नर्सको आखाँमा नर्सिङ

रक्षा मेडिकल हल बुटवलमा कार्यरत सरिता पुँवर सिएमए नर्सिङ पेशामा आवद्व भएको ३ वर्ष पुगेको छ । यो छोटो अवधिमा उनले धेरै अनुभव बटुलेकी छन् । उनले काठमाडौंको हुड्री नर्सिङ क्याम्पसमा १५ महिने सिएमए नर्सिङ र काठमाडौंको टेकु अस्तालबाट ३ महिना ओजेटी गरेकी हुन् । उनीसँग दैनिक पत्रकर्मी पूजा पन्थीले गरेको कराकानी ।

सि.एम.ए नर्सिङ किन रोज्नु भयो ?
सानैदेखि बुझेकी थिए कि नर्सिङ्ग भनेको सेवा गर्ने पेशा हो भनेर । म सानो हुँदा नर्सहरूले सेतो कपडा लगाएर उपचार गरेको देख्दा मेरो मनमा पनि नर्स बन्ने रहर जागेको थियो । अझ भन्नु पर्दा म कक्षा ७ मा पढ्दा खुट्टामा मोसा आएको थियो त्यसको उपचारका लागि म आफ्नो मामासँग भैरहवा मेडिकल कलेजमा पुगें ।

त्यहाँ पुगेपछि मलाई डाक्टरले अप्रेशन गर्नुपर्ने हुन्छ पर्छ भन्ने कुरा बताए । सुई देखि साह«ै डराउने म बल्ल–अपरेशनको लागि राजी भए ।
त्यसपछि मलाई नर्सहरूले सलाइन पानी चढाएर भेन ओपन गर्दा अनसेस भयो जसले गर्दा मलाई निकै पीडा र खुट्टामा सुजन भएको थियो । त्यतिबेला भएको त्यो पीडाले ममा झनै आत्मविश्वास बढाइदियो कि अब त जसरी भए नर्स बनेर नै छाड्छु । र, बिरामीहरूलाई सहि तरिकाले ट्रिट गर्छु ।

सुरुमा काम गर्दा कस्तो अनुभव भयो ?
सुरुमा यसरी नर्स बनेर काम गर्दा मलाई निकै गर्भको महशुस भएको थियो । नहोस् पनि कसरी किन कि नर्सप्रति मेरो सानैदेखि लगाव भएको कारण र आफ्नो सपना चाहना पूरा पनि भएको थियो ।म सँगै काम सुरु गर्नुभएका साथीहरू सुरुसुरुमा सुई लगाईदिन देखि लिएर अरू काम गर्न निकै डराउनु भएको थियो तर मेरो मनमा भने कत्ति पनि डर थिएन ।

बिरामीलाई स्याहार गर्दा मनमा कस्तो अनुभव हुन्छ ?
घरमा आफ्नो आमा पनि बिरामी भएको कारण बिरामीलाई स्याहार्न पाउँदा घरको परिवारलाई नै स्याहर–सुसार गरेको आभास हुन्छ । मेरो सानोदेखिको नै सोच अरूको स्याहर, सुसार र सेवा गर्ने भएकोले मनमा आन्नदितको मिठास हुन्छ ।

बूढाबुढी तथा फोहरी बिरामीलाई स्याहार्दा झर्को त मान्नु हुन्न ?
म बाट त्यस्तो कहिल्यै हुँदैन । मलाई त बिरामीसँग झर्को कसरी मान्छन् भन्ने पनि थाहा छैन ।म कसैसँग रिसाउदिन,मै बिरामी, डाक्टर र नर्सहरू सबैको प्यारी छु । बिरामीहरूले पनि अत्याधिक रुचाउनुहुन्छ । अझै निको भएर घर फर्कनुभएका बिरामीहरू बाटोमा भेटिँदा नमस्कार नानु सञ्चै हुनुहुन्छ भनेर निकैबेर कुरा गर्नुहुन्छ ।

लामो समयसम्म हेरेको बिरामीलाई डिस्चार्ज गर्दा कस्तो लाग्छ ?
निकै नरमाइलो लाग्छ । आफ्नो घरको सदस्यसँग छुटिँदै छु जस्तो लाग्छ । यो पेशामा मेरो एउटा अविस्मरणीय क्षण पनि छ । काठमाडांै मध्यपुर अस्पताल भक्तपुरमा म ३ महिने ओ.जि.टि को लागि गएको थिएँ । त्यतिबेला एउटा यस्तो बिरामी सँग भेट भो कि अन्दाजी ७५ वर्ष कि महिला जसको गाडी दुर्घटनामा परेर कान पूरै रूपमा भाँचिएको थियो ।मैले पूरै १ हप्तासम्म अस्पतालमा उनको खानपिन, लत्ताकपडादेखि लिएर स्याहारसुसार गरेकी थिएँ । यतिमात्र होइन कि ती वृद्वालाई १ हप्तापछि घर फर्कदा हातमा बाटो खर्चसम्म दिएर पठाएकी थिएँ । त्यतिबेला साह्रै नराम्रो अनुभव भएके थियो ।

कस्तो खालको बिरामीलाई स्याहार्न गाह्रो हुन्छ ?
स्याहार्न त सबै खालको बिरामीहरूलाई नै स्याहार्ने गर्छु । तर अलि गाह्रो भने पुरुष बिरामीलाई स्याहार्दा लाग्छ । एकदम खुसी भने बूढाबूढी आमाबुबालाई सेवा र स्याहारसुसार गर्दा मिल्छ ।

तपाई पनि बिरामी भएर अस्पताल बस्नु भएको छ होला नि ? त्यो बेला डाक्टर र नर्सले गरेको व्यवहार कस्तो लाग्यो ?

मलाई पित्तमा पत्थरी परेको थियो । पत्थरीको अपरेशन गर्दा म करिब ४ दिन अस्पताल बसेको छु ।त्यतिबेला सबै डाक्टर नर्सहरू चिनेको भएर होला मलाई खार्स गाह्रो भएन । तर एउटा कुरा चाहिँ भन्न चाहन्छु बिरामीहरू नयाँ जीवन पाउनको लागि अस्पताल आउन्छन् उनीहरूसँग राम्रोसँग नबोल्दिने, झर्को मान्दिने, आफू जान्ने छु भनेर अहमता देखाउनु भने चाहि पक्कै हँुदैन ।

यो पेशामा दुःख÷चुनौती कत्तिको छ ?
दुःख र चुनौती एकदमै छ । बिरामीलाई अलिकति मात्र गाह्रोे भयो भने नर्स नै दौडादौड गर्नुपर्छ । त्यतिबेला चिकित्सकलाई फोन गर्नेदेखि बिरामीलाई हेर्ने, इमर्जेन्सीमा आवश्यक पर्ने सरसामानको जोरजाम गर्ने, बिरामीको परिवारलाई सम्हाल्ने लगायत सबै एकैपटक गर्नुपर्ने हुँदा दिमाग धेरैतिर बाँडिइरहेको हुन्छ । अझ भनौं, बिरामीदेखि उनीहरूको कुरुवासम्मको आश सबै आफैप्रति रहेको हुन्छ । त्यसबेला समय अनुसार आफूलाई नियन्त्रण गर्नु पनि उत्तिकै जरुरी हुन्छ । त्यस्तै, जिम्मेवार हुन पनि जरुरी हुन्छ । कहिलेकाँही लाखौं कोशिस गर्दागर्दै पनि उनीहरूकोे स्वास्थ्यमा सुधार आएन, अवस्था झन नाजुक भयो, मृत्यु भयो भने चाहिँ त्यसले हामीलाई पनि कैयौं दिनसम्म असर पार्ने गर्छ ।

नर्सलाई समाजमा कसरी हेर्छन् जस्तो लाग्छ ?
अहिले मानिसको सोंचाइमा फरक आइसकेकोे छ । अझ पहिले त ‘ए नर्सिङ्ग पो पढेको’ भनेर नाक खुम्च्याउनेहरू अहिले ‘ओहो नर्सिङ्ग पढेको ? धेरै राम्रो गरेछौ’ भनेर हौसला दिन्छन् । यस अर्थमा पनि केही परिवर्तन भएको छ ।
नर्सिङ्ग पेशा भनेको सेवा गर्ने पेशा हो । जहिले पनि नयाँ आउनेले मनैदेखि लगाव भएर लाग्छु भनेर आउनुपर्ने हुन्छ, दबावमा आउँदा तनाव महशुस हुनसक्छ । सबैभन्दा महत्वपूर्ण कुरा, सेवा गर्ने भावना हुन जरुरी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार