बालकृष्ण चापागाईं

नेपालमा प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव सम्पन्न हुन अब केही दिन मात्र बाँकी छ । यसपटकको चुनावमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चर्चा निकै उत्कर्षमा छ । यो चुनावी परिणामपछि मुलुक कुन दिशातिर कसरी अगाडि बढ्ला भन्ने विषयमा सचेत नागरिकहरूका बीच चर्चा र बहस शुरु हुन थालेको छ ।

यो निर्वाचनको परिणामले मुलुकले कस्तो राजनीतिक कोर्स लिनेछ भन्ने कुराको निक्र्यौल गर्नेछ । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीचको प्रतिस्पर्धाबाट कसको बहुमत आउँछ र तिनीहरूले कस्तो राजनीतिक कोर्स लिन्छन् भन्ने कुराले नयाँ कोर्सको यात्रा तय गर्नेछ । यति बेला नेपाली जनताले प्रदेश सभा र प्रतिनिधि सभामा कस्ता जनप्रतिनिधि र दलका नेताहरूलाई चुनेर पठाउने भन्ने प्रश्न महत्वपूर्ण हो भन्ने लाग्छ । नेपाल राज्यको उत्पत्ति भएदेखि अहिलेसम्म राज्य सत्तामा पुगेका राजा, महाराजा, राणा, विभिन्न राजनीतिक दल र तिनका नेतृत्व गणबाट शासन सत्ताको सञ्चालन भई आएको सन्दर्भमा कसले कसरी राजनीतिक व्यवहार नेपाली जनता सामु प्रस्तुत गरे भन्ने विषयमा विभिन्न कोणबाट छलफल विवेचना र समीक्षा जनस्तर र राजनीतिक वृत्तमा भइरहेको छ ।

नेपालमा भएका प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलन र ती आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत र सुरक्षित गर्ने गरी निर्मित संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित नयाँ संविधानका आधारमा केही समयअघि सम्पन्न स्थानीय निर्वाचन र त्यसको परिणामका साथै यही मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभाको चुनावी परिणामले नेपाली जनताको वास्तविक चाहना के छ भन्ने कुराको अभिमत प्रस्तुत गर्दछ । त्यसैले नेपाल राष्ट्रलाई बलियो र नेपाली जनतालाई अधिकार सम्पन्न र शक्तिशाली बनाउनका लागि यी निर्वाचनहरूको ऐतिहासिक र युगान्तकारी महत्व छ भन्ने कुरा गम्भीरतापूर्वक लिन जरुरी छ । किनकि नेपालमा अहिलेसम्म गरिएका राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रका लागि सबै प्रकारका अधिकार प्राप्तिका आन्दोलनलाई संस्थागत गर्ने, संवैधानिक रूप दिने र आगामी साँचो अर्थको नयाँ नेपालको खाका र तस्बीर प्रस्तुत गर्ने यो महान् अवसर हो भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ ।

त्यसैले कुनै पनि राजनैतिक दृष्टिकोण वैचारिक आस्था र विश्वास राख्ने नागरिक, नेतृत्वगण र राजनीतिक दलहरूले यति बेला नेपाली जनताका मनमनमा पस्ने, घरघरमा पुग्ने र आफ्ना दृष्टिकोण र प्रतिबद्धता व्यक्त गरी जनताको विश्वासको मत लिने यो युगान्तकारी अवसर हो भन्ने मलाई लाग्दछ । चुनावी प्रचारले उत्कर्ष लिइरहेको छ । जनताले कसलाई मत दिने भनेर गाउँघर, टोल र शहरमा चर्चा, छलफल र विवेचना गरिरहेका छन् । त्यसको निष्कर्षसहितको परिणाम मंसिर महिनाभित्रै आउने छ । यो बेलमा सबै नेपाली जनता सजग, सचेत र विवेकशील भई आ—आफ्नो ठाउँमा क्रियाशील हुनु जरुरी छ । सक्रियपूर्वक लाग्न जरुरी छ । यतिबेला कसैलाई बुझाउन, सिकाउन, खटाउन र निर्देशित गरिरहनु आवश्यक छैन । उनीहरू स्वतःस्फूर्त लाग्छन् र लाग्नु पनि पर्छ ।

लामो समयदेखि मुलुकमा दलीय अभ्यास भई आएको छ । त्यसैले नेपाली जनताका बीचमा राजनीतिक दलका गतिविधिहरू विभिन्न ढङ्गले पुगिसकेको अवस्था छ । त्यस हिसाबले नेपाली जनताले कसलाई मत दिने भन्ने विषयमा दृष्टिकोण बनाइसकेको अवस्था पनि बनिसकेको छ । सबैका आआफ्ना वैचारिक आस्थाहरू हुन सक्छन् । त्यसले पनि स्वभाविक रूपमा भूमिका खेलेको हुन्छ ।

हामीलाई समाजले जुन दायित्व दिएको छ । त्यसलाई जिम्मेवारीपूर्वक वहन गर्नुपर्छ । जीवनका आ—आफ्नै मूल्य र मान्यताहरू हुन्छन् । त्यसलाई पनि जिम्मेवार व्यक्तिले बुझ्नु सक्नुपर्छ । कुन समयमा कुन काम गर्ने र आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुराको पनि हेक्का राख्नु पर्ने हुन्छ । हाम्रो मान्यता भनेको जनता सार्वभौमसत्ता सम्पन्न होऊन्, अधिकार सम्पन्न होऊन् भन्ने हो । सुखी र समृद्ध समाज बनोस् भन्ने हो । त्यस दिशामा क्रियाशील हुनुपर्छ । अग्रगामी सोंच र परिवर्तनप्रति प्रतिबद्ध हुनुपर्छ ।

हामी समाजका सचेत र अगुवा नागरिक भएको नाताले मुलुकको अवस्थालाई दृष्टिगत गरी कसरी मुलुकको हित हुन सक्छ भनेर जिम्मेवारपूर्वक विश्लेषण गर्नुपर्ने हुन्छ । यतिबेला मुलुकमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका विषयलाई लिएर आग्रह पूर्वाग्रहका आधारमा लान्छना, आरोप—प्रत्यारोप गरेको पाइन्छ । यसलाई राजनीतिक दलहरूले तुरुन्त रोक्नु पर्छ र स्वस्थ आलोचना गर्दै आ—आफ्ना दृष्टिकोण जनतासामु प्रस्तुत गर्नु आवश्यक छ । लोकतान्त्रिक पद्धतिमा दलहरू खुल्नु र समय सन्दर्भमा एजेन्डाका आधारमा तालमेल, सहकार्य र एकता हुनुलाई स्वभाविक ठान्नु पर्छ । स्थानीय चुनावताकाको परिस्थिति र अहिलेको परिस्थिति भिन्न छ ।त्यतिबेलाको तालमेलभन्दा यसपटकको तालमेल सुझबुझयुक्त, स्वभाविक र सान्दर्भिक छ भन्ने रूपमा बुझ्दै अगाडि बढ्नु वाञ्छनीय देखिन्छ ।

यस पटकको चुनावी परिणामबारे अनेकौं कोणबाट विश्लेषण शुरु भएको छ । जसले जे विश्लेषण गरे पनि चुनावी प्रतिस्पर्धा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीचमै हुने देखिन्छ । यो चुनावमा राजनैतिक ध्रुवीकरणको बहुआयामिक पक्ष देखिएको छ । त्यसैले विगतमा कुन पार्टीका कति मत आए भन्ने आधारमा गरिने चुनावी विश्लेषण र यसपटकको चुनावबाट आउने परिणाममा फरक परिस्थिति निर्माण पनि हुन सक्छ । विगतका चुनावलाई भन्दा यसपटकको चुनावलाई जनताले निर्देशित मान्यताका आधारमा नभई स्वविवेकीय दृष्टिकोण राख्दै स्वनिर्णय अनुसार मतदान गर्ने मनस्थितिमा पुगेको देखिन्छ । जनता धेरै सचेत भइसकेका छन् । यो कुरा बुझ्नु जरुरी छ ।

यस पटकको निर्वाचनमा वाम तालमेल र लोकतन्त्रिक तालमेलकै उमेदवारहरू निर्वाचनमा जितेर आउने छन् । उनीहरूले के गर्नेछन्, के भन्ने छन् भन्ने कुराको पहिलो आधार त उनीहरूले प्रस्तुत गरेका घोषणा पत्रहरू र प्रतिबद्धताहरू नै हुन् । दोस्रो कुरा उनीहरूले अहिलेसम्म प्रस्तुत गर्दै आएका व्यवहार हुन् ।

अहिलेसम्म नेपालको राजनीतिमा उदाएका राजनैतिक दलहरू, नेतृत्व गण र उनीहरूका व्यवहारका आधारमा विश्लेषण गर्दा अग्रगामी दृष्टिकोण र चुनावी घोषणा पत्रहरूलाई हेर्दा वाम गठबन्धन तुलनात्मक रूपमा अगाडि आउने देखिन्छ ।

विगतका कमी कमजोरीहरूलाई सच्याउँदै सबल पक्षलाई आत्मसात् गर्दै बदलिँदो परिस्थिति अनुसार राष्ट्र र जनताको आवश्यकता र मागलाई सम्बोधन गर्दै परिवर्तनको दिशामा निष्ठापूर्वक एकताबद्ध ढङ्गले अगाडि बढ्न सकेमा छोटै अवधिमा मुलुकले समृद्धि हासिल गर्न सक्नेछ भन्ने मैले ठानेको छु ।

विगतमा के के भयो भनेर अब चर्चा गरिरहनु भन्दा अब राम्रो ढङ्गले कसरी अगाडि बढ्ने भन्ने कुरामा हाम्रो ध्यान पुग्नु पर्छ । हाम्रो मुलुकमा एकतन्त्रीय, निर्दलीय, प्रजातान्त्रिक, लोकतन्त्र, गणतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्रका नाममा अहिलेसम्म सत्तामा पुगेका व्यक्ति, राजा महाराजा, राणा र राजनीतिक दल र ती दलका नेताहरूको व्यवहार नेपाली जनताले भोगिसकेका छन् । देखिसकेका छन् ।

नयाँ संविधान जारी भए पछि सम्पन्न स्थानीय चुनाव र अहिले सम्पन्न हुन गइरहेको प्रदेश र प्रतिनिधिसभाको चुनावको परिणामपछि विगतको भन्दा आशालाग्दो परिस्थिति नेपाली जनताले अनुभूत गर्न पाउने छन् । विगतमा जस्तो यथास्थितिवादी, दक्षिणपन्थी, घोर दक्षिणपन्थी, अवसरवादी, चरम अवसरवादी प्रवृत्तिबाट मुलुकका जिम्मेवार दलहरू मुक्त हुनेछन् । मुक्त हुनु जरुरी छ ।

यो युगान्तकारी चुनावी परिणाम परिवर्तनको पक्षमा हुनेछ । समृद्धिको पक्षमा हुनेछ । शान्तिको पक्षमा हुनेछ । समुन्नत नेपालको पक्षमा हुन्छ । अहिलेसम्म नेपालमा निरङ्कुशतावादी, अनुदारवादी, उदारवादी, प्रजातन्त्रवादी, लोकतन्त्रवादी, गणतन्त्रवादी, संघीय लोकतान्त्रिक गणतन्त्रवादी, वामपन्थी, उग्रवामपन्थी, दक्षिणपन्थी, घोर दक्षिणपन्थी, अवसरवादी र चरम अवसरवादी दृष्टिकोण र प्रवृत्तिहरूको प्रयोग भइसकेको अवस्था छ ।

यस पटकको चुनावमा जनताको ताजा अभिमतलाई मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभाको चुनावी परिणामले पनि प्रस्तुत गर्नेछ । यो चुनावी परिणाम आइसकेपछि मुलुकको राजनीतिले नयाँ कोर्स लिनेछ । त्यो कोर्स भनेको क्रान्तिकारी परिवर्तन, राष्ट्रिय एकता, आर्थिक समृद्धि, शान्ति, जनताको हित र समुन्नतिको मार्गमा अगाडि बढ्ने खालको हुनेछ ।

यो लेख २०७४ मंसीर ५ गते दैनिकपत्र दैनिकको बिचार स्तम्भ पृष्ठ ४ मा प्रकाशित छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार