गुल्मी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित प्रदीपकुमार ज्ञवाली एमाले सचिव हुन् । पूर्व पर्यटन मन्त्री ज्ञवालीले यसअघि गुल्मीबाट २०५६ र २०६४ मा चुनाव जितेका थिए । पार्टीको संगठन र सैद्धान्तिक बहसका लागि परिचित ज्ञवाली वाम गठबन्धन निर्माणका समन्वयकर्ता मध्येका एक हुन् । चुनाव जितिसकेपछि गुल्मीमा मतदातालाई धन्यवाद दिन उनी घरदैलोमा छन् । घरदैलोका क्रममा रहेका ज्ञवालीसँग गुल्मीको तम्घासमा भेटेर दैनिक पत्र दैनिकका लागि सी. पी. खनालले वर्तमान राजनीति, सरकार गठन, वाम एकताजस्ता विषयमा केन्द्रित रहेर गरेको कुराकानी ।

 

अध्यादेश, सरकारका नियुक्तिजस्ता विषयमा सरकारसँग एमालेको टसल प¥यो । निर्वाचन आयोगलाई पनि गाली गर्दै हुनुहुन्छ । तपाइँहरू छिटो सरकार छाड्न भन्दै हुनुहुन्छ, सरकारले अझै काम बाँकी छन् भन्दैछ, अबको निकास के हो ?
वास्तवमा निर्वाचन भइसकेपछि नयाँ सरकार गठनको बाटो खोलिनुपथ्र्यो । लोकतान्त्रिक मुलुकमा कुनै एउटा शक्तिले बहुमत हासिल गरिसकेपछि सहज ढंगले सरकार गठनको लागि सहज बनाउनुपर्ने हुन्छ । तर यो सरकारले संविधानविपरीत र अपव्याख्या गरेर अवरोध सिर्जना गरेको छ । जनादेशअनुसार अघि नबढेर अनेक बहाना बनाएर सरकारले ढिलाई गरिरहेको छ । सरकारले सक्दो छिटो जनादेशको सम्मान गर्दै नयाँ सरकार गठनका लागि सहज वातावरण तयार गर्नुपर्छ । निर्वाचन आयोगले पनि सरकारकै कारिन्दा जस्तो गरी भूमिका निर्वाह गरेको देखियो । आयोग स्वतन्त्र निकाय हो । उसले त्यसैअनुसारको भूमिका निर्वाह गर्नुपर्छ ।

नयाँ सरकार गठन र पार्टी एकता कसरी अघि बढ्छ ? पावर सेयरिङको कुरा पनि छ । एमाले र माओवादीबीच कसरी पावर सेयरिङ हुन्छ ?
यो समय नेता व्यवस्थापनको हैन । यो देश व्यवस्थापनको समय हो । अहिले कतै पार्टी अध्यक्ष र प्रधानमन्त्री को हुने भन्ने र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चर्चा भएको पनि सुनिन्छ । यसलाई ठूलो समस्याका रूपमा लिएका छैनौं । कताकता आलोपालो भन्ने कुरा पनि आएको छ । भोलि पार्टी एकता भइसकेपछि दुईवटा व्यक्ति भन्दा पनि पार्टीको कुरा रहन्छ । पार्टी एक भएपछि त्यसले कसलाई कहाँनेर कसरी व्यवस्थापन गर्ने भन्ने निक्र्योल गर्छ । त्यो दोश्रो प्राथमिकतामा छ । शुरुमा हामी सरकार गठन गरेर मुलुकलाई नयाँ ढंगले अघि बढाउने तयारीमा छौं । एमाले अध्यक्षको नेतृत्वमा सरकार बन्छ । यो सरकारले मुलुकलाई समृद्ध बनाउनका लागि योजना बनाएर अघि बढ्छ । एउटा कुरा म के भन्न चाहन्छु भने सरकार गठन र पार्टी एकता कुनै विवाद नगरी सहज ढंगले नै समाधान गर्छौं । पावर सेयरिङमा कुनै समस्या हुँदैन । यसमा ढुक्क भए हुन्छ ।

सरकारमा मधेशकेन्द्रित दललाई सहभागी बनाएर माओवादीलाई पन्छाउन खोजियो भन्ने खालको शंका उत्पन्न भएको छ नि !
हो, हामीले मधेशकेन्द्रित दलहरूसँग छलफल गरेपछि त्यसरी बुझियो । त्यो खालका चर्चा भए । तर हामी निर्वाचनमा जाँदा जसरी माओवादीसँग तालमेल र एकताको विषयलाई एउटै बनाएर गयौं, त्यसैगरी हामी सरकार गठन र पार्टी एकतालाई पनि अघि बढाउँछौं । सरकार गठन र पार्टी एकता सँगसँगै हुन्छ । यसमा कुनै शंका गर्नुपर्ने छैन । सरकारलाई सकेसम्म बलियो र अरू दलहरूलाई पनि साथमा लिएर अघि बढ्ने योजना हो । माओवादीलाई साइड लगाएर मधेश केन्द्रित दललाई मात्रै लिएर अघि बढ्ने भन्ने हैन । यो बाहिर हल्ला भएको विषय मात्रै हो ।

सरकार गठनअघि नै पार्टी एकता हुन्छ ?
सरकार गठनअघि नै पार्टीको सबै संरचनासहित एकता गर्न संभव छैन । त्यसको खाका हामीले सरकार गठनअघि नै बनाउँछौं । सरकार गठन अघि पार्टी कस्तो हुनेछ भन्ने सन्देश हामीले दिनेछौं । त्यसपछि सरकार गठन हुने छ र पार्टी एकताको काम अर्को ढंगले अघि बढ्नेछ । यसमा एमाले र माओवादीबीच एकखालको बुझाइ छ । यसमा कुनै समस्या छैन ।

अब बन्ने पार्टी कुन वादमा आधारित हुन्छ ? एमालेको जनताको बहुदलीय जनवाद, माओवादीको २१औं शताब्दीको नौलो जनवाद या अरू कुनै वाद ?
यो छलफलकै क्रममा छ । एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको नौलो जनवादलाई मिलाएर नेपाली समाज सुहाउँदो गरी नयाँ खालको वादको जन्म हुनेछ । त्यो न रुसको जस्तो हुनेछ, न चीनको जस्तो हुनेछ । यो नेपाली शैलीको नेपालको समाजका लागि उपयुक्त हुनेछ ।

तपाइँ गुल्मीको सांसद्, गुल्मीको विकासका लागि के कस्ता सपना देख्नुभएको छ ?
म यो क्षेत्रको विकासका लागि निरन्तर सक्रिय छु । गुल्मीमा खासगरी रोजगारीको समस्या र बसाईसराईलाई रोक्नका लागि यहीँ उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । कृषि, पशु र पर्यटन नै गुल्मीलाई समृद्ध बनाउन सकिने आधार हुन् । यसका लागि स्थानीय तह, निर्वाचन क्षेत्र, प्रदेश सभा सांसद र प्रतिनिधि सभा सांसदहरूले एकीकृत रूपमा योजना बनाएर हामी अघि बढ्दैछौं । गुल्मीलाई समृद्ध बनाउनका लागि निर्वाचनमा जितेका वा हारेका सबै मिलेर हामी लाग्नेछौं ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार