बुटवल : डेंगुका बिरामी बढेसँगै रूपन्देही जिल्लामा रगतको माग बढेको छ । असोज १५ गतेदेखि रूपन्देही जिल्लामा डेंगुका बिरामीहरू देखा पर्न लागेसँगै डेंगुका बिरामीका लागि आवश्यक ताजा रगतको माग बढी रहेको रक्त सञ्चार सेवा केन्द्र बुटवलले जनाएको छ ।

यस क्षेत्रमा नियमित रक्तदान कार्यक्रम आयोजना भइरहे पनि डेंगुका बिरामीलाई ताजा रगत आवश्यक पर्ने र स्टोर गरेको रगतले काम नगर्ने भएकाले अहिले रगतको माग बढेको रक्तसञ्चार सेवा केन्द्रका वरिष्ठ प्राविधिक सत्यराज शाक्यले जानकारी दिए । अहिले रक्तसञ्चार सेवा केन्द्र बुटवलले नियमित रक्तदाता समाजको सहयोगमा ताजा रगत दान गर्नेहरूलाई केन्द्रमै बोलाएर बिरामीका आफन्तहरूलाई रगत दिइरहेको छ ।

अन्य समयमा दैनिक ३५ देखि ४० पोकासम्म रगत केन्द्रबाट वितरण गरेकोमा अहिले सबै प्रकारका रगत ७० देखि ८० पोकासम्म रगत वितरण गरिएको बताइएको छ । असोजको अन्तिम सातासम्म ताजा रगत ६० पोकासम्म वितरण गरिएकोमा अहिले ३० पोकासम्म रगत वितरण गरिएको केन्द्रको भनाइ छ ।

नियमित रक्तदाता समाजले पनि बिरामीलाई आवश्यक पर्ने रगतलाई डोनेसन बोलाएर रगत उपलब्ध गराउँदै आएको छ । नियमति रक्तदान, आकस्मिक रक्तदान कार्यक्रम गर्दै आएको समाजले डेंगु बिरामीका लागि आवश्यक पर्ने ताजा रगतका लागि क्याम्पियनको काम गरिरहेको नियमित रक्तदाता समाज रूपन्देहीका कोषाध्यक्ष उदयराज भट्टराईले बताए ।

केन्द्रले डेंगुका बिरामीहरूका लागि ताजा रगतको माग उच्च भए पनि आफन्तहरूलाई नआतिलिन आग्रह गरेको छ ।
बिरामीका आफन्तहरूलाई छिटो रगत आवश्यक पर्नु स्वभाविक भए पनि खाली हात कसैलाई पनि नपठाइएको भन्दै अत्तालिनुपर्ने जरुरी नभएको बताएको छ ।

बिरामीका आफन्तजनहरूले भने केन्द्रमा रगतका लागि आए पनि रगत पाउन मुस्किल भएको बताएका छन् । नवलपरासीको भुताहबाट लुम्बिनी अञ्चल अस्पतालमा बिरामी लिएर आएका घनश्याम चौधरीले खोजेकै समयमा रगत नपाए पनि अन्तिम समयसम्म रगत पाइएको बताए ।

रूपन्देहीमा ०६७÷०६८ मा २ सय ९० जना डेगुबाट प्रभावित भएको र ४ जनाको मृत्यु भएपछि रूपन्देहीमा डेंगु नियन्त्रण अभियान पनि सञ्चालन गरिँदै आइएको छ ।
अहिलेसम्म आर्थिक वर्ष ०६८÷०६९ मा ५ जना प्रभावित, ०६९÷०७० मा २५ जना, ०७०÷०७१ मा १२ जना, ०७१÷०७२ मा ९ जना प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यलयले बताएको छ ।
त्यसैगरी ०७२÷०७३ मा ७ जना, ०७३÷०७४ मा १ सय ६१ जना प्रभावित र २ जनाको मृत्यु भएको बताइएको छ । चालु आर्थिक वर्षमा मात्र १ सय ८२ जना डेंगुबाट प्रभावित र १ जनाको मृत्यु भएको लुम्बिनी अञ्चल अस्पतालले बताएको छ ।


विकाश पराजुली

पराजुली समसामयिक विषयमा कलम चलाउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार