नेपाली साहित्यमा निर्मल ढुङ्गानाको ‘पहिचान’ गीत गजलबाट स्थापित भएकोछ । उनले गीत र गजलमा जति अब्बलता हासिल गर्न सकेका छन् त्यति अरु विधाहरुमा नसक्लान् । तर उनले पछिल्लोपटक आख्यानतिर पनि रुचि देखाएका छन् । उनको आख्यानतर्फको रुचि ‘बतासा’ कथा संग्रहको माध्यमबाट अभिव्यक्त हुन पुगेको छ । उनी अहिले नेपाली कथा साहित्यमा कथाकारको रूपमा दरिन पुगेका छन् ।

काव्य विधाबाट प्रवेश गरेका उनी नेपाली साहित्यमा ‘दिन हराएको दिन’(२०६१) ‘नओइलिने फुलहरु’(२०६५) ‘गजल संग्रह र ‘मुक्तक मिठास’(२०७२) संयुक्त मुक्तक संग्रहहरु प्रकाशित भएका छन् । घिन्ताङ्ग गीति एल्बम(२०५८) प्रकाशनका साथै फुटकर गीत गजलहरु रेकर्ड समेत भएका छन् । यसले उनलाई समाजमा राम्रैसँग स्थापित गरेको छ । युवा उर्बर उमेर हो । यो अवस्थामा देखिएको साधनाले स्तरीय कृतिहरुको सिर्जना गर्न सकिन्छ । उमेरको परिपक्वतासँगै उनको परिस्कृति पनि त्यत्तिकै प्रौढ हुँदै जानेछ ।


‘बतासा’ कथा संग्रह २०७३ सालमा प्रकाशित भएको हो । यसमा एघारवटा कथाहरु संग्रहित छन् । यी एघारवटा कथा संग्रहहरुमा ‘मिस एयर होस्टेज’, ‘लाटो धर्ती’, ‘डिभोर्सपछि’, ‘धमिराले खाएको धोका’, ‘अधूरो आकास’, ‘चिसो अङ्गाले’, ‘बतासा’, ‘नजरको दोषी’, ‘पश्चात्ताप’, ‘रिफर टु मेन्टल डिपार्टमेन्टल’ ‘अनुद्घातिट रहस्य’ आदि हुन् । यी सबै कथाहरु मूलतः प्रणयधर्मी कथाहरु हुन् । यसमा बिछोड, प्रेम, मिलन, पश्चात्तापका आरोह अवरोहहरु प्रकट भएका छन् । उनका कथाहरु मर्मस्पर्शी छन् ।

पहिलो कथा ‘मिस एयर होस्टेज’ हो । यसमा एउटी एबोर्सन गराएकी केटीसँग एबोर्सन गराएका डाक्टरसँग टिकोटालो हुन्छ । यो प्रणयमूलक कथा हो । दोस्रो कथा ‘लाटो धर्ती’मा म पात्रले जीवनको पूर्वाद्र्धमा लाटी आमालाई उपेक्षा गर्छ । जब लाटी आमाको वास्तविकता खुल्छ तब म पात्र असाध्य पश्चात्तापको पिरलोमा पर्छ । लाटी आमामा देखिएको वात्सल्य, शान्त प्रवृत्ति र उदात्त भावना अत्यन्त उदाहरणीय छ । यो कथाले आमाको मायाको महत्वलाई दर्शाएको छ । यस कथाले हामीलाई अत्यन्त संवेदित तुल्याउँछ ।

‘डिभोर्सपछि’ कथामा आमाको कारण सलोनी र म पात्र बीच विवाह हुन्छ । पछि उनीहरु बीच डिभोर्स हुन्छ । आमाले सलोनी बुहारीलाई मन पराएकी छन् । त्यसै बीच डरलाग्दो भूकम्प आउँछ । भूकम्पले सबैलाई घाइते बनाउँछ । उनीहरु एउटै अस्पतालमा उपचार गराउँछन् । उनीहरु बीच फेरि दाम्पत्य जीवनमा गासिने सल्लाह हुन्छ । सलोनी घमण्डी पात्र हो तर भूकम्पले उसको घमण्ड चूर्ण हुन्छ । ‘धमिराले खाएको धोका’ शीर्षक कथामा पनि प्रेम, धोका, विछोड, सौतेली व्यवहार आदि कुराहरु अत्यन्त मार्मिक रुपमा चित्रण भएका छन् । ‘अधुरो आकास’मा प्रियङ्का र रुपेस बीचको प्रेम कथा प्रियङ्काको कारण न मिलन न बिछोडमा पुग्छ ।

‘चिसो अँगालो’ कथामा मन्दिप र म पात्र बीच कक्षामा पढ्दा पढ्दै प्रेम अङ्कुराएको हुन्छ । यस कथामा मन्दिपको नेतृत्व कला र शैक्षिक क्षेत्रमा भएको विकृति प्रकट भएको छ । यहाँ मन्दिपले मन पारेकी केटीलाई विवाह गर्न लाग्दा हेडसरको छोराले मन्दिपको हत्या गर्छ । ‘बतासा’ कथाकारको महत्वपूर्ण रचना हो । यो कथामा पनि प्रणयकै आरधना गरिएको छ । यसमा संस्कार र प्रेम बीचको अन्तरद्वन्द्व देखाइएको छ । लाईब्रेरीमा हुर्केको प्रेम अन्ततः जात भातको कारण अन्यत्र विवाह हुन्छ । विवाह पछि पनि दुबै प्रेमी प्रेमीका बीचमा प्रेम कायम रहन्छ । बतासा र म पात्र बीचमा विवाह हुने इच्छा रहँदा रहँदै बतासा ट्रकमा ठोक्किएर मर्छे र कथा दुःखान्तमा पुग्छ । यसमा समाजमा रहेको जातीय विभेदको विरोध गरिएको सन्देश छ । ‘नजरको दोषी’ शीर्षक कथामा विमल र रञ्जुले विवाह गरेनन् । दुबै पश्चात्तापमा परेका छन् ।

‘पश्चात्ताप’ शीर्षक कथामा साधना र निमेष बीच प्रेम हुन्छ । निमेषको प्रेमलाई बुबा आमाले अस्वीकार गर्छन् । तर बुहारी भिœयाउन कर लाग्छ । यत्तिकैमा निमेष हराउँछ । ऊ धेरै वर्षपछि गोरखपुरमा जातीय उन्मूलन कार्यालयमा फेला पर्छ । यो कथाले प्रेम र जात बीचको पर्दालाई च्यात्नु पर्छ भन्ने सन्देश दिएको छ । ‘रिफर टु मेन्टल डिपार्टमेन्ट’ कथा द्वन्द्वकालीन नेपालको चित्रण गरिएको कथा हो । यसमा युद्धकालमा तानसेनमा मारिएका परिवारहरमध्ये नाति बाजेको भेट गराएर अन्त्य गरिएको हुन्छ । बाजेको करुण अवस्था र नातिको कल्याणकारी र जिम्मेवार प्रवृत्तिको चित्रण छ । यो कथा महत्वपूर्ण कथा हो । ‘अनुद्घाटित रहस्य’ लेखकको अन्तिम कथा हो । यस कथामा उषा र सरोजको प्रेम हुन्छ तर उषाले आफै सरोजसँग विवाह गर्न चाहन्न । यसको कारण उसको लिम्फोमा क्यान्सर थियो ।

निर्मल ढुङ्गानाका कथाहरुमा कथागत तत्वका दृष्टिले हेर्दा सबै कुरा ठीकै लाग्छन् । कथा विधामा हुने तत्वहरुमा पहिलो र मुख्य तत्व कथानक नै हो । कथानक(ल्पट) मा उनी सफल देखिएका छन् । त्यसमा आएका घटनाहरु पनि स्वाभाविक छन् । कथामा संवादको मात्रा कम छ । प्रायः धेरै कथाहरुमा म पात्रहरुले आत्मालाप गरेका छन् । यसले हरेक कथाहरुलाई लघु उपन्यासको ढाँचामा देखाउँछ । यी कथाहरुमा परिवेश अत्यन्त कम छ । कथावस्तुलाई परिवेशीय ढाँचामा लैजान सकेको भए अझ राम्रो हुन्थ्यो । परिवेशले कथालाई यथार्थ,विश्वासनीय र सुन्दर बनाउँछ ।

यी कथाहरुमा द्वन्द्वको राम्रो उपयोग गरिएको छ । तर त्यो वाह्य द्वन्द्व भन्दा आन्तरिक द्वन्द्व ज्यादा छ । व्यक्ति व्यक्ति बीच, परिवेश र पात्र बीच, संस्कार र पात्रहरु बीच द्वन्द्व छ तर आन्तरिक मनोद्वन्द्व ज्यादा छ । पात्रहरु हीन र उच्च मनोविज्ञान दुबै खालका छन् । इद, इगो, सुपर इगोको पनि प्रयोग भएको छ । कथामा कौतूहल तत्व राम्रो छ । सबै कथाहरुमा पाठकहरुले अद्योपान्त नपढी छोड्दैन । यसमा कथाहरु सफल देखिएका छन् । यी कथाहरुमा प्रथम पुरुषीय दृष्टिविन्दु प्रयोग भएको छ । सन्देशका दृष्टिले हरेक कथाहरुमा कुनै न कुनै खालको सन्देश छ । उनले मूलतः मानवीय प्रेमको पक्षमा सन्देश दिएका छन् । यस कथामा कथाकार मानवतावादी देखिन्छन् । प्रेम र प्रणयका सामाजिक तगाराहरु हटाउन उनले परम्परागत संस्कारको विरुद्ध बोलेका छन् । कथाहरु रैखिक शैलीमा लेखिएका छन् ।

यस कथाका वरिष्ठ कथाकार वनमाली निराकारले भूमिका लेख्नु भएको छ । उहाँले प्रेमबाट सिर्जित असमझ्दारीबाट उत्पन्न असहज परिस्थिति, प्रेमबाट हुने धोकाधडी, धन सम्पति तथा जातीय विभेदबाट उत्पन्न भएको पारिवारिक विघटन असफल प्रेमबाट भएको दर्दनाक अवस्थाको सुन्दर प्रस्तुति छ भन्नु भएको छ ।

निर्मल ढुङ्गानाका कथाहरुमा प्रणयधर्मी विशेषता ज्यादा छ । यी कथाहरु सामाजिक यथार्थवादमा आधारित छन् । प्रेम यथार्थ हो । प्रेमसँग हुने क्रिया प्रतिक्रियाहरु पनि यथार्थ नै हुन् । उनले जस्तो छ त्यस्तै टपक्क टिपेर थपक्क राखेका पनि छैनन् । त्यसलाई मानवीय मूल्यका आधारमा शिष्ट बनाएर प्रस्तुत गरेका छन् । यसले उनलाई आदर्शोन्मुख यथार्थवादको कित्ताभित्र पुराउँछ । यो कथाकार निर्मल ढुङ्गानाको कथागत प्रवृत्ति र विशेषता हो । निर्मलका कथाहरु निर्मल छन् । उनका कथाहरुमा मानवीय आदर्श लेपन गरेर सम्मानजनक बनाइएको छ ।

यी कथाहरुमा विभेद र छुवाछुतलाई मानवीय आदर्शभित्र राखिएको छैन । केही कथाहरुमा त्यो अंश कम भए पनि मूलतः उनी प्रणयधर्मी कथाकारमा हुन् । गीत गजलबाट उदाएका निर्मल ढुङ्गानामा आख्यान क्षेत्रमा पनि पाइला चालेका छन् । उनको आख्यनात्मक कला निकै सुन्दर देखिन्छ । उनको पहिलो कथा नै सफल छ । उनले नेपाली कथा साहित्यमा राम्रो योगदान दिन सफल छन् । हाम्रो शुभकामना ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार