सी.पी. खनाल÷शिवलाल सुवेदी
गुल्मी । सात वर्षअघि गुल्मीको धुर्कोटमा रहेको विचित्र गुफा हेर्न गएका तत्कालीन सचिव लिलामणि पौडेलले भनेका थिए– ‘ऐतिहासिक पुरातात्विक यो विचित्र गुफाको भूगर्भविद् र पुरातत्वविद्ले अध्ययन अनुसन्धान गर्न आवश्यक देखियो ।’ यसरी गुफा घुम्न आउने सबैले भन्छन्– गुफाको अध्ययन र अनुसन्धान गर्न आवश्यक छ र पोखराका महेन्द्र गुफा र गुप्तेश्वर गुफाजस्तै गरी विकास गर्न जरुरी छ ।

०६७ सालको फागुनमा गुफा हेर्न गएका तत्कालीन सांसद् प्रदीप ज्ञवालीले गुफाको अध्ययन र अनुसन्धान गरी गुफालाई हेर्नलायक बनाउने बताएका थिए ।
मन्त्री ज्ञवालीको पहलमा केही अध्ययन भए पनि यसले गुफाको आकर्षण बढाउन सकेन । २०४५ सालमा ढेंडु लखेट्दै जाने क्रममा फेला परेको गुफाको विकासका लागि चासो दिने प्रतिबद्धता धेरैले जनाए ।

तर यसको विकास र प्रचारप्रसारका लागि खासै चासो देखाएनन् । स्थानीयकै पहलमा विचित्र गुफा संरक्षण तथा विकास समितिले आगन्तुकसँग लिएको शुल्क र अरू सहयोगबाट गुफाको रेखदेख गर्दै आएको छ । उचित संरक्षण र सुरक्षा नहुँदा गुफाभित्रका अनौठा आकृतिहरू चोरी भएका छन् । ‘हामीले सकेजतिको प्रयासमा गुफाको रेखदेख र संरक्षण गरेका छौं’– विचित्र गुफा संरक्षण तथा विकास समितिका अध्यक्ष युवराज भण्डारी भन्छन्– ‘तर यसको जति सुरक्षा हुनुपर्ने हो, त्यति दिन हामीले सकेका छैनौं, ताला लगाएको अवस्थामा पनि चोरी हुने गरेको छ, यसको सुरक्षा र संरक्षणका लागि सरकारी निकायबाटै चासो दिन आवश्यक छ ।’

अध्ययन अनुसन्धान हुन सकेन
विचित्र गुफा प्रकृतिको अनुपम रचनासहित १ सय ८५ मिटरभन्दा बढी लम्बाई रहेको विचित्र गुफा संरक्षण तथा विकास समितिको अनुमान रहेको छ । आधा दर्जन तलासम्म रहेको अनुमान गरिए पनि अहिलेसम्म सबै तलामा कोही पुग्न सकेको छैन । बारीमा मकै खान आएको बादर लखेट्ने क्रममा बा“दर गुफाभित्र पसेपछि त्यसलाई पछ्याउँदै जा“दा फेला परेको गुफा नेपालकै ठुलो भएको स्थानीयवासीको दावी रहेको छ ।

गुफा व्यवस्थापनका लागि गठन भएको समितिले दुई तलासम्म अध्ययन गरे पनि अन्य तलाहरू र त्यसभित्र भएका छुट्टै सुरुङ्गहरूको उत्खनन् र अनुसन्धान नै बा“की रहेको विचित्र गुफा सरक्षण तथा विकास समिति अध्यक्ष भण्डारीले बताए । ‘हामीले यसको अनुसन्धान र अध्ययनका लागि धेरैपटक पहल ग¥यौं, उनले भने– तर यसको अध्ययन अनुसन्धान हुन सकेको छैन, यसको रहस्य गर्भमै छ ।’

गुफाभित्र फेला परेका संरचनाहरूलाई स्थानीयले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्ग जाने बाटोलगायतका नामकरण गरेका छन् । गुफाको मुख्य प्रवेशद्वारबाट झण्डै १ सय ५० मिटर भित्र पुगेपछि अत्यन्तै ठुलो सभाहलमा पुगिन्छ । गुफाभित्र प्रवेश गर्नासाथ कम्तिमा ६० वाटको बिजुली बत्ती वा ५ वटा सामान्य हाते लाइटको आवश्यक पर्दछ ।

रहस्यमय छन् गुफाभित्रका आकृति
गुफाभित्रका आकृति देखेरै अचम्म लाग्ने खालका छन् । विचित्रका छन् । यसैले गुफाको नाम नै विचित्र गुफा राखिएको छ । गुफाभित्र पसिसकेपछि ५ सयभन्दा धेरै अट्न सक्ने सभाहल जस्तै भाग छ ।
त्यसको नजिकै शिवलिङ्गसहितको मन्दिर, राम र कृष्णको प्रतिक, विभिन्न नागहरूको आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृतिहरू छन् । त्यस्तै सभाहलको माथिपट्टिको सिलिङ्गमा अनौठा खालका आकृतिका कलात्मक बुट्टा देखिन्छन् ।

बुट्टाहरूको बीचमा रातोमाटोले पोतेर सफा गरेको मण्डपको आकृति छ । गुफा फेला पार्नेमध्येका एक स्थानीय भानुभक्त भण्डारीले गुफाका आकृतिलाई नृसिंहावतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्गलगायत नामकरण गरेका छन् ।

यसभित्र विभिन्न देवताहरूको बास रहेको र कृष्णले बेलाबेलामा गोपिनीहरू ल्याएर नचाउनका लागि सभा हल निर्माण गरेको आफूले सपनामा देखेको समितिका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

गुफा फेला पारेलगत्तै त्यहा“ भित्र रहेका आकृतिहरूका बारेमा जान्न थालेकाले व्यवस्थापन समितिले लालमणि भण्डारी, चानुभक्त भण्डारी र कृष्ण भण्डारीलाई गुफा हेर्न आउनेहरूलाई त्यस भित्रको वर्णन गर्ने र भित्रका सबै क्षेत्रमा घुमाउने जिम्मा दिएको छ । त्यस्तै गुफा हेर्न आउनेहरूका लागि खानेपानी, शौचालय तथा गुफा हेर्नका लागि आउने र वनभोज खान आउनेहरूका लागि सेडहरूको समेत ब्यवस्था छ ।

लामो दुरीको गुफा भएकाले उज्यालोका लागि पटक पटक विद्युत् बत्तीको ब्यवस्था गरे पनि विद्युत् सेवा प्रभावकारी बन्न नसकेकाले गुफा अवलोकन गर्न आउनेहरू टर्चलाईट बालेर जानुपर्छ । गुफामा सिजन (जेठदेखि भदौबाहेक) मा दैनिक ४÷५ सय जनासम्म र अन्य दिनहरूमा पनि सर्वसाधारणहरू गुफाको अवलोकन गर्न आउने गरेको समितिले जनाएको छ ।

रुटमा पार्न पहल
सदरमुकाम तम्घासबाट ४ कोष टाढा अर्थात धनार्जीसम्मको १८ किलोमिटर सवारी साधनमा र धनार्जीबाट झण्डै २० मिनेटको पैदल यात्रामा पुग्न सकिने विचित्र गुफा त्यहा“ पुग्नेहरूका लागि सा“च्चिकै विचित्रकै रहेको छ ।

तर यो गुफा हेर्न जानका लागि कुनै रुट नपर्दा घुम्न चाहने पर्यटक पनि गुफा पुग्न सकेका छैनन् । ‘यो गुफाको नजिकबाट तम्घास–सिमलटारी–प्युठान सडकको रुट पार्नका लागि हामीले पहल गरिरहेका छौं, गुफा संरक्षण तथा विकास समितिका प्रवक्ता कृष्ण प्रसाद भण्डारी भन्छन्– यो रुटले गुफालाई नजिक बनाउन सक्छ, त्यसपछि अहिले दैनिक ५० जना पर्यटक आइरहेकोमा यो संख्या वृद्धि हुने छ ।’

समितिले लुम्बिनी, ढोरपाटन, रेसुंगा, पाल्पाको तानसेन, रानीमहल, प्युठानको स्वर्गद्वारी जोड्नेगरी रुट बनाउन सके गुफामा पर्यटक आउन सक्ने बताउँछ । ‘यो गुफा पोखराका र नेपालकै अरू क्षेत्रका गुफाको तुलनामा धेरै अनौठो र रहस्यमय छ, यहाँ कुनै रुट पार्न सकियो भने यसले धेरै आम्दानी गर्न सक्छ, यसबाट स्थानीयका साथै सरकारलाई समेत फाइदा पुग्थ्यो’– समितिका अध्यक्ष भण्डारीले भने ।

गुफा जानका लागि समितिले अहिले गुफाको धुर्कोटबस्तुको पूर्वी क्षेत्र चिल्लाट र पश्चिमी क्षेत्र डिट्ठाको पोखरीदेखि गुफाको नजिकैसम्म मोटरबाटोको सुविधा पु¥याएको छ ।

पर्यटन मन्त्रालय, संस्कृति मन्त्रालय, रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिलगायतले बिचित्र गुफाको पूर्वाधार विकास, संरक्षण एवं प्रवद्र्धनका लागि काम गरिरहेको भण्डारीले बताए । गुफाको पूर्व पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप कुमार ज्ञवाली, मुख्य सचिव लिलामणी पौडेललगायत विभिन्न मन्त्रालयका सचिव, उपसचिव, विभिन्न देशका विदेशीहरूले समेत अवलोकन गर्दै यस्ता गुफाहरूको संरक्षण र प्रवद्र्धन सरकारले गर्नु पर्ने बताएका थिए । गुफामा जानका लागि तम्घासदेखि छल्दी धनार्जी हु“दै र अर्को तम्घास, सिमाघाट जैसीथोक बस्तु हु“दै पनि पुग्न सकिन्छ । तर जताबाट गएपनि झण्डै २० मिनेटको ढुङ्गा कुंदेर बनाएको सिढिबाट हिंड्दाको आनन्द पनि छुट्टै हुने गर्दछ ।

जनप्रतिनिधिबाट आशा
यस गुफाको विकास र संरक्षण गर्नका लागि धुर्कोट गाउँपालिकाले गुरुयोजना बनाएर अगाडि बढ्ने तयारी भएको जनाएको छ ।
धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलका अनुसार आफूहरू धुर्कोट गाउँपालिका भित्र रहेको विचित्र गुफा, धुर्कोटको कोटलगायत पुराना धार्मिक तथा ऐतिहासिक स्थलहरूको विकास गरेर पर्यटकहरू भित्राउनका लागि गुरुयोजना बनाउन लागेको बताए ।

यस गुफाको विकास गरेमा सिङ्गो गाउँपालिकाको पनि विकास हुने आशा गरिएको छ । समितिले पनि स्थानीय तहसँगै गुफाको प्रचार प्रसार र विकास हुने आशा पलाएको बताएका छन् । पर्यटनमन्त्री हुँदा सो क्षेत्रको अध्ययन र अनुसन्धानका लागि पहल गरेका गुल्मी १ का सांसद् प्रदीप कुमार ज्ञवाली विचित्र गुफाको विस्तृत अध्ययन र अनुसन्धानका लागि आफूले छिटै पहल गर्ने बताउँछन् ।

‘म पर्यटनमन्त्री भएकै बेला त्यहाँको विकासका लागि केही गरौं भनेर थालनी गरेको थिएँ, पछि मुलुकको परिस्थिति बदलियो र त्यसमा काम गर्न सकिएन, अब म छिटै नै त्यसको विकासका लागि योजना बनाएर नै लागिपर्छु ।’


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार