बालकृष्ण चापागाईं

 

मैले राजनीतिक यात्रा सुरु गरेपछि सबैभन्दा खुसीको क्षण यसपटकको प्रदेश र प्रतिनिधि सभाको चुनावी परिणाम भएको छ । यसर्थमा कि जति बेला कलिलो विद्यार्थी मस्तिष्क थियो त्यतिबेला हाम्रो दिमागमा वामविचारधाराको जबर्जस्त प्रभाव परेको थियो । त्यही प्रभाव र विश्वासका आधारमा पञ्चायती निरकुंशता विरुद्वको आन्दोलनमा निर्भिकतापूर्वक सक्रिय भइयो ।

प्रजातन्त्र प्राप्तिको आन्दोलन,लोकतान्त्रिक आन्दोलन,संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका सबै आन्दोलनमा भाग लिइयो । प्रेस स्वतन्त्रका लागि लोकतन्त्र अपरिहार्य भएको ठानी पे्रस जगतबाट आन्दोलनको पक्षमा नेतृत्वमै रहेर संघर्ष गरियो। ०३५ देखि ०७४ सम्मका अग्रगमनका पक्षमा भएका आन्दोलनहरूमा अविराम सक्रिय भई नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधानको निर्माण र त्यसको कार्यान्वयनको महत्वपूर्ण आधारका रूपमा रहेका स्थानीय,प्रदेश र प्रतिनिधि सभाका निर्वाचनहरू सम्पन्न हुनु र वामगठबन्धनले बहुमत प्राप्त गर्नु मैले राखेको वैचारिक आस्था र आजका दिनसम्म अविछिन्न रूपमा गरेको आन्दोलनको समुच्च उपलब्धिको रूपमा मैले लिएको छु ।

अहिलेसम्मको सचेत जीवन यात्रा वामपन्थीहरूको हातमा सत्ताको बागडोर प्राप्त होस् भन्नेमा नै केन्द्रित थियो । त्यसलाई यसपटकको स्थानीय,प्रदेश र प्रतिनिधि सभाको निर्वाचन परिणामले ल्याएको हुँदा जीवन यात्राको आजसम्मको लक्ष्य सही विन्दुमा पुगेको छ भन्ने मलाई लागेको छ । जीवनमा यसैका लागि सबैभन्दा बढी चिन्तन गरिएको, समय लगानी गरिएको,कलम चलाएको,संगठन निर्माण र त्यसमा लामो समयसम्म सक्रिय रहेको,आफ्नो बोली र बचन पनि सबै भन्दा धेरै यसैमा खर्चिएको, पञ्चायती शासनको बेलामा होस् या बहुदलीय कालखण्डमा होस् वैचारिक आस्था र लोकतन्त्रको पक्षमा निर्भिकतापूर्वक खडा भई संघर्ष गर्दा प्रहरीको दमन,आक्रमण,गिरफ्तारी र यातना भोग्नु परेको हुँदा त्यो लक्ष्य र कार्यले सफलता प्राप्त गर्दा जीवनमा यो भन्दा ठूलो खुसीको क्षण अरू के हुन सक्छ र ?


यसपटकको चुनावी परिणाम मेरो लागि सबैभन्दा बढी खुसीको क्षण भएको छ । किनकि प्रजातन्त्र, लोकतन्त्र तथा प्रेस स्वतन्त्रताका पक्षधर यो मुलुकका हाम्रा अग्रजहरू, हामी र उदाउँदै गरेका नयाँ पुस्ताहरूका लागि ठूलो उपलब्धि भएको छ । चुनावमा वामलोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन भएकाले सबैले आ–आफ्ना क्षमता र दृष्टिकोणहरू जनता समक्ष प्रस्तुत गरे । त्यसलाई जनताले मूल्याङकन गरी यसपटक वामलोकतान्त्रिक गठन्धनलाई बहुमत दिएका छन् । यसको कसरी सदुपयोग गर्छन् जितेका दल र जनप्रतिनिधिले यो भने सबैका लागि प्रतीक्षाको घडी रहेको छ ।

अनुकूल परिस्थिति बन्दा मात्तिने र प्रतिकूल परिस्थिति हुँदा आत्तिने गर्नु हुँदैन । जनताले त जसले राम्रो काम गर्छन् त्यसलाई मौका दिन्छन् । यो चक्र निरन्तर चलिरहन्छ । किनकि जनता कसैका दास र रैती हैनन् भन्ने बुझ्नु पर्दछ । नेपाली जनताले त धेरै प्रकारका उतारचढावहरू बेहोरेका छन् ,भोगेका छन् । राणाहरूलाई बेहोरे, राजा महाराजाहरूका शासनलाई बेहोरे,पञ्चायती शासकहरूलाई बेहोरे । ०४६साल यता बहुदलीय व्यवस्था पुनःस्थापना भएपछिका दल र ती दलका नेताको शासन र व्यवहार पनि बुझ्ने र भोग्ने मौका पाए । दस वर्षसम्म मुलुकमा चलेको हिंसात्मक द्वन्द्वको अवस्था र त्यस अवधिमा मुलुकमा उत्पन्न जटिल परिस्थितिलाई पनि नेपाली जनताले राम्रोगरी बुझे । सबै परिस्थितिहरूको सामना गर्दे अगाडि बढेको नेपाली राजनीतिले ०७४ साल मंसिर २१ पछि नयाँ मोड लिएको छ ।

अब मुलुक कसरी अगाडि बढ्ने हो भन्ने विषयमा चिन्तन र मनन सुरु भएको छ । यसपटकको चुनाव वास्तवमा नेपालीहरूको आफ्नै बल र योजनामा सम्पन्न भएको छ । त्यसले गर्दा मुलुकको राष्ट्रियता बलियो हुने क्रम सुरु भएको छ । लोकतन्त्र संस्थागत भई अगाडि बढेको छ । संवैधानिक रूपमै जनता सार्वभौमसत्ता सम्पन्न भएका छन् । मुलुक अब शान्ति र समृद्विको मार्गमा अगाडि बढ्न सक्ने बलियो आधार देखा परेको छ । त्यसैले यो चुनावी परिणामले लोकतान्त्रिक आन्दोलनमा आजको जीवनसम्म संघर्षरत सबैलाई खुसी बनाएको छ ।

आन्दोलन एउटा राजनीतिक मिसन थियो । त्यस मिसनका क्रममा कसले कति गुमायो,कसले बलिदान दियो,को अपाङ्ग भयो, कतिले दुःख पाए, राष्ट्र र समाजले कति अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुप¥यो । त्यसको आफ्नै प्रकारको इतिहास छ । ती सबै आन्दोलनहरूको समुच्च उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित नयाँ संविधान हो । त्यसको सफल कार्यान्वनका लागि स्थानीय,प्रदेश र प्रतिनिधि सभाका निर्वाचित सदस्यहरू हुन् । ती निर्वाचित सबै सदस्यहरू हाम्रा प्रतिनिधि हुन् र उनीहरूले सफलतापूर्वक र इमान्दारीपूर्वक काम गरुन् भन्ने हाम्रो शुभकामना छ । यो चुनावी परिणामले विजेताहरूको लागि भन्दा उपविजेताहरू खुसी हुने स्थिति निर्माण गरेको छ । चुनावमा भाग लिएका उम्मेदवारहरूलाई भन्दा जनतालाई खुसी बनाएको छ ।

किनकि लोकतन्त्र संस्थागत भएको छ । लोकतन्त्रमा यसपटक उपविजेता भएकाहरूलाई फेरि चुनाव लड्ने अवसर प्राप्त हुन्छ । र जनताले पनि आफूले चाहेका जनप्रतिनिधिहरू छान्ने अवसर समय समयमा प्राप्त गरिरहन्छन् । यसर्थ पनि मैले मेरो अहिलेसम्मको जीवन यात्रामा सबैभन्दा खुसीको क्षण यो चुनावी परिणामलाई ठानेको छु ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार