घनश्याम पौडेल
सन्धिखर्क । अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयमा विद्यार्थीले शिक्षकको हााजिर गर्ने गरेको पाइएको छ । जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले शिक्षामा सुधार ल्याउनका विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछि सुधार आएको विद्यार्थीहरू बताउँछन् ।

दिनभरमा हुने सबै शिक्षकहरूको कुन शिक्षक कति समयमा कक्षाकोठामा पढाउन आउँछन् ? कति समय पढाउँछन् ? विद्यार्थीहरूले हाजिर गरेर राख्ने गर्छन् । विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछि शिक्षकहरू समयमै कक्षाकोठामा गएर पढाउन लागेको जनज्योतिमा मावि सन्धिखर्कमा अध्ययनरत विद्यार्थी मुना पन्थीले बताइन् ।

उनी भन्छिन्– ‘कुन शिक्षक कति बेला आउनुहुन्छ हाजिर गरेर राख्छौँ, कति समय पढाउनुहुन्छ, शिक्षक कक्षाकोठामा पढाउन नआएमा के कारणले आउनुभएन खोजीनिधी गर्छौं, उहाँको कारणसहित प्रअलाई बुझाउँछौँ’, पन्थीले भनिन् ।

भूमिकास्थान नगरपालिका ४ शान्ति मावि धारापानीमा पनि विद्यार्थीले शिक्षकको हाजिर गर्छन् । विद्यालयका प्रधानाध्यापक पदम पन्थी भन्छन्, ‘१५ दिन भयो यो कार्यक्रम सुरु गरेको, यसले धेरै परिवर्तन आएको छ, शिक्षकहरू समयमै कक्षामा पढाउन जानुहुन्छ, शिक्षक पढाउन आउन नसकेमा कारणसहित मलाई बुझाउँछन् चित्त बुझ्दो कारण नआएमा कार्वाही हुन्छ’, पन्थीले भने ।

भगवती मावि संखेटारीमा शिक्षकको हाजिर गर्ने कक्षा १० का अंकित विश्वकर्मा भन्छन्, ‘विद्यार्थीले शिक्षकको हाजिर गर्न लागेपछि शिक्षकहरू समयमै आउनुहुन्छ, समय सकिएपछि पढाएर जानुहुन्छ, हामीहरू खुसी छौं, यो कार्यले निरन्तरता पाउनुपर्छ ।’

‘भूमिकास्थान नगरपालिकाको खिल्जी स्रोत केन्द्रका सबै विद्यालयमा विद्यार्थीले शिक्षकको हाजिर गर्ने कार्यक्रम लागू भएको छ, सन्धिखर्क नगरपालिकाको सदरमुकाममा रहेका जनज्योति, रविचित्र, भगवती मावि लगायतका विद्यालयमा पनि यो कार्यक्रम भएको छ’, नगरपालिका शिक्षा संयोजक बलराम मिश्रले भने, ‘यसले शिक्षकहरू धेरै सचेत भएको र समयमै पढाउन जाने गरेको पाइएको छ ।’

जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउत क्षेत्री भन्छन्– ‘शिक्षामा सुधार ल्याउन धेरै प्रयत्नहरू गरेका छौँ, अहिले जिल्लाका ६० विद्यालयमा विद्यार्थीले शिक्षकको हाजिर गर्ने कार्यक्रम प्रभावकारी भएको महसुस गरेका छाँै, यो कार्यक्रमलाई जिल्लाभरी नै पु¥याउँछौँ ।’ राउत भन्छन्– ‘सन्धिखर्क बजार क्षेत्र भित्रका अर्घाखाँची आवासीय, जनज्योति, भगवती मावि रविचित्रका विद्यार्थीहरूमा लागुऔषध गर्ने, लामा कपाल पाल्ने, मोवाईल प्रयोग गर्ने लगायतका कामहरू गरेको पाइएको छ, हामीले सम्बन्धित विद्यालयलाई सचेत गराएको र अभिभावकमार्फत् विद्यार्थीलाई सुधार गर्नका लागि विद्यालयलाई निर्देशन गरेको बताए ।

‘कुनै पनि शिक्षकले कक्षा कोठामा मोवाईल फोनको प्रयोग गर्न पाउँदैनन्, विद्यार्थीले त पाउने कुरै भएन’, राउत भन्छन्– ‘विद्यालय तथा विद्यार्थीहरूको अनुगमन जिल्ला शिक्षा कार्यालय, नगर शिक्षा समिति, स्रोत व्यक्ति, विद्यालय व्यवस्थापन समितिबाट भइरहेको छ, कुनै नराम्रो कार्य, समयमा विद्यालयमा शिक्षक नगएमा कार्वाही गर्छांै’, उनले भने । शिक्षालाई सुधार गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावकहरू सबै सचेत हुनुपर्ने बताए ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार