सल्यान अस्पतालमा जीन एक्सपर्ट मेसिन सञ्चालन

बुद्धिमान पुन
सल्यान । जिल्ला अस्पताल सल्यानमा जीन एक्स पर्ट मेसिन सञ्चालनमा आएको छ । खकार जाँच गरी क्षयरोग÷टिबि पत्ता लगाउन प्रयोग गरिने जीन एक्सपर्ट मेसिन आइबारदेखि सञ्चालनमा आएको हो । यस मेसिन नहुँदा यहाँका नागरिक महंगो शुल्क तिरेर दाङ, बुटवल, नेपालनञ्ज जानु पर्ने बाध्यता रहेको थियो ।

जिल्ला अस्पतालमा यस प्रकारको मेसिन सञ्चालनमा आएसँगै नागरिकलाई सजिलो भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिए । ‘अस्पतालमा माईक्रोस्कोप पहिले पनि थियो, त्यसको माध्यमबाट सेवा प्रवाह गर्दै आएका थियौँ, अहिले जीन एक्सपर्ट मेसिन जडान भएपछि सजिलो भएको छ’– उनले भने ।

माईक्रोस्कोपबाट पनि पहिले खकार जाँच गर्ने गरेको बताउँदै उनले यसबाट परीक्षण गर्दा खासै प्रभावकारी नहुने बताए । ‘थोरै मात्रामा किटाणु हुँदा पनि रोग पत्ता लाग्छ’, उनले थपे – ‘खकार राखेको दुई घण्टामा नै रिपोर्ट निक्लन्छ ।’

विराट नेपाल मेडिकल ट्रष्टले जिल्ला अस्पताल सल्यानलाई जीन एक्सपर्ट मेसिन सहयोग गरेको हो । ‘सल्यानमा क्षयरोग टिभिका बिरामीहरू धेरै रहेछन्, उनीहरूले बाहिरी जिल्ला गएर टिबिको आशंका लागेमा चेकजाँच गर्नु पर्ने बाध्यता रहेछ, त्यसैले २० लाख बराबरको मेसिन उपलब्ध गराएका हौँ’– विराट नेपाल मेडिकल ट्रष्टका गंगाराम बुढाथोकीले बताए ।

जिल्लामा क्षयरोग (टिबि) का बिरामीहरू बढ्दै गएका छन् । अत्यधिक मात्रामा धुम्रपान गर्नु, गरिबी हुनु लगायतका कारणले पनि जिल्लामा क्षयरोगका बिरामीहरू बढ्दै गएका हुन् । जिल्ला अस्पताल सल्यानका क्षयरोग / कुष्ठरोग अधिकृत लक्ष्मण केसीले यस आर्थिक वर्षको अहिलेसम्म मात्रै क्षयरोगका ६६ जना बिरामी भेटिएको बताए ।

उनले ती सबैले अहिले नियमित रूपमा औषधि सेवन गरिरहेको बताए । ‘यहाँ क्षयरोगका बिरामीहरू धेरै छन्, कति त समस्या लुकाएर पनि अस्पतालमा नआउनु भएको होला’– उनले भने । उनले गत आर्थिक वर्षमा २ सय जना क्षयरोगका बिरामी भेटिएका थिए ।

‘गत वर्ष २ सय जना क्षयरोगका बिरामीहरू भेटिएका थिए, तीमध्ये १ सय ८८ जनाले औषधि सेवन गरेर निको भए, बाँकीले औषधि सेवन गरिरहेका छन्’– उनले भने । क्षयरोग पत्ता लागेको बिरामीहरूले अहिले विभिन्न स्वास्थ्य संस्थाहरूमार्फत् औषधि सेवन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार