भविश्वर घिमिरे

पृष्ठभूमि ः
पाल्पा जिल्ला नेपालको साविक पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चल र हाल प्रदेश नं ५ मा पर्ने एउटा पहाडी जिल्ला हो। यसको सदरमुकाम तानसेन हो । सेन वंशका दसौं पुस्ताका राजा चन्द्र सेनका छोरा रुद्र सेनले वि.सं. १५६३ मा पाल्पा राज्यको स्थापना गरेका थिए भने मुकुन्द सेन प्रमको नेतृत्वमा पाल्पा राज्यको विस्तार काठमाडौं धनकुटा र भोजपुरसम्म भएको पाइन्छ । झण्डै ४९८ वर्षसम्म शासन गर्ने सेन राजाहरू मध्ये पछिल्ला राजा पृथ्वीपाल सेनको पालामा बहादुर शाह र भीमसेन थापाको रणनैतिक चतु¥याईंले पाल्पा राज्य विसं १८६१मा नेपाल राज्यमा गाभिएको थियो ।
यो जिल्लाको पूर्वमा तनहँु दक्षिणमा रूपन्देही र नवलपरासी, उत्तरमा गुल्मी र स्याङ्जा, पश्चिममा अर्घाखाँची जिल्लाहरूद्वारा परिवेष्टित छ । विश्व मानचित्रमा यो जिल्ला ८३ १५ देखि ८४ २२ पूर्वी देशान्तर तथा २७ ३७ देखि २७ ५७ उत्तरी अक्षांशमा रहेको छ । यो जिल्ला समुद्री सतहबाट करीब २०० मि. देखि २००० मि. उंचाईसम्म फैलिएको छ । जिल्लाको भौगोलिक क्षेत्रफल १३७३ वर्ग कि.मि रहेको छ । पाल्पा जिल्लामा साविकमा ६५ गा.वि.स., १ नगरपालिका, १३ वटा जि.वि.स.ईलाका र ३ वटा संसदीय निर्वाचन क्षेत्रहरू रहेका थिए । यस जिल्लाको कुल जनसंख्या २,६१, १८० रहेको छ, जसमध्ये पुरुष ४४.३५ (१,१५,८४०) र महिला ५५.६५ (१,४५,३४०) रहेका छन् । स्थानीय तहको पुनः संरचना पश्चात १० वटा स्थानीय तहमा २ नगरपालिका र ८ गाँउपालिका रहेका छन्, जसमा जम्मा ८१ वटा वडाहरू रहेका छन् भने निर्वाचन क्षेत्र निर्धारण गर्दा २ वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रादेशिक निर्वाचन क्षेत्र कायम भएका छन् ।

यो पहाडी जिल्ला भएता पनि माडी, रामपुर, अर्गली, हुँगी, कचल, दर्पूक, सर्देवा, पूर्वखोला, अगांहाखोला, गेझावर्दले, भलायटार, दैलातुङ र दर्पुक जस्ता खेतीयोग्य उर्बर फाँटहरू पनि छन् । उष्णदेखि समशीतोष्णसम्म हावापानी भएको यस भूमिमा प्राकृतिक वनस्पति तथा जैविक क्षेत्रमा विविधता पाइन्छ । यस जिल्लाको सरदर औषत तापक्रम २३ डिग्री सेल्सियस भएता पनि गर्मीयाममा ३५ डिग्री सेल्सियस भन्दा बढी र जाडो याममा ३.७ डिग्री सेल्सियस भन्दा कम हुँदैन ।

नयाँ संरचनमा समावेश साविकका गाविसहरू
१ तानसेन नगरपालिका
तानसेन नगरपालिका पाल्पा जिल्लाको सदरमुकाम हो । स्थानीय तह पुनःसंरचनामा साविक तानसेन, बराङ्दीको २ देखि ६ सम्मका वडाहरू, मदनपोखरा, तेल्घा, बन्दीपोखरा, बौघापोखराथोक, बौघागुम्बा र अर्गली गाउँ विकास समितिहरू समावेस गरी तानसेनलाई नगरपालिका घोषणा गरिएको हो जसको जनसंख्या ५०,४०५ र क्षेत्रफल १०९.८ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविककोकै कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ ।
२ रामपुर नगरपालिका
रामपुर पाल्पा जिल्लामा अवस्थित एउटा नगरपालिका हो । साविक रामपुर गाबिसको बेझाँड बजार रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यसलाई हाल नगरपालिका घोषणा गर्दा रामपुर, गेझा, खालीवन, दर्छा र गाँडाकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । यस नगरपालिकाको क्षेत्रफल १२३.३४ वर्गकिलोमिटर रहेको छ । कुल जनसंख्या ३५,३९६ रहेको छ । पूर्वमा वाकामलाङ, पश्चिममा हेक्लाङ, सिलुवा, विरकोट उत्तरमा काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका, साँखर गा.वि.स., तनहुँको गजरकोट गा.वि.स. र दक्षिणमा पाल्पा जिल्लाको सहलकोट, झिरुवास, गल्धा गा.वि.स सीमानामा रहेका छन् ।
३ रैनादेवी छहरा गाउँपालिका ः
रैनादेवी छहरा गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । नेपालमा ७५३ स्थानीय तह लागू हुँदा पाल्पामा साविकका सिद्धेश्वर, सोमादी, भुवनपोखरी, छहरा, मुझुङ, जुठापौवा, बल्डेङगढी र सत्यवती गाउँ विकास समितिहरूलाई समेटेर रैनादेवी छहरा गाउँपालिका घोषणा गरिएको हो । रैनादेवी छहरा गाउँपालिकको कुल जनसंख्या २६,४६९ रहेको छ । रैनादेवी छहरा गाउँपालिकाको क्षेत्रफल १७५.८८ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा रिब्दीकोट र तिनाउ गाउँपालिका, पश्चिममा अर्घाखाँची जिल्ला, उत्तरमा गुल्मी जिल्ला तथा दक्षिणमा रूपन्देही जिल्ला रहेका छन् ।

४ रिब्दीकोट गाउँपालिका ः
रिब्दीकोट गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । नेपालमा ७५३ स्थानीय तह लागू हुँदा पाल्पामा साविकका ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे, पालुङमैनादी र फेक गाउँ विकास समितिहरूलाई समेटेर रिब्दीकोट गाउँपालिका घोषणा गरिएको हो । यस गाउँपालिकको कूल जनसंख्या १८,७७० रहेको छ । रिब्दीकोट गाउँपालिकाको क्षेत्रफल १२४.५५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा तानसेन नगरपालिका, पश्चिममा रैनादेवी छहरा गाउँपालिका, उत्तरमा तानसेन नगरपालिका र गुल्मी जिल्ला तथा दक्षिणमा तिनाउ गाउँपालिका रहेका छन् ।
५ तिनाउ गाउँपालिका ः
तिनाउ गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । नेपालमा ७५३ स्थानीय तह लागू हुँदा पाल्पामा साविकका कचल, दोभान, कोलडाँडा र मस्याम गाउँ विकास समितिहरूलाई समेटेर तिनाउ गाउँपालिका घोषणा गरिएको हो । तिनाउ गाउँपालिकको कूल जनसंख्या १९,०८५ रहेको छ ।यस गाउँपालिकाको क्षेत्रफल २०२ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ ।
६ निस्दी गाउँपालिका ः
निस्दी गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । नेपालमा ७५३ स्थानीय तह लागू हुँदा पाल्पामा साविकका वाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र ज्यामिरे गाउँ विकास समितिहरूलाई समेटेर निस्दी गाउँपालिका घोषणा गरिएको हो । निस्दी गाउँपालिकको कुल जनसंख्या २२,६११ रहेको छ । निस्दी गाउँपालिका १९४.५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको केन्द्र साविकको मित्याल गाविसको कार्यालयमा रहेको छ । यो गाउँपालिकाका वडा संख्या ७ रहेका छन् । यो गाउँपालिकाको सीमाना पूर्वमा नवलपरासी जिल्ला, पश्चिममा पूर्वखोला र माथागढी गाउँपालिका, उत्तरमा रामपुर नगरपालिका र पूर्वखोला गाउँपालिका तथा दक्षिणमा नवलपरासी जिल्ला रहेको छ ।
७ पूर्वखोला गाउँपालिका ः

पूर्वखोला गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । नेपालमा ७५३ स्थानीय तह लागू हुँदा पाल्पामा साविकका सिलुवा, जाल्पा, रिङनेरह, देवीनगर, हेक्लाङ गाविसका १ देखि ८ वडाहरू र विरकोट गाउँ विकास समितिहरूलाई समेटेर पूर्वखोला गाउँपालिका घोषणा गरिएको हो । यस गाउँपालिकको कुल जनसंख्या १९,५८९ रहेको छ । पूर्वखोला गाउँपालिकाको क्षेत्रफल १३८.०५ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडामा विभाजन गरिएको छ ।
८.बगनासकाली गाउँपालिका ः
बगनासकाली गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । नेपालमा ७५३ स्थानीय तह लागू हुँदा पाल्पामा साविकका चिर्तुङधारा, पोखराथोक, नायरनमतलेस, खानीछाप, दर्लमडाँडा, यम्घा, खानीगाउँ, बराङ्दी गाविसका वडा नम्बर १, ७ देखि ९ सम्म र चापपानी गाउँ विकास समितिहरूलाई समेटेर बगनासकाली गाउँपालिका घोषणा गरिएको हो । वगनासकाली गाउँपालिकको कुल जनसंख्या २१,३६१ रहेको छ । बगनासकाली गाउँपालिकाको क्षेत्रफल ८४.१७ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडामा विभाजन गरिएको छ ।

९ माथागढी गाउँपालिका ः
माथागढी गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । स्थानीय तह लागू गर्दा पाल्पामा साविकका चिदीपानी, रुप्से, कसेनी झडेवा, गोठादी, रहबास र बहादुरपुर गाउँ विकास समितिहरूलाई समेटेर माथागढी गाउँपालिका घोषणा गरिएको हो । माथागढी गाउँपालिकको कूल जनसंख्या २५,०१७ रहेको छ । माथागढी गाउँपालिकाको क्षेत्रफल २१५.५९ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ८ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा पूर्वखोला र निस्दी गाउँपालिका, पश्चिममा तिनाउ गाउँपालिका, उत्तरमा रम्भा, पूर्वखोला र बगनासकाली गाउँपालिका तथा दक्षिणमा नवलपरासी र रूपन्देही जिल्ला रहेका छन् ।
१० रम्भा गाउँपालिका ः
रम्भा गाउँपालिका पाल्पा जिल्लामा अवस्थित छ । नेपालमा ७५३ स्थानीय तह लागू हुँदा पाल्पामा साविकका हुँगी, हेक्लाङ गाविसको वडा नम्बर ९, फोक्सिङकोट, पिपलडाँडा, हुमिन र ताँहु गाउँ विकास समितिहरूलाई समेटेर रम्भा गाउँपालिका घोषणा गरिएको हो । रम्भा गाउँपालिकको कूल जनसंख्या २०,१९० रहेको छ । रम्भा गाउँपालिकाको क्षेत्रफल ९४.१२ वर्ग्किलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडामा विभाजन गरिएको छ । यसको सीमाना पूर्वमा पूर्वखोला गाउँपालिका र रामपुर नगरपालिका, पश्चिममा बगनासकाली गाउँपालिका, उत्तरमा स्याङ्जा जिल्ला तथा दक्षिणमा पूर्वखोला र माथागढी गाउँपालिका रहेका छन् ।
जनसांख्यिक अवस्था ः
राष्ट्रिय जनगणना २०६८ बमोजिम जिल्लाको कुल जनसंख्याः २६११८० रहेको छ भने जसमा पुरुष जनसंख्याः ११५८४० र महिला जनसंख्याः १४५३४० रहेको छ । जिल्लामा ५९२९१ घरधुरीहरू रहेका छन् । गाँउपालिका तथा नगरपालिकाको आधारमा घरपरिवार, महिला, पुरुषको जनसंख्या तल उल्लेख छ ।
शैक्षिक अवस्था ः
हाल यस जिल्लामा जम्मा ४९९ विद्यालयहरू सञ्चालनमा रहेका छन् । जसमा प्राथमिक २८२, निम्न माध्यमिक १०१, माध्यमिक ५७ र उच्च माध्यमिक ५९, छन् । यसका अतिरिक्त ३ वटा मदरसा र १ वटा गुरुकुल समेत सञ्चालनमा छन् । यसै गरि प्राथमिक तहमा छात्रा २३५५० र छात्र २३९८६ गरी जम्मा ४७५३६,निम्न माध्यमिक तहमा छात्रा १२०५३ र छात्र ११३१८ गरि जम्मा २३३७१, माध्यमिक तहमा छात्रा ५८०९ र छात्र ५७२३ गरि जम्मा ११५३२ र उच्च माध्यमिक तहमा छात्रा ३४९८ र छात्र २९५३ गरि जम्मा ६४५१ विद्यार्थीहरू अध्ययनरत छन् । बालविकास केन्द्र ३८० वटा सञ्चालनमा रहेका र छात्रा ५३०७ र छात्र ५८९९ गरी जम्मा ११२०६ विद्यार्थीहरू अध्ययरत छन् । गाँउपालकिा तथा नगरपालिकाको आधारमा साक्षरता प्रतिशत तल उल्लेख छ ।
जातजातिको अवस्था ः
पाल्पा जिल्लामा मगर जातिको बाहुल्यता रहेको छ, जसको कुल जनसंख्या १३६,५८८रहेको देखिन्छ । दोश्रो ठूलो संख्यामा ब्राम्हण पहाडी जाति देखिन्छ । हालको गाँउपालिका तथा नगरपालिकाको आधारमा पहिलो पाँच जातजातिको जनसंख्या तल उल्लेख छ ।

परिवारमा खाना पकाउनमा अक्सर प्रयोग गरिने साधन ः
धेरैजसो घरपरिवारहरूले आफू बसोबास गरेको घर÷आवासीय एकाइमाखाना पकाउनका लागि अक्सर काठ तथा दाउरा नै प्रयोग गर्ने गरेका छन् । वि स २०६८ को जनगणनामा खाना पकाउनका लागि अक्सर काठ तथा दाउरा र ग्यासप्रयोग गर्ने परिवार क्रमशः ४७,६७२ र ८,८८३ रहेको देखिन्छ ।
परिवारमा वत्तिमा अक्सर प्रयोग गरिने साधन ः
धेरैजसो घरपरिवारहरूले आफू बसोबास गरेको घर÷आवासीय इकाइमाबत्ती बाल्नका लागि अक्सर बिजुली प्रयोग गर्ने गरेका छन् । वि.स. २०६८ को जनगणनामा बत्ती बाल्नका लागि अक्सर बिजुली र मटितेल प्रयोग गर्ने परिवार क्रमशः द्धघ,द्दद्धढर ढ,ण्टछ रहेको देखिन्छ । सबैभन्दा कम बिजुली निस्दी गाँउपालिकामा र कम मटितेल बगनासकाली गाँउपालिकामा प्रयोग गरेको पाइन्छ ।
खानेपानीको मुख्य श्रोत ः
जिल्लामा कुल ५९,२६० परिवार मध्ये सबैभन्दा धेरैतानसेन नगरपालिकाका११,४१९ परिवारले धारा वा पाइपबाट र सबैभन्दा कम तिनाउ गाँउपालिकाका द्दछद्धड ले परिवारले धारा वा पाइपबाट पिउने पानी मुख्यरूपमा आपूर्ति गर्ने गरेको पाइएको छ । अन्य श्रोत सम्बन्धी विवरण तल उल्लेख गरिएको छ ।

श्रोत केन्द्रीय तथ्यांक विभाग,२०७४
अन्त्यमा पाल्पा जिल्ला एउटा पर्यटकीय महत्व बोकेको जिल्ला पनि हो । यहाँका पर्यटकीय महत्व बोकेका ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक स्थल र वस्तुहरूमा तानसेनको शीरको रूपमा रहेको श्रीनगर डाँडा, रिडीको प्रसिद्ध ऋषिकेशको मन्दिर, अर्गलीको दरबार भैरवस्थानको भैरव मन्दिर, कालिगण्डकीको किनारमा अवस्थित रानीघाटको रानीमहल, राम्दीको सुनगुफा, ताहूँको रम्भादेवीको मन्दिर, ऐतिहासिक स्थलको रूपमा प्रसिद्ध जीतगढी, बाकुमगढी र नुवाकोटगढी तथा सदरमुकाम तानसेन नगरीभित्र रहेका टुँडीखेल शीतलपाटी, अमरनारायण मन्दिर, रणउज्वेश्वरी भगवती मन्दिर, मूलढोका आदि रहेका छन् । पाल्पाली ढाकाटोपी देशकै उत्कृष्ट ढाका टोपी मानिन्छ भने पाल्पाली करुवा विश्वमै चर्चित छन ।यहाँको सुन्दरतामा पाल्पा दरबार, रानीमहल, भगवती मन्दिर, अमर नारायण मन्दिर, भैरवस्थान मन्दिर लगायत प्रसिद्ध छन् । शिक्षा तथा स्वास्थ्य को केन्द्र तानसेनमा त्रिभुवन बहुमुखी क्याम्पस, लुम्बिनी मेडिकल कलेज तथा अरू क्याम्पस तथा विद्यालय रहेका छन् भने मिसन अस्पताल तथा पाल्पा जिल्ला अस्पताललगायतका स्वास्थ्य संस्था रहेका छन् ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार