गणेश पोख्रेल
सैनामैना । शर्मिला गन्धर्व कक्षा ८ पढ्दै गर्दा पढाइ छाडिन् । १४ वर्षिय शर्मिला विद्यालयमा रहँदा राम्रो नतिजा हात पार्थिन् । घरमा बुवाको निधन भएपछि उनी विद्यालय छाड्न बाध्य भएकी हुन् । ‘पढ्ने रहर त लागेको छ, तर आमाले सक्दिन भनेपछि के गर्ने विद्यालय जान पाइन’, शर्मिलाले भनिन् ।

आमा सुमित्राले केही वर्ष श्रीमानको निधनपछि पनि विद्यालय पढाइन् । एक्लै इँटागाराको काम गर्र्दै उनले पढाउन थालिन् । तर, दुबै छोरीलाई विद्यालय पठाउन सक्ने स्थिति भएन । यसकारण उनले आफ्नी जेठी छोरीलाई विद्यालय पठाउन सकिनन् । ‘इँटागाराको काममा जान्छु, दिनको ३ सय हो आउने, घरखर्च पढाइ खर्च कसरी चल्छ, सकुन्जेल पढाएकै हुँ’, सुमित्रा गन्धर्वले भनिन् । कान्छी छोरी उर्मिला अहिले कक्षा ४ मा पढ्दै छिन् । उनी कक्षा प्रथम हुन्छिन् । शर्मिलाले कक्षा ७ पढिन् तर अहिले कान्छी छोरीलाई पनि विद्यालय पढाउन सकिन्न कि भन्ने जस्तो भएको छ । सुमित्राले भनिन्– ‘उमेर बढ्दै गयो शरीरले सकुन्जेल गर्ने हो, उपाय नलाएसी के हुन्छ र ।’

एकल महिला सुमित्रा जेनतेन घरखर्च चलाएकी छन् । बस्न बासको समस्या रहँदा सरकारले घर उपहार दिएपछि अहिले बस्ने बासको समस्या ट¥यो तर, घरखर्चदेखि छोरीहरूको पढाइ खर्च उनका लागि हम्मेहम्मे भएको छ । उनीजस्तै यस गन्धर्व बस्तीका अधिकांश बालबालिका कक्षा ७ पढेपछि विद्यालय छाड्छन् । परिवारको आर्थिक स्थित कमजोर रहेको कारण देखाउँदै उनीहरू विद्यालय जाँदैनन् ।

गन्धर्व बस्तीका समस्या
सैनामैना वडा नम्बर १ मा बस्ने गन्धर्व परिवारमा धेरै समस्या छन् । यहाँ १२ घर परिवार छन् । उनीहरूमा ६ परिवारलाई सरकारले घर उपहार दियो तर बाँकी ६ परिवार घर पाउने आशैआशमा छन् ।
यहाँ पीडितहरूलाई बस्न बासदेखि खाने, पानी, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताकै कमी रहन्छ ।

घर नपाउनेको पीडा
कोठाको ढोका खोल्दा घरको छानोबाट सूर्यका किरण आँखामा पर्छन् । त्यही कोठामा रहेका कृष्ण गन्धर्ब भन्छन्– ‘सरकाले नाम टिपेर गएको हो गाउँमा अरूका घर आउँदा हाम्रा लागि खै कता हरायो ।’
कृष्ण मात्रै होइन रूपा गायकको अवस्था पनि उस्तै छ । एक कोठी वरिपरि बोराले बारेको घर, चुहिने छानो भोको पेट दिन काट्न परेको छ भन्छिन् रूपा गायक । उनको परिवारलाई पनि सरकारले घर उपहार नदिँदा समस्या भएको छ ।
सैनामैनाको वडा नम्बर १ मा १२ गन्धर्व परिवार छन् । जहाँ ६ परिवारलाई सरकारले नयाँ घर उपहार दियो घर उपहार नपाएका बाँकी ६ गन्धर्व परिवार अझै आशै आशमा मन भुुलाउँछन् । यहाँका बालबालिकामा उचित शिक्षा छैन । यहाँ पनि बस्ती छन् तर खानेपानीको सुविधा छैन, यहाँ केही घर बनेका छन् तर घर जानो बाटो बनेको छैन । यहाँ समस्यै समस्या छन् तर सरोकारवाला निकायको चासो उत्ति छैन ।

गन्धर्वको रोजाइमा अर्कै पेसा
सारङ्गीको धुनमा घटनाक्रमलाई कलात्मक ढंगबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे । गीत संगीतका माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गन्धर्वका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छाडेका छन् ।
देश–विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मंगला, बारामास, सन्देश, धनसीरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायत भाखामा खबर दिँदै घुम्ने गन्धर्वहरू लोप हुँदैछन् ।

सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेशा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधि रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन मोबाइलजस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेशालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँघरमा गाइने खबरमूलक मर्मस्पर्शी हृदय विदारक गीत गुञ्जन छाडेका छन् । गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गन्धर्वको अभाव खड्किरहेका बेला पुर्खेली जातीय पेशालाई निरन्तरता दिँदै जीवनयापन गरेका छन् केही गन्धर्वले ।

सैनामैनाको वडा नम्बर १ निवासी टेक बहादुर गन्धर्वले परम्परागत जातीय पेशाबाट आफ्नो चारजना परिवारको गर्जो टार्ने गरेका छन् । शिरमा टोपी, गलामा सारङ्गी भिरेर रूपन्देही कपिल्वस्तुका विभिन्न भागमा घुम्ने टेकबहादुर दैनिक रु २ सयदेखि ३ सयसम्म आम्दानी हुने बताउँछन् । ‘सञ्चार प्रविधिमा भएको विकासले हाम्रो पेशा संकटमा पर्यो । सञ्चार माध्यमले सारङ्गीको महत्त्वलाई उचित स्थान नदिए सारङ्गी नै लोप हुनेछ । कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन’, उनले भने, ‘यसको संरक्षण र संवद्र्धनमा सबैले ध्यान दिनुपर्छ ।’
गाउँमा सारंगी पनि हराउन थाले । पुराना पुस्ता हराउदै गए नया पुस्ताले यसमा चासो दिएनन् । बाउहरूले बजाउने सारंगी घरघरमा झुण्डीएका छन् तर अहिले १२ घरमा २ घरमा मात्रै सारंगी बज्छन् । टेक बहादुर गन्धर्व र कृष्ण गन्धर्ब मात्रै हुन् अहिले सारंगी बजाउने ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार