बुटवल । रूपन्देहीमा पहिलो पाँच तारे होटल आंशिक रूपमा सञ्चालनमा आएको छ । यो राजधानी बाहिरको सबैभन्दा ठूलो लगानीको रिसोर्ट हो । हङकङका लगानीकर्ताको ५ अर्ब २० करोड लगानीमा रूपन्देहीको कोटिहवामा पाँच तारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आएको छ । हङकङको सिल्भर हेरिटेज ग्रुपले नेपालमा बनाएको यो दोस्रो संरचना हो ।

रिसोर्टको फूलफेज सञ्चालन भने अझै दुई महिना लाग्नेछ । तिलोत्तमा नगरपालिकाको कोटिहवामा १५ विगाहा क्षेत्रफलमा बनेको रिसोर्ट काठमाडौं बाहिरको सबैभन्दा ठूलो लगानी भएको संरचना हो ।

यस रिसोर्टमा ४ सय कोठाहरू हुनेछन् । हङकङ बेस सिल्भर कम्पनी अष्ट्रेलियाको शेयर बजारमा सूचीकृत कम्पनी हो । यसकै लगानीमा बनेको यस रिसोर्टमा करिब दुई महिना अघिदेखि २४ घण्टे रेष्टुरेन्ट सञ्चालनमा छन् ।

‘हामी २४ घण्टे रेष्टुरेन्ट सेवासहित सञ्चालनमा आएका छौं’, लगानीकर्तामध्येका एक नवराज बजगाईले भने– ‘दुई महिनाभित्र फूल फेजमा सञ्चालन हुनेछ ।’ हाल एक सय ५० कोठा सञ्चालनमा रहेका छन् ।

टाइगर प्यालेसमा क्यासिनो समेत सञ्चालन हुनेछ । यो प्रविधिका हिसाबले दक्षिण एसियाकै ठूलो क्यासिनो रहेको लगानीकर्ताको दावी छ । क्यासिनो निर्माणमा मात्रै दुई अर्ब लगानी गरिएको छ ।

यो रिसोर्ट रूपन्देहीको पहिलो पाँच तारे हो । भैरहवामा गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनी क्षेत्र आसपासमा स्वदेशी तथा विदेशी लगानीकर्ताले अर्बौं लगानीमा होटल निर्माण गरिरहेका छन् । संरचनाको दृष्टिकोेणले टाइगर रिसोर्ट निकै फरक र आकर्षक रहेको छ ।

लुम्बिनी विश्वको शहरका रूपमा विकसित हँुदै गरेकाले हङकङका लगानीकर्ताले लुम्बिनीको १९ किलोमिटर टाढा यति धेरै लगानी गरेका हुन् । रिसोर्टले तेस्रो मुलकका सँगसँगै भारतीय पर्यटकहरूलाई बढी लक्षित गरेको छ । भैरहवामा मिनी क्यासिनो भए पनि त्यसमा प्रर्याप्त सुविधा छैनन् । भारतीय ती पर्यटकको चाहनालाई सिल्भर ग्रुपको यो रिसोर्टले पूरा गर्ने बजगाईले बताए । क्यासिनोमा एकै पटकमा चार सय जनाले सेवा लिन सक्ने बताइएको छ । क्यासिनो सञ्चालनका लागि स्विकृति लिने प्रक्रिया शुरु भइसकेको छ भने सरकारबाट पाँच तारे होटलको स्विकृति पाइसकेको छ ।

भारतबाट ८ किलोमिटर मात्रै टाढा रहेको यो रिसोर्टमा दैनिक पाँच सय भारतीय पर्यटक भिœयाउने अपेक्षा रहेको छ । लुम्बिनीमा घुम्न आउने पर्यटकहरूलाई पैसा खर्च गर्ने माध्यम टाइगर रिसोर्ट हुुने विश्वास लिइएको छ । यस क्षेत्रमा २४ घण्टा चल्ने होटलहरू छैनन् । जसको परिपूर्ति टाइगर प्यालेसले गर्नेछ ।

पाँच तारे सुविधाको रिसोर्टले स्तरीय पर्यटकलाई आकर्षित गर्ने योजना बनाएको छ । ‘खाना खाने पोको बोकेर लुम्बिनी आउने पर्यटकले देशलाई फाइदा छैन’, बजगाईले भने– ‘हामी स्तरीय पैसा खर्च गर्ने पर्यटकलाई यहाँ आकर्षित गर्ने संरचना बनाएका छन् ।’ यहाँ निर्मित ६ वटा रुमबाट सिधै स्विमिङ पुलमा पौडी खेल्न सक्नेछन् । जिम क्लब, क्यासिनो, डान्स, चिल्ड्रेन पार्कलगायतका संरचना निर्माण भइसकेका छन् । पन्ध्र सय जना अट्ने ठूलो हलको व्यवस्थासहित मिनी हलहरूसमेत बनाइएको छ । यसको भौतिक संरचनामा करिब ३ बिगाहा जमिन खर्च भएको छ ।

सिल्भर ग्रुपले मंगोलियन मूलका पर्यटकहरूलाई लुम्बिनी निम्त्याउँदै सेवा प्रवाह गर्ने योजना बनाएको छ । काठमाडौंमा मिलिनियर क्लबसहित भियतनाम, लाओस्, कम्बोडिया, फिलिपिन्समा करिब दुई दर्जन होटल तथा रिसोर्टहरू सञ्चालनमा आएका छन् । यो रिसोर्ट पनि सोही चेनमा आबद्ध रहेको छ ।
टाइगर रिसोर्टले २२ जनालाई रोजगारी दिएको छ । स्थानीय बासिन्दालाई पहिलो प्राथमिकतामा राखेर रोजगारी उपलब्ध गराइएको बजगाईले बताए । कोटिहवाको रिसोर्ट आसपासलाई पर्यटन विशेष आर्थिक क्षेत्रका रूपमा विकास गर्ने दीर्घकालीन योजनासमेत राखिएको छ । रिसोर्टले रोजगारी सिर्जना गरेपछि स्थानीयहरू उत्साहित बनेका छन् ।


लक्ष्मण पोखरेल

पोखरेल आर्थिक र समसामयिक विषयमा कलम चलाउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार