प्रदेशको स्थायी राजधानी पनि बुटवल हुन्छ, ढुक्क हुनुहोस् ः पौड्याल

बुटवल । नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले प्रदेशको स्थायी राजधानी पनि रूपन्देही हुने दावी गरेका छन् । उनले सिंगो प्रदेशको अवस्था र विवेचनाबाट नै प्रदेशको केन्द्र चयन गरिएकोले रूपन्देही उपयुक्त स्थान रहेको बताए ।

पश्चिम नेपाल बस व्यवसायी संघको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको आइतबार उद्घाटन गर्दै नेता पौडेलले रूपन्देही अन्य क्षेत्रको तुलनामा विकासमा केही अगाडि रहे पनि समग्र ५ नं. प्रदेशलाई नै विकासको दृष्टिले सम्वृद्ध नमुना प्रदेश बनाउने बताए ।

पाँच नं. प्रदेशमा रहेका तीनवटा शहरहरू बुटवल, दाङ र कोहलपुर क्षेत्र आसपासका नगरपालिका तथा क्षेत्रहरू समेटेर तिनवटा महानगरपालिका बनाउने लक्ष्यका साथ लाग्नुपर्नेमा उनले जोड दिए ।

पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले यस क्षेत्रमा संचालित विकासका परियोजनाहरूमा कुनै हेलचेक्राइँ नगर्न आग्रह गरे । पूर्वाधार निर्माणमा श्रोतको कमी हुन नदिने भन्दै निर्माण आयोजना समयमा नसक्ने र गुणस्तरमा हेलचेक्राइँ गर्ने निर्माण कम्पनीलाई कारबाही हुने चेतावनी दिए ।

उनले यातायात क्षेत्र सेवामूलक व्यवसाय भएकोले सर्वसाधारण यात्रुहरूलाई दिने सेवालाई पहिलो जिम्मेवारी सम्झन आग्रह गरे । उनले धेरै समस्या र व्यवधानका बीच यातायात क्षेत्र गुज्रिएकोले समस्या समाधानको लागि नीतिगत प्रबन्ध मिलाउन आफूले पहल गर्ने बताए ।

संघका अध्यक्ष दधिराम खरेलले ईन्धन, लुब्रिकेन्ट तथा सवारीका पार्टस्हरूमा निरन्तर मूल्यवृद्धि भइरहँदा पनि सरकारले वैज्ञानिक भाडादर समायोजन नगर्दा व्यवसायी मारमा परेको बताए ।

उनले सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच २०६९ सालमा भाडा समायोजनको लागि भएको सहमति ६ वर्षसम्म पनि कार्यान्वयन हुन नसकेको बताए । सो अवसरमा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेल, संघका पूर्व अध्यक्षहरू सूर्य बहादुर भट्टराई, चोपनारायण श्रेष्ठ, नेपाली कांग्रेसका युवराज गिरी, रूपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष निरु गौतम लगायतले बोल्दै यातायात व्यवसायलाई मर्यादित बनाउन सुझाव दिएका थिए ।

संघका महासचिव जीवन कुमार बञ्जाडेको संचालन तथा वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद घिमिरेको स्वागतमा सम्पन्न भएको कार्यक्रममा संघमा आबद्ध व्यवसायीका छोराछोरीमध्ये लुम्बिनी अञ्चलका सबै जिल्लाबाट एसईई परीक्षा २०७३ मा उत्कृष्ट हुने एकएक जना छात्रछात्राहरूलाई जनही नगद १० हजार तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी वर्षभरी अनुशासित रूपमा सवारी साधन संचालन गर्ने र दुर्घटना नगर्ने सवारी चालकहरूलाई पनि पुरस्कृत गरिएको थियो । यसैबीच पश्चिम नेपाल बस व्यवसायी संघले समाचारको माध्यमबाट यातायात क्षेत्रको सुधार, विकास र प्रवद्र्धनको लागि महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार विष्णु घिमिरेलाई सम्मान गरेको छ ।

लामो समयदेखि बुटवललाई कार्यथलो बनाई पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार घिमिरेलाई नगद १० हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एमाले उपमहासचिव विष्णु पौडेल र संघका अध्यक्ष दधिराम खरेलले पत्रकार घिमिरेलाई टिका र माला लगाइदिएर सम्मानपत्र प्रदान गरेका थिए ।
यता संघको आगामी नेतृत्वको लागि व्यवसायीहरू मत माग्न व्यस्त बनेका छन् । नयाँ नेतृत्वको लागि सोमबार निर्वाचन हँुदै छ । नेतृत्वको लागि बाम गठबन्धन र नेपाली कांग्रेसको दुई प्यानलबीच प्रतिस्पर्धा हुँदै छ । बाम गठबन्धन प्यानलको नेतृत्व वर्तमान अध्यक्ष दधिराम खरेलले गरेका छन् भने नेपाली कांग्रेस प्यानलको नेतृत्व पूर्व अध्यक्ष दामोदर ज्ञवालीले गरेका छन् । खरेल नेतृत्वको वाम गठबन्धनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नारायण घिमिरे, उपाध्यक्षमा जीवनकुमार बञ्जाडे र गोपाल बहादुर पौडेल, महासचिवमा पोष्टराज गौतम, सचिवमा रामचन्द्र भुसाल, सहसचिवमा चेतनारायण बेल्बासे र गोविन्द कंडेल र कोषाध्यक्षमा मोहन पिएस रहेका छन् ।

त्यस्तै ज्ञवाली नेतृत्वको कांग्रेस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्ण बेल्बासे, उपाध्यक्षमा उपेन्द्रमान श्रेष्ठ र लालबहादुर शाह गुप्ता, महासचिवमा पदमराज गाहा, सचिवमा कुश्माखर रेग्मी, कोषाध्यक्ष कृष्णप्रसाद पाण्डे, सहसचिवमा सुरेन्द्र श्रेष्ठ र शोभाखर भण्डारीको उम्मेदवारी परेको छ ।

सदस्यहरूमा १५ रुटबाट २२ सदस्यको लागि ४७ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिमा २ हजार ३ सय ८९ मतदाता रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार