सीता डोटेल
रामपुर (पाल्पा): पाल्पा जिल्लाको रामपुर नगरपालिकामा ५ मा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले सरकारले जस्तै सामाजिक सुरक्षा भत्तादेखि सुत्केरी खर्च प्रदान गरेको छ ।

अधिकांश सहकारीहरूले आर्थिक कारोबारमा मात्र सीमित हुने गरे पनि यस सहकारीले सदस्यहरूका लागि राहत हुने काम गरेपछि नेपालमा नै नमुना बन्दै अघि बढेको छ । यस सहकारीले महिलाहरूलाई सत्केरी हँुदा सुत्केरी स्यहार खर्च, जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता र सदस्यको श्रीमान् वा श्रीमतिको मृत्युमा समेत किरिया खर्च प्रदान गर्दै आएको छ ।

पहिलो र दोस्रो बच्चा जन्माउने महिलालाई सुत्केरी स्याहार खर्च वापत पोषिलो आहाराका लागि प्रति सुुत्केरी एक हजार प्रदान गर्दै आएको छ । सुत्केरी भएपछि महिलाहरू कमजोर हुने र त्यस्तो अवस्थामा पोषण कम हुने भएकोले पोषण आहाराका लागि भत्ता बाँड्न थालेको व्यवस्थापक दिपेन्द्रप्रसाद पौडेलले बताए ।
गत आबमा सुत्केरी स्याहार खर्च ७० जनालाई प्रतिव्यक्ति १ हजारका दर ७० हजार, ४४ जना जेष्ठ सदस्यका लागि मासिक पाँच सयका दरले २२ हजार, सदस्यको मृत्युमा पारिवारिक अबस्था हेरी एक हजारदेखि दूई हजारसम्म १४ जनालाई गरी २२ हजार र सदस्यको श्रीमान् वा श्रीमतिको मृत्यु भएकोमा चार हजारका दरले २८ जनालाई १ लाख १६ हजार आर्थिक सहयोग प्रदान गरिएको संस्थाका अध्यक्ष तिर्थ प्रसाद पंगेनीले बताए ।

वि.स. २०५५ सालमा स्थानीय २८ जना युवाहरूले स्थापना गरेको सहकारीले अहिले यस क्षेत्रका युवाहरूलाई रोजगारी र ऋण परिचालनबाट स्वदेशमा नै स्वरोजगार बन्न सफल गराएको छ । संस्थापक सदस्यहरूले दैनिक ५० पैसाका दरले मासिक संकलनबाट स्थापित यस सहकारीको नाफा मात्र गत आव २०७३÷७४ मा १ करोड ६० लाख पुगेको ऋण उपसमिति संयोजक यमप्रसाद श्रेष्ठले बताए । सहकारीले कार्यक्षेत्र रामपुर नगरपालिका, निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकासम्म विस्तार गरेको छ । सहकारीले पाल्पाका ग्रामीण क्षेत्रमा आर्थिक कारोबारका साथै मोवाइल रिचार्ज सेव, रेमिटान्स, महिला लक्षित कार्यक्रम लगायतका नमुना काम गर्दै आएको छ ।

सामाजिक काम गर्न थालेपछि यो सहकारी यस क्षेत्रको नमुना सहकारीका रूपमा अघि बढेको छ । महिला, वृद्ध तथा बालबालिकाले समेत सहकारीको सुविधाका लागि शेयर सदस्य लिने र नियमित बचत गर्न थालेका छन् । ९ हजार १५ जना शेयर सदस्य रहेको सहकारीमा अहिले ७ हजार ६ सय १६ जना महिला सदस्य रहेका छन् । महिलालाई लक्षित गरेर कार्यक्रम सञ्चालनमा ल्याएपछि सहकारीमा महिला सदस्य बढेको हो ।
सहकारी संस्थाले गत आव २०७३÷७४ मा १ करोड ६० लाख १७ हजार ५ सय ४३ रूपैयाँ नाफा गरेको छ । सहकारीको शेयर पुँजी ४ करोड ५७ लाख ६० हजार ४ सय रहेको छ । गत आबमा ३६ करोड ५४ लाख ५ सय ९८ रूपैयाँ बचत, ४६ करोड, ४५ लाख, ३ हजार ४ सय ७४ रूपैयाँ लगानी र अन्य कोष ४ करोड ५२ लाख ९१ हजार १ सय २२ रूपैयाँ रहेको छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार