भैरहवा: रूपन्देहीमा सयपत्री फूलको व्यवसायिक खेती नहुँदा वार्षिक करोडौं रुपैयाँ बाहिरिने गरेको छ । सयपत्री फूल तिहारमा अत्यधिक प्रयोग हुन्छ भने अन्य समयमा पनि बढी प्रयोग हुने गरेको छ ।

जिल्लामा उत्पादन हुने सयपत्रीलगायत अन्य फूलहरुले यहाँको माग धान्नसक्ने अवस्था छैन । जसले गर्दा व्यवसायीहरुले बाध्य भएर भारतबाट आयात गर्नु परिरहेको लुम्बिनी फ्लोरिक्लचर एशोसियसनका संस्थापक तथा फ्लोरिकल्चर व्यवसायी रमेश पाण्डेले बताए ।

तिहार नजिकिँदै गएको छ । बजारभरी सयपत्री र मखमली फूलले झकिझकाउ हुनेबला छिटफुट सयपत्री देखिए पनि अधिकांश पसलहरुमा पलास्टिकका माला झुन्ड्याइएको छ । केही मात्रामा भएका सयपत्री फूल पनि भारतबाट आयात गरिएको व्यवसायीहरु बताउँछन् ।

तिहारमा लक्ष्मीपूजा, भाइटिकाको दिन अधिक प्रयोजनमा आउने सयपत्री फूलको माला अहिले अन्य समयमा पनि अत्यधिक प्रयोग हँुदै आइरहेको छ । दिनहुँ सयपत्री फूल र यसको मालाको माग बढ्दो छ । तर यहाँलगायत वरपरका जिल्लाहरुमा यसको व्यवसायिक खेती छैन । रुपन्देहीमा मात्रै होइन पश्चिम नेपालमै यो फूलको व्यवसायिक खेती नहुँदा फूलको लागि पनि भारतसँगै निर्भर रहनुपरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए । उनले यहाँ फूलको माग बढी भए पनि उत्पादन न्युन हुँदा आयात गर्नुको विकल्प नरहेको बताए ।

यस क्षेत्रमा प्रयोग हुने फूल भारतको बनारस, कानपुरलगायतका स्थानबाट आयात गरिन्छ । तराईका जिल्लामा भन्दा पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका पहाडी जिल्लामा केही मात्रामा भए पनि सयपत्री फूलको खेती हुने गरेतापनि ती फूलहरु स्थानीयस्तरमै बिक्री हुने र केही भैरहवा, बुटवलका बजारमा बिक्रीका लागि ल्याइने गरेका छन् ।

भारतीय सयपत्री फूल र मालाको माग दिनहुँ बढिरहेको छ । सामान्य दिनमा यो माला ४० रुपैयाँदेखि ६० रुपैयाँसम्म पर्छ । चाडपर्वका समयमा पुष्प व्यवसायीले मूल्य कसेर लिने गरेका छन् । लक्ष्मीपूजाको दिन अत्यधिक प्रयोग हुने यो मालाको मूल्य २ सय ५० रुपैयाँसम्म पुग्ने गरेको छ ।

भारतबाट सयपत्री फूल आयात गर्दा भन्सार महशुल शून्य प्रतिशत छ भने कृषि सेवा शुल्कवापत ५ प्रतिशत कर नेपाल सरकारलाई आयातकर्ताले बुझाउनुपर्छ ।

दियो हरायो, बजारिया बत्ती झिलिमिली
तिहारको अवसरमा परम्परागत रुपमा बालिने दियो बत्तिको स्थान अहिले विद्युत्बाट संचालन हुने झिलिमिली बत्तिले लिएको छ ।बिगत एक दशकदेखि दियो बाल्ने पालाको बिक्री गर्दै आएका लुम्बिनी नजिकै कक्रहवाकी रामवती पासी पहिलाको तुलनामा निकै कम बिक्री हुने गरेको बताइन् । अहिले माटोको पाला आकार हेरेर ३० रुपैयाँदेखि ४० रुपैयाँ प्रतिदर्जन पाइने गरेको छ ।

यो बनाउन मेहेनत धेरै छ तर बिक्री नहुँदा यो पेशा अपनाउँदै आएका कुमाललगायतका जातीहरु भने निराश छन् ।भैरहवा होटल पवन अगाडि ग्राहक कुर्दै बसेकी रमावतिले बिगतमा भन्दा अहिले पालाको बिक्री कम हुँदै गएको बताइन् । उनले सानो पाला १५ रुपैयाँ प्रतिदर्जन र अलि ठूलोलाई ४० रुपैयाँ दर्जनमा बिक्री गरे पनि विगतमा जस्तो बिक्री नभएको बताइन् ।

करिब डेढ दशकयता पालामा तेलहालेर तिहारमा झिलिमिली बत्ति बाल्ने परम्परा बिस्तारै हराउँदै गएको छ । मैनबत्तीसमेत अहिले विस्थापित भई धेरैले विद्युतीय सामग्री प्रयोग गरिरहेका छन् ।अहिले पहिलाभन्दा विद्युत्को माध्यमबाट बल्ने झालर लगाएर घर झिलिमिली बनाउनेहरु धेरै भएको र दियो पालाभन्दा यसमा आकर्षण बढ्दै गएको पटवा लाइट हाउसका प्रोपोराईटर चन्द्र मोहन पटवाले बताए ।

अहिले विद्युत् सामग्री बिक्री गर्ने स्थानमा ग्राहकहरुको भिड हुने गरेको छ भने पाला बिक्री गर्ने व्यवसायीहरु ग्राहक कुरेर बसिरहेका छन् । बजारमा पाइने थरिथरीका झिलीमिली बत्तीहरुमा अहिले धेरै चाइनिज आउन थालेको छ । नेपाली बजारमा भन्दा सीमावर्ती बजारमा सस्तो भएका कारण सुनौली बजारबाट झिलिमिली बत्ति ल्याउने क्रम बढेको छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार