बालकृष्ण चापागाईं

पञ्चायतकालमा गुण्डागर्दीको राजधानीका रूपमा बदनाम थियो रूपन्देही । निर्दलीय पञ्चायती व्यवस्थाका लठैतहरूलाई राम्रैसँग पालित पोषित गरिन्थ्यो रूपन्देहीमा । तत्कालीन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलका नाममा लठैतहरूलाई संगठित गर्ने गरिन्थ्यो पञ्चायतकालमा । तिनै लठैतहरूको जमातले प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेकाहरूलाई खोजी खोजी कुट्थे । जासुसी गरेर सिडियो र अञ्चलाधीशहरूलाई प्रयोग गरेर जेलमा थुन्थे ।

सत्ताको निर्देशनमा प्रजातन्त्रका पक्षधरहरूलाई आक्रमण गर्थे । यस क्रममा जनताको पक्षमा आवाज उठाउने र निरंकुश निर्दलीय व्यवस्थाको विरोध गर्ने सचेत नागरिकहरूलाई अनेकौं किसिमले दुःख दिन्थे । मानौं, त्यतिबेला रूपन्देहीमा गुण्डाहरूकै राज थियो । पञ्चायती व्यवस्थाको विरोध गर्नेहरूले ज्यान बचाएर हिंड्न निकै गाह्रो थियो ।

मण्डलेहरूले कहिले मणिग्राम, कहिले छपिया, कहिले सेमलार, कहिले भैरहवा, कहिले बुटवल, कहिले मुर्गिया, कहिले खैरेनी र सुरजपुराजस्ता ठाउँहरूमा चरणबद्ध आक्रमण गरिरहेका हुन्थे । ती आक्रमणहरूबाट कैयौंले ज्यान गुमाउन विवश भए । कैयौं महिलाका सिन्दूर पुछिए । कैयौं बालबालिका टुहुरा भए । कैयौं बुबा–आमाले छोराछोरी गुमाउनु प¥यो । कैयांै अपाङ्ग भएभने त्यस आतङ्गबाटै कैयौं मानिस रूपन्देहीबाट विस्थापित हुन बाध्य भए । त्यतिबेला रूपन्देहीमा पञ्चायती शासकहरूद्वारा पालित पोषित मण्डलेहरूको दबाब, आक्रमण र आतङ्कबाट रूपन्देहीका जनता जतिबेला पनि त्रसित भइरहन्थे । यस प्रकारका आततायी घटनाका नाइके थिए दीपक बोहोरा । अरू उनका चेला चपेटाहरू थिए ।

त्यस प्रकारको मण्डले आतङ्कविरुद्ध रूपन्देहीमा आन्दोलन गर्नेहरूमा कोही कम्युनिष्ट विचारधाराबाट प्रेरित थिए भने कोही कांग्रेस विचारधाराबाट प्रेरित थिए । कम्युनिष्ट या कांग्रेस जुनसुकै विचारधाराबाट प्रेरित भई पञ्चायती शासकका लठैतविरुद्व खडा भएपनि मण्डलेहरूको दृष्टिमा कांग्रेस, कम्युनिष्ट भनेका अराष्ट्रिय तत्वको रूपमा दर्ज गरिएका थिए ।

मुलुकमा प्रजातान्त्रिक व्यवस्था हुनुपर्छ भनेर राणा शासन र पञ्चायती शासनविरुद्ध संघर्ष गर्दै आएको अग्रज पुस्ताको यात्रालाई निरन्तरता दिने क्रममा ०३५÷०३६ सालको विद्यार्थी आन्दोलनको एउटा विशिष्ट स्थान रहन गयो । मुलुकले प्रजातन्त्रको बिहानी खोजिरहेको बेला पाकिस्तानमा त्यहाँका सैनिक शासकले निर्वाचित प्रधानमन्त्री जुलफिकर अलि भुट्टोलाई फाँसीको सजाय दिएको घटनाविरुद्ध टि.यु.का विद्यार्थीहरूले पाकिस्तानी राजदूतावासमा ज्ञापन—पत्र बुझाउन जाँदा तत्कालीन पञ्चायती सरकारले विद्यार्थीमाथि निर्मम लाठी प्रहार ग¥यो ।

त्यस घटनाको विरुद्धमा टि.यु.केन्द्रीय क्याम्पसका विद्यार्थीहरूले देशव्यापी आन्दोलनको आव्हान गरे । त्यस आन्दोलनलाई ऐक्यबद्धता जनाउने क्रममा रूपन्देहीको मणिग्रामस्थित गीर्वाण सरस्वती संस्कृत मा.वि.को प्राङ्गणमा हामीले रूपन्देहीमा पहिलो पर्चा ड्राफ्ट गरेका थियांै । त्यो पर्चा ड्राफ्ट गर्ने काम घनश्याम भुसाल, नारायण लुइँटेल र यो पंक्तिकार लगायतका विद्यार्थी साथीहरूको उपस्थितिमा भएको थियो । त्यो पर्चामा स्पष्ट शब्दमा टि.यु.का विद्यार्थीहरूले सुरु गरेको आन्दोलनलाई मानसिक र भौतिक रूपमा ऐक्यबद्धता जनाउँदै आजदेखि नै आन्दोलनमा उत्रने भनी घोषणा गरिएको थियो । यो पर्चा ड्राफ्ट र आन्दोलनको घोषणा नै हाम्रो राजनीतिक यात्राको पनि औपचारिक घोषणा थियो ।

यो ०३५ सालको अन्त्यतिरको कुरा हो । यो पर्चाको ड्राफ्ट र आन्दोलनको घोषणाले रूपन्देही जिल्लामा विद्यार्थी आन्दोलनले तीव्र गति लियो । आन्दोलन दबाउनका लागि रूपन्देहीमा मण्डलेहरू अघि अघि र पुलिसहरू पछि पछि भएर आए । हामी रूपन्देहीमा फ्रन्ट लाइनमा उभिएर सर्वप्रथम मण्डलेहरूसँग नै लड्नु प¥यो । दीपक बोहोराहरूसँग नै लड्नु प¥यो ।

म त्यतिबेला गीर्वाण स्कुलमा कक्षा–९ को विद्यार्थी थिएँ भने घनश्याम भुसाल कक्षा–१० का विद्यार्थी हुनुहुन्थ्यो । हामीलाई वैचारिक हिसाबले प्रशिक्षित गर्ने शिक्षकहरूमा गोपीरमण उपाध्याय, बुद्धिसागर भट्टराई, रोहितराज क्षेत्रीहरू हुनुहुन्थ्यो । त्यति बेला आन्दोलनको मोर्चामा सक्रिय हुने विद्यार्थीहरूको एउटा समूह थियो । कविराम अर्याल, सीता खरेल, लोकनाथ पाण्डे ‘क’ र ‘ख’, गंगाधर लुइँटेल, माया भण्डारी, मुरारि पराजुली आदि । सबैको नाम यहाँ उल्लेख गर्न सम्भव भएन, त्यसका लागि म क्षमा याचना गर्दछु । साँचो अर्थमा रूपन्देहीको गीर्वाण मा.वि. ०३५÷०३६ विद्यार्थी आन्दोलनको महत्वपूर्ण केन्द्र थियो मणिग्राम । त्यतिबेलाका गीर्वाणका विद्यार्थी सबै आन्दोलनकारी बनेका थिए ।
हामीले त्यो आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका थियौं । त्यहाँबाट सुरु भएको राजनीतिक यात्रा ०७४ साल मंसिर २१ सम्म आइपुग्दा झण्डै ४० वर्ष भएछ । यो ४० वर्षमा बल्ल खोलो फर्केको छ । नेपालका अन्य क्षेत्रमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र पहिले आएको भएपनि रूपन्देही क्षेत्र नं ३ मा भने विधिसम्मत ढङ्गले यस पटकको चुनावी परिणाममा वाम गठबन्धनका उम्मेदवार घनश्याम भुसालको जितले मात्र लोकतन्त्रको बोध गराएको छ ।

बितेका ४० वर्षमा हामीले मण्डलेसँग कति लडाईं गर्नुप¥यो । उनीहरूको आक्रमण र हमला कति सहनु प¥यो । पञ्चायती शासकहरूको दमन, जेल, नेल कति बेर्होनु प¥यो भन्ने समग्र कुराको यो सानो आलेखमा विवेचना सम्भव छैन । हामीले ०३७ कार्तिक–१ को छपिया हत्याकाण्ड जहाँ १४ वर्षे कलिला विद्यार्थी तारापति भट्टराईको हत्या, कार्तिक १६ गते सेमलारको स्कुलनेर आयोजित जनपक्षीय सांस्कृतिक कार्यक्रम चलिरहेको बेला मध्यरातमा मण्डले गुण्डाहरूद्वारा भएको साङ्घातिक आक्रमण र जनधनको क्षति, ०४० सालमा रूपन्देहीको पूर्वी क्षेत्र स्थित नेपाली काँग्रेस रूपन्देहीका तत्कालीन सभापति पुष्पानन्द गिरीको घरमा भएको मण्डले आक्रमण र यादवनाथ आलोकलगायतका व्यक्तिहरूको हत्या र कांग्रेसको केन्द्रीय र स्थानीय नेतृत्वमाथिको हत्या प्रयास कहालीलाग्दा घटना हुन् । यसै क्रममा मण्डलेहरूसँगको प्रत्यक्ष भिडन्तका क्रममा मणिग्राममा आन्दोलनकारी विद्यार्थीहरूमाथि पटक–पटक गरिएको मण्डले आक्रमण तथा समग्र जिल्लाका विभिन्न क्षेत्रजस्तैः छपिया, भैरहवा, बुटवल, मुर्गिया, देवदहलगायतका क्षेत्रमा योजनाबद्ध रूपमा भएको मण्डले आक्रमण र त्यसले निम्त्याएको क्षति रूपन्देहीवासीका लागि अविस्मरणीय छन् । यस्ता घटनाको लामो शृङ्खला छ । समग्र घटनाको दशांश पनि यहाँ उल्लेख गरी साध्य छैन ।
ती घटना क्रमहरूको प्रत्यक्ष साक्षी र मण्डले विरोधी आन्दोलनको आगुवाहरू मध्येको म एक भएको नाताले त्यतिबेलाका त्यसप्रकारका सबै घटनासँग जोडिएका आन्दोलनकारी साथीहरूको यो आलेखमार्फत ध्यानाकर्षण गर्न मात्र यो पङ्तिकारले खोजेको हो ।

यसपटक रूपन्देही क्षेत्र नं ३ मा घनश्याम भुसालको जित मण्डले विरुद्धको जित हो । न्यायको जित हो । प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो । गणतन्त्रको जित हो । संघीय लोकतान्त्रिक गणतन्त्रको जित हो । नयाँ संविधानको सफल कार्यान्वयनका लागि महत्वपूर्ण कडी हो । यो जित एमालेको जित हो । वाम गठबन्धनको जित हो । निरंकुश पञ्चायतीकालदेखिको मण्डले आतङ्क र आक्रमणबाट प्रताडित भएका नेपाली कांग्रेसलगायतका लोकतन्त्रवादीहरूको जित हो । रूपन्देहीका शान्तिप्रेमी जनताको जित हो ।

गौतमबुद्धको जन्मस्थल शान्तिभूमि लुम्बिनीको जित हो । यसर्थ मैले बधाई दिन्छु घनश्याम भुसाललाई । राम्रो काम गर्नु, जनताको काम गर्नु, राष्ट्रको सेवा गर्नु, लुम्बिनीको माया गर्नु, कहिलेकाहिं सम्भव भए हामीजस्ता तपाईंका सहपाठी, सहकर्मी र सबै आन्दोनलनमा साथमा रहेका तपाईंको सदैव भलो र उन्नति चाहने साथीहरूलाई पनि सम्झनू । फेरि पनि बधाई छ, घनश्याम तपाईलाई ! अझ विशेष बधाई छ, रूपन्देही क्षेत्र नम्बर ३ का विवेकशील मतदातालाई !


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार