महिनावारीका कुरा : कति बदलियौं हामी

 

‘महिनावारी अर्थात् मासिक श्राव’ शब्द अब नौला रहेन । हरेक महिलालाई महिनावारी हुन्छ भन्ने त सबैलाई थाहा छ ।

तर महिनावारी भएको बेलामा महिलालाई सामान्य अवस्थामा झैं व्यवहार गरिँदैन । किशोर अवस्थामा हरेक महिलाको महिनावारी शुरु हुन्छ । केही महिलाहरूमा तुलात्मक रूपमा अहिले चाँडो महिनावारी शुरु हुन्छ भने केही महिलाहरूमा ढिलो गरी महिनावारी शुरु हुन्छ । तर, हरेक महिलालाई महिनावारी हुन्छ । यो तथ्य सबैलाई थाहा पनि छ तर अझै पनि केही समस्याहरू छन् – हाम्रो समाजले महिनावारीलाई पापसँग जोडेर हेर्छ ।

पूर्वीय दर्शनको प्रभाव रहेको नेपालमा महिनवारी बार्नु पर्ने पुरानो मान्यता छ । खासगरी ग्रामीण क्षेत्रका महिलाहरू अहिले पनि महिनावारी बारिरहेका छन् । नेपालको सुदूरपश्चिम क्षेत्रका जिल्लाहरूमा त अझै पनि महिलाहरूले महिनावारी भएको बेलामा थुप्रै समस्यासँग जुध्नुपर्ने बाध्यता छ । महिनावारी भएको बेलामा परिवारका सदस्यहरूसँग छोइन नहुने, दूधघिउ जस्ता पोसिला खानेकुरा खान नहुने, घर भन्दा बाहिर सुत्नु पर्ने अझ पहिलो पटक महिनावारी हुँदा तर घरभन्दा टाढा बस्नु पर्ने हाम्रो समाजका मान्यताहरू हुन् ।

महिनावारी सम्बन्धी धारणामा व्यापक परिवर्तन भएको छ । तर अझै पनि यसका केही अवशेषहरू बाँकी छन् । सुदूरका महिलाहरूले त अझै पनि महिनावारी भएको बेला कालको मुखबाट फर्किर घर आउनुपर्ने हुन्छ । महिनावारी भएको बेला हाम्रा आमाहरू, दिदी बहिनीहरू, श्रीमतीहरू शारीरिक रूपमा कमजोर हुन्छन् भन्ने जान्दा जान्दै पनि उनीहरूलाई महिनावारी भएको एक हप्तासम्म पारिवारिक सहयोगबाट टाढा राख्ने कामहरू भईनै रहेका हुन्छन् ।

के हो महिनावारी ?
महिनावारी हरेक महिलाले सामना गर्नुपर्ने प्राकृतिक विषय हो । सरदर हरेक २८ दिनमा महिलाहरूको मासिक श्राव हुन्छ । डिम्भ निस्कासनको प्रक्रिया हरेक २८÷२८ दिनमा हुने कारणले गर्दा महिलाहरूमा महिनावारी हुन्छ । महिलामा महिनावारी हुनुको अर्थ अब उनी सन्तान उत्पादन गर्नका लागि प्राकृतिक रूपमा सक्षम छिन् भन्ने हो । हाम्रो समाजमा महिलाहरू स्वास्थ्य र प्रजनन्का विषयमा उतिसाह्रो नखुल्ने समस्या छ । महिनावारी एउटा प्रक्रिया हो । महिनावारी भएका बेलामा हरेक महिलालाई पौष्टिक खानेकुराको आवश्यकता पर्छ भने सरसफाईमा पनि ध्यान दिनुपर्छ ।

साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ । कसैमा आठ वर्षको उमेर देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन सामान्य कुरा समेत हो । महिनावारी ४५ देखि ५५ वर्षको उमेरमा बन्द हुन्छ ।

महिनावारी भनेको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो । यदि महिला महिनावारी भइन भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुँदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ, जुन रगतको रंग गाढा रातो हुन्छ र कहिलेकाहीं ढिक्का जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

त्यसैले महिनावारीलाई हाउगुजीका रूपमा हेर्नु आवश्यक छैन । महिनावारी भएका हरेक महिला सफा रहनुपर्छ तर भगवानका नाममा वा समाजका नाममा परै बस्नुपर्ने चाहिँ भ्रम मात्रै हो । महिनावारी भएका महिलाले भात भान्छा छुन नहुने भन्ने पनि भ्रम मात्रै हो ।

महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान दिनुपर्छ । ग्रामीण महिला महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन् । यसको साटो स्वास्थ्य विज्ञानले राम्रो ठानेका मुलायम प्याडहरू प्रयोग गर्नुपर्छ वा सफा नरम कपडा प्रयोग गर्नुपर्छ । यसले गर्दा गुप्तांगमा संक्रमणको समस्या बढी देखिन्छ । गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन् अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ ।

नेपालको पश्चिमी भेगतिर महिलाहरूले अवस्था अझ नाजुक छ । उनीहरू महिनावारी हुँदा कुनै पनि कपडा प्रयोग गर्दैनन् । प्रयोग गरेको कपडा सूर्यलाई देखाउनु हुँदैन भन्ने अन्धविश्वास छ । यसैले उनीहरू कपडा घाममा सुकाउँदैनन् । उनीहरू अर्कोपल्ट महिनावारी हुँदा त्यही कपडाको प्रयोग गर्दछन् ।

कपडा नरम र सुतीको हुनुपर्छ । नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नुहुँदैन । महिनावारी हुँदा प्रयोग गरिएका कपडा फेरिरहनु पर्छ । रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन । यसले शरीर गन्हाउने, काछमा घाउ आउने र संक्रमण हुन्छ ।

आजकल महिलाहरू आधुनिक स्यानिटरी प्याडको प्रयोग गर्छन् । औषधी पसलबाट रुवा किनेर यसलाई सानो भागमा बाँडेपछि सुतीको कपडामा बेरेर प्याड बनाउन सकिन्छ ।

समय बदलियो, व्यवहार बदलिएन ः
आजभोलि महिनावारीका बेला पनि महिलाहरू भान्छामा पस्छन् । महिनावारी भएको बेला श्रीमानलाई छुनु हुँदैन भन्ने भ्रम पनि विस्तारै हराउँदै गएको छ । कतिपय अवस्थामा घरका मान्छेहरूले महिनावारी भए÷नभएको थाहै नपाउने अवस्था पनि सिर्जना भइरहेको छ ।

महिनावारीका विषयमा आएको यो परिवर्तनीय सोंच राम्रो हो । कम्तीमा हरेक विवाहित महिलाका श्रीमान्हरूले आफ्ना श्रीमतीलाई महिनावारीका बेला सहयोग गर्न थालेका छन् । केही महिलामा महिनावारीका बेला असाध्यै पेट दुख्ने समस्या पनि हुन्छ । त्यो बेला महिलालाई सहयोग गर्नुपर्छ । महिनावारीका बेलामा केही तनाब पनि बढ्ने भएकोले परिवारका मान्छेले तनाव व्यवस्थापनमा पनि सहयोग गर्नुपर्छ ।

विस्तारै परिवर्तन त भइरहेको छ । तर, अहिले पनि केही ठाउँहरूमा यो समस्या लगभग उस्तै छ । २४ पुस २०७४ मा अछामको तुर्माखाँद गाउँपालिकाकी २२ वर्षकी गौरी बुढाको छाउगोठमा सुतीरहेको अवस्थामा निधन भयो । सुदूरपश्चिममा महिनावारीका बेला घरभन्दा टाढा बनाइएको सामान्य घोठमा महिलाले दिन रात कटाउनुपर्ने परम्परा छ । सोही परम्पराको शिकार बनेकी उनको महिनावारीका बेला परिवारको सहयोग नपाउँदा ज्यान गयो । परिवारसँगै भएको भए उनले महिनावारी जस्तो सामान्य अवस्थामा ज्यान गुमाउन पर्दैनथियो कि ?
११ कक्षामा अध्ययन गर्दै गरेकी उनको महिनावारीका कारण ज्यान गयो भनेर भन्दा लाजमर्दो अवस्था छ । नेपालका अधिकांश जिल्लामा महिनावारीका विषयमा तमाम परिवर्तन भएको भएपनि सुदूरपश्चिमका महिलाहरूमा भने अहिले पनि यो समस्या छ । कसैले भगवानका नाममा त कसैले संस्कारका नाममा ज्यान गुमाउनु परेको छ ।

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्नु सामान्य नै हो । तर केही महिलाहरूलाई यो समस्या गहिरो गरी देखिन्छ । महिनावारीको यस प्रक्रियामा तल्लो पेट र ढाड दुखिरहेको हुन्छ । यस्तो बेलामा सहयोग गर्नुको साटो परिवारका सदस्यहरू उल्टौलो तर्किन मिल्दैन । महिनावारीकै कारणले गर्दा महिनावारी हुनुअघि कब्जियत हुने, स्तन कडा हुने अनि दुख्ने र थकाइ लाग्ने तथा कसै कसैलाई डन्डीफोर आउने जस्ता लक्षणहरू पनि देखा पर्दछन् ।

त्यसैले महिनावारीका लागि महिलालाई सहयोग गर्नुपर्छ । सहयोग गर्न नसकेमा थप पीडा दिने गरेर छाउघरमा पठाउने वा भातभान्छा छुन नदिने गर्नु हुँदैन । महिनावारी त सिर्फ एउटा प्राकृतिक प्रक्रिया मात्रै हो । पोसिलो खानेकुरा खाएर सफा बसेमा यो ठूलो विषय नै होइन । हाम्रा परिवारहरूले, समाजहरूले यसलाई ठूलो विषय बनाएका मात्रै हुन् ।

हामी कहाँ छौं ?
नकार्न मिल्दैन समय बदलिएको छ । प्रजनन स्वास्थ्यमा व्यापक सुधार भएको छ । महिला मृत्युदर घटिरहेको छ । नेपालीहरूको आयु बढिरहेको छ । यसमा महिनावारीमा अपनाइने शुरक्षित तरिका र परिवारको सहयोगले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
महिनावारी भएकै दिन सफाचट भएर हाम्रा दिदी बहिनीहरू भान्सामा प्रवेश गर्न थालेका छन् । हाम्रा आमाहरूले पनि महिनावारी भएका बेलामा भात पकाउनका थालेका छन् । हाम्रा बुबाहरू, दाइभाइहरूले महिनावारीका बेला पाकेको भातभान्सा खान थालेका छन् ।

अब विस्तारै महिनावारीका बेलामा कम्तीमा पनि पुरुषले चूलोचौकामा सहयोग गर्नुपर्छ । बढी पेट दुख्नेहरूका लागि तनाव व्यवस्थापनका लागि सहयोग गर्नुपर्छ । पोसिलो खानेकुरामा जोड दिनुपर्छ । भगवान वा समाजका नाममा महिनावारी बार्ने परम्परा त विस्तारै हराउँदै गएको छ । तर सुदूरपश्चिममा अझै पनि विद्यमान समस्या समाधानका लागि राज्यले उचित पहल गर्नुपर्छ । जनचेतनाका कामहरू गर्नुपर्छ । स्वाथ्यकर्मीहरूले महिनावारीका बारेमा हरेक महिलालाई राम्ररी जानकारी गराउनुपर्छ । भगवान वा समाजका नाममा महिनावारी बार्ने र घरदेखि बाहिर बस्ने काम गर्नै हुँदैन ।

महिलाहरूले पनि महिनावारी भएका बेलामा आफ्नो सरसफाईलाई अझै बढी ध्यान दिनुपर्छ । महिनावारी भएका बेला कडा खालका परिश्रमहरू गर्नु हुँदैन । महिनावारीका विषयमा समाजमा विद्यमान हाउगुजीहरूको अन्त्य भएमा हाम्रा आमाहरू, दिदी बहिनीहरू लामो समय बाँच्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार