ह्याचरी उद्योगको उत्पादन वृद्धि

प्रज्ज्वल पहाडी
प्युठान । सरुमारानी गाउँपालिका २ ददेरीमा संचालन भएको ह्याचरी उद्योगले चल्ला उत्पादनमा वृद्धि ल्याएको छ । २०६७ सालबाट संचालनमा आएको उद्योगले लगानी वृद्धि संगै उत्पादनमा समेत वृद्धि ल्याएको हो । उद्योगबाट हाल मासिक ३६ हजार चल्ला उत्पादन हँुदै आएको उद्योगका व्यवस्थापक वेन्जु जि.सीले बताए । “सुरुमा मासिक १० हजारमात्रै चल्ला उत्पादन हुन्थ्यो” व्यवस्थापक जिसीले भने–“क्रमशः उत्पादन वृद्धि हँुदै हाल मासिक ३६ हजार चल्ला उत्पादन हुन्छ ।”

प्रतिचल्ला ६० देखि ७० रूपैयाँमा बिक्री हुँदै आएको उनले बताए । प्यूठानसंगै दाङ, रूपन्देही, कपिलवस्तु, बाँके, धनगडी, सुर्खेतलगायत जिल्लामा डिलरमार्फत चल्ला बिक्री गरिँदै आएको उनले जानकारी दिए । चल्ला उत्पादनका लागि उद्योगमा १० हजार प्यारेन्ट जातका कुखुरा पालिएको छ ।

“दैनिक दुई हजारदेखि ३ हजार ५ सयसम्म अण्डा उत्पादन हुन्छ”, जी.सी.ले भने । १५ रोपनी जग्गा खरिद गरी संचालन गरिएको उद्योगमा हाल भौतिक पूर्वाधारमा समेत सुधार तथा वृद्धि गरिएको छ । भौतिक पूर्वाधार विकाससंगै उद्योगको उत्पादनमा समेत थप वृद्धि ल्याउने सोंच भएको जीसीको भनाइ छ ।

“यो वर्ष नया थप एक कुखुरा खोर निर्माण सम्पन्न भएको छ” उनले भने, “यो संगै अण्डाको लागि कुखुरा बढाउने योजनामा छौं ।”
कुखुरा तथा चल्ला उत्पादनको क्रममा संक्रमण खासै नदेखिएकोले उद्योगले क्षति व्यहोर्नु नपरेको उनले सुनाए । उनले भने–“संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउँदै आएका छौं ।” उनका अनुसार बाहिरबाट आउने मानिसबाट रोगका ब्याक्टेरियाहरू सरी संक्रमण बढ्ने खतराले उद्योग प्रवेशमा समेत उच्च सतर्कता अपनाइन्छ ।

उद्योगमा हाल दैनिक २० जनाले रोजगार पाएको जीसीले बताए । सुरुमा डेढ करोड लगानीमा संचालनमा ल्याइएको उद्योगको लगानी हाल ५ करोड पुगेको उनले जानकारी दिए । पछिल्लो समय उद्योगमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाले भौतिक पूर्वाधारमा सहयोग गरेको छ । खोर,गाडी र जेनेरेटर खरिदमा ४० लाख अनुदान प्राप्त गरेको उनले बताए । उद्योगमा चार जनाको संयुक्त लगानी रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार