बुटवल :  थाईल्याण्डमा जारी एसीसी यु– १६ इष्टर्न रिजनल क्रिकेट प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले म्यानमारविरुद्ध ऐतिहासिक जित दर्ता गरेको छ ।

म्यानमारविरुद्ध नेपालले ३ सय ३७ रनको ऐतिहासिक जित निकालेको हो ।बिहीबार बिहान सुरु भएको खेलमा पहिले टस जितेर ब्याटिङ राजेको नेपालले ३ सय ५१ रनको उच्च चुनौती पछ्याएको म्यानमारलाई ११ दशमलब ३ ओभरमा १३ रनमा समेट्यो ।

यो जितसँगै नेपाल समुह ए को विजेताको रुपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । म्यानमारलाई निकै सामान्य स्कोरमा समेट्न नारायण जोशीले र मेखबहादुर सेन थापाले समान ४ र४ तथा विशाल विक्रम केसीले २ विकेट लिए ।

३ ब्याट्सम्यान गोल्डेन डक आउट भएको म्यानमारको इनिङ्समा ७ ब्याट्सम्यानबिना स्कोर पेभेलियन फर्केका थिए । ७ रन नेपालले अतिरिक्त रनको रुपमा प्रदान गरेको थियो ।यसअघि बैंककस्थित टेर्डथाई क्रिकेट पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन जोडेको थियो ।

कप्तान रित गौतमले बिष्फोटक ब्याटिङ गर्दै शतकिय इनिङ्स खेल्दै टोलीलाई उच्च स्कोर तर्फ लम्काएका थिए । सातौँ विकेटको लागि गौतम र प्रतिश जिसीले १ सय १२ रनको कीर्तिमानी साझेदारी गरेका थिए ।गौतम १ सय ६ र जिसी ६३ रनमा नटआउट रहे । तृतराज दासले ६४, विशाल बिक्रम केसीले ४२ र कुशल मल्लले ३६ रन जोडे ।

नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा बनाएको यो नै हालसम्मको सर्वाधिक ठूलो स्कोर हो ।यसअघिका दुबै खेलमा जित हात पार्दै नेपाल १ खेल अगाबै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको थियो ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार