भैरहवा । विद्युत् अभाव भएको भन्दै संचालनमा ढिलाइ भइरहेको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग सञ्चालनका लागि १४ वटा उद्योगले मात्र निवेदन दर्ता गराएका छन् । माघ १० गते सेज व्यवस्थापनले उद्योग दर्ताका लागि १५ दिनभित्र उद्योग दर्ता गर्ने समयसीमा दिएको थियो ।
उक्त समयसीमाभित्र १४ वटा उद्योग दर्ता भएका हुन् । जबकि सेजमा उद्योग स्थापनाको लागि १९ वटा उद्योगले समझदारी गरेका थिए ।

तर लामो समयसम्म सेजमा विद्युत् नहुँदा पछिल्लो समय निराश बनेका उद्योगीहरूले उद्योग दर्ता गराएनन् । विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्ता सुन्दर थापाका अनुसार उद्योग सञ्चालनमा समझदारी गरेका १९ ओटा उद्योगमध्ये १४ उद्योगले दर्ता गरेका छन् । रूपन्देहीको रोहिणी गाउँपालिकाको बगाहामा ५२ विगाहा क्षेत्रफलमा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा १४ सयदेखि ३७ सय वर्गमिटरसम्मका ६९ वटा प्लटहरू रहेका छन् ।

सेजमा उद्योग स्थापनाका लागि आवश्यक विद्युत्का पूर्वाधार नै नभएको अवस्थामा उद्योग सञ्चालनका लागि कम आवेदन परेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले बताए । अग्रवालले यसअघि नै सेजमा तीनवटा उद्योग सञ्चालनका लागि दरखास्त हालेका थिए ।
‘बिना पूर्वाधार सूचना निकालियो, हामीले सेज भन्दै यति लामो समय कु¥यौँ, अहिले उद्योगका लागि आवेदन हालेर विद्युत् २ महिनामा आउँछ भन्ने के ग्यारेन्टी छ ? हामीहरूको लगानी सुरक्षित कसले गर्छ ? त्यसैले विद्युत नआएसम्म अनुमति पत्रका लागि आवेदन नदिने हाम्रो निर्णय हो’, अग्रवालले भने ।
सञ्चालनका लागि आह्वान गरे पनि उद्योगीहरू तयार नहुँदा अन्यौलता बढेको छ । उद्घाटन भएको तीन वर्ष बितिसक्दा पनि सञ्चालन कार्यविधि र विद्युत् समस्या नहटेको भन्दै उद्योगीहरू उद्योग स्थापना गर्न हिच्किचाइरहेका छन् ।

गत वर्ष भदौमा १९ वटा उद्योगले सञ्चालनका लागि सम्झौता गरेका थिए । विद्युत् सञ्चालनका लागि सब स्टेशन तयार नहुँदासम्म सेजमा उद्योग स्थापना गर्न उद्योगीहरू तयार नभएको उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अग्रवालले बताए । सेज सञ्चालनका लागि २५ मेगावाट विद्युत् आवश्यक पर्दछ ।
बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै ल्याउन लागिएको प्रशारण लाइनमा स्थानीयको अवरोध भएपछि प्राधिकरणले तिनाउ खोलाको किनारबाट लाइन ल्याउने तयारी गरेको छ । विद्युत् प्राधिकरणले अहिले धकधईमा सब स्टेशन निर्माण सुरू गरेको छ । विद्युत् प्राधिकरणले सेजभित्र पनि सब स्टेशन बनाउनु पर्ने बताएको छ ।
सेजमा तत्काल दुई मेघावाट र चैतभित्र दश मेघावाट विद्युत् सेजमा दिन सकिने नेपाल विद्युत् प्राधिकरण भैरहवा शाखाका प्रमुख मुनीन्द्र ठाकुरले जानकारी दिए । २०५८ सालदेखि विशेष आर्थिक क्षेत्र सेज बनाउन थालिएको थियो । ५२ बिगाहा क्षेत्रफलमा फैलिएको सेजमा १४ सयदेखि ३७ सय वर्ग मिटरसम्मका ६८ वटा प्लटहरू रहेका छन् । निर्माणको लामो समयसम्म प्रयोगमा नआउँदा सेज सञ्चालनमा नआउँदै जीर्ण बन्दै गएको छ ।

विशेष आर्थिक क्षेत्रभित्र खाद्य उद्योग, कृषिजन्य, हर्बल प्रोडक्टस, छालाको वस्तु, तयारी पोशाक, हस्तकला, धातु तथा प्लाष्टिक उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइने बताइँदै आएको छ । ती उद्योगले ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार