शैक्षिक सुधारमा जुट्यो गाउँपालिका

बुटवल । सामुदायिक र निजी विद्यालयबाट एकै स्तरको जनशक्ति उत्पादन गर्न रूपन्देहीको सियारी गाउँपालिकाले शैक्षिक सुधार अभियान शुरु गरेको छ । गाउँ सभाबाट शिक्षाको गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाले त्यसका लागि अभियान नै शुरु गरेको हो ।

स्थानीय सरकारको शिक्षा कार्यविधि बनाउनका लागि विज्ञहरू सम्मिलित शिक्षा उपसमिति बनाएर काम भएको छ । सोही उपसमितिमार्फत् पहिलो चरणमा सामुदायिक र निजी विद्यालयबीच रहेको सम्बन्धनात्मक दुरी कम गर्न संयुक्त शैक्षिक महोत्सव शुरु गरेको छ ।

‘सामुदायिक विद्यालयमा विद्यार्थी नै नहुने, निजीमा थाम्नै नसकिने स्थिति भएपछि हामीले शैक्षिक सुधारलाई प्राथमिकतामा राखेका छौं, गाउँपालिकाका प्रमुख अयोध्या थारुले भने– ‘एउटै कक्षा पास भएर निस्किने विद्यार्थीको क्षमतामा फरक हुनुहँुदैन भन्ने हाम्रो मान्यता हो ।’

गाउँपालिकाले शैक्षिक सुधारका लागि ७३ लाख बजेट विनियोजन गरेको छ । सो रकमले भौतिक संरचना अपुग भएका विद्यालयको भवन निर्माणदेखि प्राविधिक शिक्षा चलाउनेसम्मका योजना रहेका छन् । खेतियोग्य जमिन बढी रहेको गाउँपालिकामा कृषि पेशामा आधारित प्राविधिक शिक्षा शुरु गर्ने योजना बनाइएको छ ।

सियारीमा २५ सामुदायिक, १५ निजी, ११ बालविकास र ४ मदरसा विद्यालय छन् भने एउटा मात्रै स्नातक तहसम्मको क्याम्पस रहेको छ । कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी धेरै शिक्षक कम, कतिपयमा शिक्षक धेरै र विद्यार्थी निकै कम रहेकाले त्यसको व्यवस्थापन पनि तत्कालै शुरु गरिने भएको छ । सामुदायिक र निजी विद्यालयमा शिक्षक–शिक्षकबीच र विद्यार्थी–विद्यार्थीबीच विभेद रहेकाले पहिलो चरणमा सो हटाउने काम शुरु हुने स्थानीय दुखै थारुले बताए । ‘सामुदायिक र निजी विद्यालयलाई एकै खालको शिक्षा दिने थलो बनाउने काममा समुदायले पूर्ण रूपमा सहयोग गर्छ’– उनले भने ।

समुदायको नै उत्साह देखिएपछि गाउँपालिकालाई कार्यसम्पादनमा सहज भएको छ । आगामी शैक्षिक सत्रसम्म निजी र सामुदायिकमा एकै खालका पाठ्यक्रम लागू गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष थारुले बताए । ‘निजी विद्यालयमा मात्रै राम्रो पढाई हुन्छ भन्ने सोच हटाउँदै सबै विद्यालय एउटै हुन् भन्ने गराउनुछ’ उनले भने ।

सियारीमा थारु, मधेसी र पहाडिया समुदायको बसोबास रहेको छ । सामाजिक रूपमा पछि परेका कारण शिक्षाबाट नै सचेतना फैलाउन सकिने सोचसहित गाउँपालिकाले शिक्षा सुधारको अभियान चलाएको हो । तीन दिने शैक्षिक महोत्सवमा निजी र सामुदायिकतर्फका शिक्षक र विद्यार्थीको सहभागिता हुनेछ । निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरू एउटै मैदानमा विभिन्न प्रतियोगितामा सहभागी हुँदा मतभेद हट्ने विश्वास छ । यसले एक–अर्काबाट सिकाई हुने अपेक्षा राखिएको छ । शिक्षा सुधारका लागि रूपन्देहीका १६ तहमध्ये यस्तो अभियान शुरु भएको यो पहिलो स्थानीय तह हो । कृषियोग्य जमिन अधिक भएको गाउँपालिका भएकाले स्थानीय पाठ्यक्रममा कृषि विषय समावेश गर्ने योजना पनि छ ।

शिक्षा विभाग प्रमुख सुधिर पौडेलले बालबालिकाको पठनपाठनलाई सुधार गर्न शैक्षिक समस्या समाधानलाई पहिलो प्राथमिकता राखिएको बताए । विपन्न समुदायका बालबालिकालाई सहयोग गरी अध्ययनमा सघाउने रणनीतिसमेत गाउँपालिकाले बनाएको छ । शैक्षिक महोत्सवको एक कार्यक्रमबीच प्रदेश सभा सदस्य तुल्सी चौधरीले गरेका थिए ।

सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको अध्यक्षता, प्रदेश सांसद तुलसी चौधरिको प्रमुख आतिथ्यता,महोत्सव सदस्य डिलाराम खनालको स्वागत मन्तव्य, सियारी गाउँपालिका शिक्षा विभाग प्रमुख सुधिर पौडेलको धन्यवाद ज्ञापन, इन्द्र प्रसाद तिवारिको संचालनमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक कृष्णप्रसाद भुषाल, पब्लिक माविका अध्यक्ष दुखीप्रसाद यादव, पूर्व प्रधानाध्यापक विश्वनाथ गौड, रामकेश प्रसाद पाल, शिक्षक युनियनका अध्यक्ष छविलाल पाण्डे, प्याब्सन सदस्य लोक शर्मा बस्याल, प्रशिक्षक यमबहादुर केसी, शुद्धोधन शिक्षा विभाग प्रमुख हरि ज्ञवालीलगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार