन नयाँ अभ्यास आरम्भ गरिएको छ । सैनामैना नगरपालिकाले कक्षा ८ को परीक्षा केन्द्र निर्धारण गरी व्यवस्थित रूपमा परीक्षा सञ्चालन गरेको हो । नगरपालिकाभित्र रहेका आधारभूत विद्यालयको लागि ७ वटा परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन गरिएको छ । आइतबारदेखि कक्षा ८ को परीक्षा सुरु भएको छ । परीक्षामा सैनामैनाका परीक्षा केन्द्रबाट १६ सय ४३ परिक्षार्थी सहभागी भएका छन् ।

शिक्षा ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी सैनामैना नगरपालिकामा आधारभूत तहको अन्त्यमा लिइने परीक्षालाई व्यवस्थित गरेको हो । परीक्षा केन्द्र निर्धारण गरी परीक्षा सञ्चालन हुँदा परीक्षा व्यवस्थित देखिएको हो । एसइई परीक्षामा बाहिरी बिद्यालयमा पुगेर परीक्षामा सहभागी हुँदा डराउने विद्यार्थीलाई भने यसले सहज बनाउनेछ । विद्यार्थीमा परीक्षाको तयारी बढाउने मानसिकता बन्नेछ ।

निजी तथा सामुदायिक विद्यालयबाट तुलनात्मक नतिजा निकाली पृष्ठपोषण गर्न पनि यस परीक्षाले सहज हुनेछ । सैनामैना नगरपालिकाले शिक्षाप्रति देखाएको चासो देख्दा खुसी लागेको छ, पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि थापाले भने– परीक्षालाई व्यवस्थित गराएभैm शिक्षा क्षेत्रमा रहेका अन्य समस्या समाधानमा पनि चासो दिन आवश्यक छ ।

परीक्षा केन्द्रबाट ८ कक्षाको परीक्षा दिएर निस्कदै गरेका विद्यार्थीहरूले भने अन्य विद्यालयमा पुगेर परीक्षा दिँदा डर लाग्ने गरेको बताए । अर्को विद्यालयमा आउँदा अलि अफ्ठ्यारो लाग्छ, एक विद्यार्थीले भने जानेको लेख्ने हो, तयारी राम्रै गरेर आएको थिएँ, परीक्षामा पनि राम्रो लेखेको छु ।

अनुशासित, मर्यादित र शान्त वातावरणमा परीक्षा सञ्चालन भइरहेको नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए । सबै परीक्षा केन्द्रको अवलोकन गरेका छौं, परीक्षा व्यवस्थित रूपमा सञ्चालन भएको छ, नगर प्रमुख कार्कीले भने सामुदायिक र संस्थागत विद्यालयमा शिक्षाको गुणस्तरमा एकरूपता ल्याउन पनि यस्तो परीक्षा प्रणाली प्रभावकारी हुनेछ ।

शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएपछि सैनामैना नगरपालिकाले शिक्षाको गुणस्तरमा ध्यान दिन विद्यालयको अनुगमन थालेको छ । परीक्षा केन्द्रको अनुगमनमा प्रमुख चित्रबहादुर कार्कीको संयोजकत्वमा, नगर उपप्रमुख बिना राना, प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीलगायत पत्रकार सहभागी छन् । सैनामैनामा तोकिएका ७ परीक्षा केन्द्रमध्ये सैनामैना माध्यमिक विद्यालय केन्द्रमा २४२ परीक्षार्थी सहभागी छन् । जहाँ दुर्गा भवानी, सैनामैना मेमोरियल, पर्रोहा परमेश्वर, लिटल वर्डस र न्यू एकेडेमीले विद्यार्थीलाई सहभागी गराएका छन् ।

न्यू ऐकेडेमी परीक्षा केन्द्रमा २८८ परीक्षार्थीहरू छन् । जहाँ पर्रोहा, सैनामैना, कालिका र जनज्योती विद्यालयका परीक्षार्थीहरू सहभागी छन् । पर्रोहा मावि परीक्षा केन्द्रमा प्रभात, सुनभागा र ग्यालेक्सी विद्यालयबाट ३०९ परीक्षार्थी सहभागी छन् ।

कलौनीमा रहेको रामापुर मावि परीक्षा केन्द्रमा ४ वटा संस्थागत र ३ वटा सामुदायिक विद्यालय गरी २९६ परीक्षार्थीले सहभागिता जनाएका छन् । संस्थागततर्फ सिद्धार्थ मेमोरियल, रामापुर रिभाईबल, बुद्ध ईग्लिस स्कुल, कलौनी कान्तिपुर रहेका छन् । सामूदायिक तर्फ मलमलादेवि, सरस्वती र पश्चिम पर्रोहा आधारभूतका विद्यालयका परीक्षार्थी सहभागी छन् ।

रामापुर रिभाईबल ईग्लिस स्कुल केन्द्रमा २२२ जना परिक्षार्थीले परीक्षा दिएका छन् । जसमा जनकल्याण, रामापुर, राष्ट्रिय माविका विद्यार्थी छन् । सालझण्डीमा पशुपती मावि परीक्षा केन्द्रमा २५९ जना विद्यार्थी सहभागि छन् । जहा सालझण्डी, नवप्रभात, जनचेतना र कोटियादेबि माबिका बिद्यार्थी छन् ।

कोटियादेवी मावि परीक्षा केन्द्रमा पशुपती, जनज्योती, महेरहवा र पृथ्वी फ्लावसरका गरी १६८ विद्यार्थी सहभागि छन् । परिक्षा चैत्र ५ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । आगामी बर्ष नगरपालिकाले नै प्रश्नपत्र निर्माण गरी परीक्षा केन्द्र र केन्द्राध्यक्ष तोकेर नगरले परीक्षा सञ्चालन गरिने योजनामा उल्लेख छ ।

परीक्षामा प्राविधिक समस्या
कक्षा ८ को परीक्षा सञ्चालन भइरहँदा परिक्षालाई व्यवस्थित गराउन भन्दै केन्द्र तोकेर संचालन गर्दा केही प्राविधिक समस्या देखा परेका छन् । परीक्षाको प्रश्न पत्रलाई सुरक्षित राख्न भन्दै प्रहरी कार्यालयमा राखिएको छ । परीक्षा सञ्चालन हुनु केही समय अगाडि प्रश्नपत्र खोल्दा परिक्षार्थीभन्दा कम प्रश्नपत्र भएको छ । यसले गर्दा पश्नपत्रलाई फोटोकपि गर्नुपर्दा परीक्षाको गोपनियतामा समस्या आउन सक्छ । यस्तै उत्तरपुस्तिका निर्माण गर्दा पनि जसमा परीक्षा दिने विषयको नाम लेख्ने ठाउँ नभएकाले परिक्षार्थी अलमलामा पर्न सक्छन् । परीक्षामा देखिएका प्राविधिक समस्यामा ध्यान दिन आवश्यक छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार