सेनिटरी प्याड बाँड्दै इस्मा गाउँपालिका

गुल्मी । यहाँको एक गाउँपालिकाले सबै विद्यालयहरूमा सेनिटरी प्याड वितरण गरेको छ । जिल्लाको इस्मा गाउँपालिकाकाले आफ्नो गाउँपालिका भित्र रहेका १७ वटा सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण गरेको हो ।

महिनावारीलाई ‘प्रकृतिले दिएको वरदान’ भनेर हाम्रो समाजमा बुझाउन निकै कठिन भइरहेका वेला गाउँपालिकाले समाजको यो धारणा परिवर्तनका लागि गाउँदेखि विद्यालयसम्मको अभियान थालेको हो । इस्मा गाउँपालिकाको आर्थिक सहयोग तथा सेवा सञ्चार गुल्मीको सहजीकरणमा गाउँपालिकाभित्र रहेका विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको गाउँपालिका उपाध्यक्ष विमला खत्रीले जानकारी दिइन् । गाउँपालिकाअन्तर्गतका ५ वटा मावि र १२ वटा निमाविका सबै छात्रालाई प्याड वितरण गरिएको हो । एकहप्ते अभियानका क्रममा रहेको गाउँपालिकाले अहिलेसम्म १ हजार ३ सय ३३ छात्रालाई प्याड वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज पोख्रेलले बताए । गएको वर्ष पनि विद्यालयको आन्तरिक स्रोतबाट केही विद्यालयमा सचेतना र सेनिटरी प्याड वितरण गरिएको थियो ।
पोख्रेलका अनुसार सेनिटरी प्याडले छात्राको स्वास्थ्य अवस्था सुरक्षित र अध्ययनमा सहजता ल्याएको छ । छात्राको उपस्थितिमा वृद्धि विद्यालयमा महिनावारी भएपछि छात्राहरूले विद्यालय छाड्ने र चार–पाँच दिन कक्षामा नआउने समस्या थियो । तर, अहिले इस्मा गाउँपालिकाका धेरै विद्यालयमा अध्ययन गर्ने छात्राले कक्षा नछाड्ने गरेको विद्यालयहरूको दाबी छ । विद्यालयमा सेनिटरी प्याड प्रयोगले उल्लेख्य रूपमा छात्राको संख्या बढेको ठाढुंगा माविका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले बताए । साथै, महिनावारी हुँदा अपनाउनुपर्ने उपायबारे जानकारी प्राप्त गरेपछि छात्रा खुलेर बोल्ने गरेको उनको भनाइ छ । ‘पहिलेजस्तो महिनावारी भएकै कारण स्कुलमा आउन नसक्ने अवस्था छैन,’ अर्यालले भने, ‘विद्यालयमा सेनिटरी प्याडको राम्रो व्यवस्था गरेका छौँ ।’
इस्मा गाउँपालिका उपप्रमुख विमला खत्रीले अबको केही समयमा महिनावारीमैत्री गाउँपालिका निर्माण गर्ने बताइन् । ‘गाउँपालिकाभित्रका सबै निमावि र माविहरू महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त घोषणा भएका छन्,’ खत्रीले भनिन्, ‘छिटै गाउँपालिकालाई नै महिनावारीमैत्री बनाएर घोषणा गर्ने तयारीमा छौँ ।’ उनले गाउँपालिकालाई मुलुककै पहिलो महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त घोषणा गर्ने लक्ष्य रहेको समेत जानकारी गराइन् । केही वर्षदेखि सेवा सञ्चारले गुल्मीले जिल्लाका विभिन्न विद्यालयहरूमा महिनावारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुका साथै सेनिटरी प्याडहरू वितरण गर्ने गरेको छ । महिनावारी भएको वेला छात्राहरू उपस्थित नहुने, बीचमै कक्षाकोठा छाडेर घर जाने र समस्या खुलेर नराख्ने अवस्था पाइएकाले यस्तो कार्यक्रम शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार