बुटवलमा केही दिनअघि बुटवल जेसीजको आयोजनामा लुम्बिनी वाणिज्य क्याम्पसको सभा हलमा एउटा प्रभावकारी कविता कन्सर्ट सम्पन्न भयो । गीत, संगीत, नाटक, नृत्यमा त कन्सर्ट हुन्थे तर कवितामा कन्सर्ट हुन्छ भन्दा झट्ट पत्याउन गाह्रो थियो । तर राष्ट्रियस्तरका कलाकार र साहित्यकारहरुलाई निमन्त्रणा गरेर सयौं सहभागीहरुले ५ सयको टिकट किनेर झण्डै १ बजेदेखि ६ बजेसम्म काव्य र कलाको रसपान गरे । यसलाई सबै कवि कलाकारहरुले अवसरको रुपमा बुझ्नुपर्छ ।
बुटवलमा अहिले किताब किनेर पढ्नुपर्छ भन्नेसम्मको संस्कृति आउन थालेको छ । स्रष्टाहरुका आफ्ना रचनाहरु विभिन्न पुस्तक पसलमा बिक्री हुन थालेका छन् । साहित्यकारले लगानी मात्र केही आम्दानीसमेत गर्न थालेका छन् । सयौं स्रष्टाहरुका रचनाहरु प्राज्ञ प्रतिष्ठानले प्रकाशन गरी र बिक्री वितरण गरी रोयल्टीसमेत दिन थालेको छ । राजधानीमा निजी स्तरमा प्रकाशन गृहहरु खुलेका छन् । यसले साहित्यलाई व्यवसायिक बनाउँदै लग्ने देखिन्छ । हामीले यस्तो संस्कृतिलाई मलजल गर्नुपर्छ । रुपन्देहीलयायत यस क्षेत्रतिरका थुप्रै विद्वानहरुलाई पनि श्रोत व्यक्ति बनाएर गजल, कविता वाचनमा कन्सर्ट गर्न सकिन्छ । यहाँका व्यवसायिक संस्थाहरुले यस्तो कन्सर्ट गरेर पैसा कमाउन सक्छन् । त्यसरी नै साहित्यिक संघ–संस्थाहरुले पनि यस्ता कन्सर्ट चलाउनसक्ने सम्भावना छ ।
नेपालमा पनि बजार अर्थतन्त्र बढ्न थालेको छ । व्यापारमा विविधीकरण हुन थालेको छ । प्रतिव्यक्ति आम्दानी बढेको छ । धेरै नेपालीहरु आम्दानी गर्ने मात्र हैन, विश्वभर पर्यटक बनेर भ्रमणमा निस्कन थालेका छन् । अहिले पर्यटकको आगमनभन्दा नेपालीहरु पर्यटक बनेर बाहिर जाने संख्या बढेको छ । बजारले हजार कमाएको छ । वैदेशिक रोजगारीले पनि नेपालीको घरघरमा आम्दानी बढाएको छ । सबैको साथमा खर्च गर्ने पैसा छ । निरपेक्ष गरिबीको संख्या घटेको छ । त्यसैले पनि धेरै मान्छेहरुले मनोरञ्जनको लागि यस्ता कन्सर्टहरुमा भाग लिन सक्छन् । त्यसैले अब यस क्षेत्रका विशिष्ट विद्वानहरुलाई आमन्त्रण गरी व्यवसायिक साहित्य सञ्चालन गर्न सकिन्छ । यसले प्रभावकारी साहित्यकारहरुलाई पहिचान बढाउन र अर्थोपार्जन गर्न मद्दत गर्छ । आपसमा प्रतिस्पर्धा भई साहित्यमा गुणस्तर पनि बढ्छ ।
कविता कन्सर्टले नयाँ सन्देश दिएको छ । साहित्य व्यवसायिक हुन थालेको छ । साहित्यलाई व्यवसायिक बनाउनु पर्छ । व्यवसायिक साहित्यले हामी सबैलाई छुन थालेको छ । साहित्य निःशुल्क उपलब्ध हुन सक्दैन । यसलाई पैसा तिरेर पढ्नु र सुन्नुपर्छ भन्ने भावनाको विकास भएको छ । बजारीकरणको साथसाथै यस्तो प्रचलनको शुरु भएको छ । सबै कवि कलाकारहरुले अबका दिनहरुमा कला प्रदर्शनी, पुस्तक महोत्सव, गीत–संगीत कन्सर्ट, कविता कन्सर्ट चलाउनु पर्छ । यसले स्रष्टाहरुको प्रतिष्ठा बढाउँछ । उनीहरु लाभांवित हुन थाल्छन् ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

देउवाको सरकारको मूल्याङ्कन

/शुक्र, फाल्गुन ४, २०७४

हार्दिक शुभकामना

/सोम, माघ २९, २०७४