रूपन्देही ः बुटवलमा डेंगुले महामारीको रूप लिएको छ । असोजको पहिलो सातादेखि रूपन्देहीमा फाटफुट्ट देखिएको डेंगु तिहारपछि महामारीको रूपमा देखा परेको हो ।
असोज १५ सम्म २५ जनामा देखिएको डेंगुको संक्रमण सोमबारसम्म ४ सय १० जनामा पुगेको छ । २ जनाको मृत्यु भएको छ ।
लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेम्मीका अनुसार दैनिक ३० देखि ४० जनामा डेंगुको संक्रमण देखा परको हो । लुम्बिनी अञ्चल अस्पताल बुटवलसहित, बुटवल हस्पिटल प्रालि, तिलोत्तमा हस्पिटल, लुम्बिनी नर्सिङ होम, मेडिटेक हस्पिटल प्रालि, क्रिमसन अस्पताल मणिग्राम डेंगु रोगीले भरिएका छन् ।
२०६७ सालदेखि डेंगुको संक्रमण देखिएको बुटवलमा यो पटक सबैभन्दा धेरै डेंगु भेटिएको हो । रोगले महामारीको रूप लिन थालेपछि सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेको नेतृत्वमा स्वास्थ्य टोली बुटवल आएको छ ।
टोलीले बुटवलको लुम्बिनी अस्पतालसहित विभिन्न सरकारी निकायसँग भेट गरी डेंगु रोगले महामारीको रूप लिन थालेकाले यसको व्यवस्थापन थाल्ने बताए ।
उनले डेंगुले ठूलो प्रकोपको रूप लिएकाले यसबाट बच्ने उपायका बारेमा सबै तहबाट सचेतनाका कार्यक्रम गर्नुपर्ने बताए । उनले खोज र नष्ट गर अभियान अब प्रत्येक घरघर पुग्ने गरी गर्न जनस्वास्थ्य र स्थानीय तहलाई आग्रह गर्ने बताए । टोलीले ३ दिनसम्म रूपन्देहीमा डेंगुको अवस्थाबारे जाँचबुझ गर्ने बताए ।
डेंगु लागेका बिरामीमध्ये ७५ प्रतिशत बुटवल उपमहानगरका छन् । कार्यक्रममा बुटवल उपमहानगरका कार्यवाहक प्रमुख गोमा आचार्यले डेंगुको प्रकोप नियन्त्रणका लागि उपमहानगरले सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै टायरको व्यवस्थापन चुनौतीपूर्ण बनेको बताइन् । उनले डेंगुको समस्या सबैको साझा समस्या भएकाले अन्य संघसंस्थासँग हातेमालो गरेर उपमहानगरले काम गर्ने बताइन् । बुटवलमा प्लेटलेस मेशिन एउटा मात्रै भएको विषयप्रति ध्यानआकर्षण भएको जनाउँदै उपमहानगरले यो विषयमा छलफल गरेर अर्को मेशिन व्यवस्थापन गर्ने उनको भनाइ छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख केयरसिंह गोदारले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुरोगको उपचार नभएकाले यसको टोकाइबाट बच्न आग्रह गरे । उनले बिरामीको संख्या बढे पनि आत्तिनुपर्ने अवस्था भने नभएको बताए । पोथी जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण बढ्ने भएकाले यसको बासस्थान खोजी गरी नष्ट गर्नु र त्यसको टोकाईबाट बच्नु नै यो रोगको उपचार भएको गोदारले बताए ।
रगतको अभाव हुन नदिन नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही र अन्य संघसंस्थाले समेत स्वतस्फूर्त रूपमा रक्तदान गरेका कारण बिरामीलाई रगत आपूर्ति भइरहेको रक्तसञ्चार सेवा केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपाने बताए । दैनिक ५०÷६० यूनिट रगत डेंगुका बिरामीलाई खपत भइरहेको रक्तसञ्चार केन्द्रले जनाएको छ ।
उनका अनुसार कार्तिकदेखि अहिलेसम्म ६५५ यूनिट रगतको खपत भएको छ । जबकि अरू बेलामा २ सय मात्रै रगत खपत हुँदै आएको थियो । प्लेटलेस मेशिन रक्त सञ्चार केन्द्र बुटवलमा भएकाले उपचारमा सहज भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । दैनिक डेंगुको संक्रमण बढ्दै गएपछि टोलटोलमा सचेतनाका कार्यक्रम शुरु भएको छ । बुटवल उपमहानगरभित्रका ३ सय बिरामीमा डेंगु देखिएको छ । बुटवलमा बढेको डेंगुको जोखिम कम गर्ने र नागरिक सचेत गराउने गरी बुटवल उपमहानगरले काम गर्ने उपप्रमुख गोमा आचार्यले बताइन् ।
बुटवलमा रूपन्देहीसहित दाङ, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी, प्यूठान, बाग्लुङ र रोल्पाका बिरामीहरूको उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार