बुटवल । बुटवलमा जारी १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन भन्दै विदेशी उत्पादन बेच्ने स्टलधनीलाई हटाइएको छ ।
प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रमाण पेस गरेर विदेशी सामग्री बिक्री गरेको पाइएपछि ७ वटा स्टल हटाइएको रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिए ।
उनी भन्छन्– ‘हामी निरन्तर अनुगमनमा छौँ । जो बाहिरिनु भयो उहाँहरु पहिलो चरणमा बाहिरिनु भएको हो ।’ झुटो विवरण पेस गरेर कारोबार गरेकाहरुलाई पनि ईज्जतसाथ पैसा फिर्ता गरेर पठाएको उनको भनाइ छ ।

उनले भने– ‘प्लास्टिकको सामग्री बेच्छु भनेपछि त प्लास्टिकका सामग्री बेच्नुपर्ने होइन ? झुट बोलेर विदेशी सामग्री बेच्ने सबैलाई हटाउँदै छौँ ।’
वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारीको संयोजकत्वमा ६ सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ । मेलामा रहेका १२ र १३ नम्बरमा रहेको अस ईन्टरनेशनल, २२, २३ र २४ नम्बर स्टलको पिएम अगरबत्ति र २५ नम्बर स्टलको गणेश प्लास्टिकलाई हटाइएको स्टल दर्ता तथा वितरण संयोजकसमेत रहेका अधिकारीले जानकारी दिए ।
बाल उद्यान र आईटी क्षेत्रबाहेक अन्य क्षेत्रमा स्वदेशी सामग्री राख्नुपर्ने नियम मिच्दै विदेशी सामग्री बेचेको पाइएमा स्टल खाली राखेर पनि मेला सञ्चालन गर्ने संघका अध्यक्ष रेग्मीले जानकारी दिए ।
मेलामा स्टल राखेका एक व्यवसायीले भने आफूलाई आयोजकले अन्याय गरेको गुनासो गरेका छन् ।
गणेश प्लास्टिक उद्योगको नाममा प्रदर्शनीमा स्टल राखेका अस्लम खानलाई आयोजक रुपन्देही उद्योग संघले भारतीय सामान बिक्री गरेको भन्दै स्टल बापतको रकम फिर्ता गरेर स्टल बन्द गरिदिएको भन्दै पत्रकार सम्मेलन गर्दै स्वच्छ छानबिनको माग गरेका छन् ।

उनले आफ्नोजस्तै सामान अन्य थुप्रै स्टलमा बिक्री भइरहे पनि आयोजकले अन्य स्टललाई सामान बेच्न दिएको र आफूलाई हटाएर भेदभाव गरेको गुनासो गरे ।
‘कि त पहिल्यै स्टल दर्ता गर्दा सबै कुरा जानकारी गराउनुपर्दथ्यो, उतिबेला दर्ता गर्ने, अहिले केहीलाई मात्र हटाउनु सरासर अन्याय हो’– उनले भने– ‘साँच्चै कुरा गर्ने हो भने स्वदेशी उत्पादनको प्रदर्शनी भनिए पनि जुत्ता, चप्पल, ज्याकेट, लेडिज ब्याग, सूचना प्रविधिका सामान, केन्ट फिल्टर लगायतका दर्जनौं वस्तु र स्टल विदेशी सामानले भरिएका छन् ।’

खानले आयोजकले स्वदेशी उत्पादनको मात्रै प्रदर्शनी भनेर आम उपभोक्ता र दर्शकलाई भ्रममा पारेर सस्तो लोकप्रियता मात्र कमाउन खोजेको दावी गरे । ‘म चुनौतिका साथ भन्छु प्रदर्शनीमा राखिएका सबै उत्पादन स्वदेशी छैनन््, आयोजकले झुटो प्रचार गरेकाले गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’
संघका अध्यक्ष रेग्मीले फिल्टर विद्युतीय सामग्री भएको र नेपालमा नबन्ने भएको हुँदा यसलाई राख्न अनुमति दिएको बताए । अन्य स्टलमा पनि चेतावनी दिइसकेको बताउँदै रेग्मीले बेच्न बन्द नगरे स्टल नै खारेज गरिदिने बताए ।
सो पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य अशोक बर्माले भारतीय स्टलधनीलाई प्रदर्शनीबाट हटाएको विषय आफूले भारतीय राजदूतावासमा जानकारी गराएको बताउँदै आयोजकको रवैया ठीक नभएको बताए ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार