बुटवल। गर्भपतनलाई कानुनी अधिकार दिएसँगै छोरीलाई भ्रुणमै हत्या गर्ने डरलाग्दो समस्या बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

महिलाको अधिकारका रूपमा गर्भपतनलाई कानुनी अधिकार दिइएपनि पछिल्लो समयमा अल्ट्रासाउण्डमार्फत गर्भमै पहिचान गरी छोरी भएमा नष्ट गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनीहरूले यसको न्यूनीकरणका लागि छलफलसमेत गरेका छन् ।

बुटबलमा शिबिन नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चिकित्सक, धर्म गुरु, स्थानीय निकायका जनप्रतिनिधि, प्रहरी, सरोकारवाला सरकारी कार्यालयका प्रतिनिधि तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले भ्रुणहत्या परिवार नियोजनको साधनको रूपमा प्रयोग भएकोले यसले डरलाग्दो अवस्था निम्ताउने बताएका छन् ।

अन्तरक्रियामा सहभागीहरूले समाजमा जनचेतनाको अभाबमा यस्तो भएको बताउँदै सबैको सहकार्यमा यसलाई न्यूनीकरण गर्न सकिने निश्कर्षमा पुगेका छन् । कार्यक्रममा बोल्दै बुटबल उपमहानगरपालिकाका उपमेयर गोमा आचार्यले भु्रणहत्या न्युनीकरण अभियानमा नगरपालिकाले सबै समाजिक संस्थाहरूसंग सहकार्य गर्ने गरी काम गर्न बजेट बिनियोजन गरेको बताइन् ।

अहिले छोराको संख्या बृद्धि र छोरीको संख्या कम भएको मुख्य कारण पनि छोरीको भु्रणहत्या भएको उनले बताइन् । महिलालाई भन्दा पुरुषलाई यस बिषयमा प्रशिक्षण,तालिम र जनचेतना जगाउने कार्यक्रम आवश्यक रहेको उपमेयर आचार्यले बताइन् ।

लुम्बिनी अञ्चल अस्पताल बुटबलका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले झोला–झोलामा भिडियो एक्सरे बोकेर गाउँ गाउँ जाने र पैसाको लागि महिलाको स्वास्थ्यमा खेलवाड गर्ने गरेको बताए ।

डा. खनालले महिलाहरू पनि समाजका अंग हुन् भन्ने अनुभूति उनीहरूले पाउन नसक्नु, सरकारले यस्ताकुरामा प्रचार प्रसार र कडाई नगर्दा समस्या भएको बताए । लुम्बिनी अञ्चल अस्पताल बुटबलका पूर्व मेसु तथा वरिष्ठ रेडियोलोजिष्ट डा. राजेन्द्र खनालले सरकारी संस्थाबाट भन्दा निजी संस्थाबाट लिङ्ग पहिचान गररी भ्रुण हत्या बढी भएको बताए । पैसाको लागि उनीहरूले महिलाको स्वास्थ्यमाथि खेलवाड गरेको डा. खनालले बताए ।

समाजमा जनचेतना जगाउनु अहिलेको रोकथाम भएको विचार व्यक्त गर्दै यसको न्युनीकरणका लागि कडा कानुनका साथै सामाजिक अभियान चलाउनुपर्ने डा खनालले बताए । सिबिन नेपाल रूपन्देहीका प्रमुख कृष्ण श्रेष्ठले रूपन्देहीमा भु्रणहत्या र रोकथामबारे प्रतिबेदन पेस गरेका थिए ।

भु्रणहत्या बढी हुने नेपालका ६ जिल्लामध्ये रूपन्देही पनि भएको उनले बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी अधिकृत बसन्त पाण्डे, नमुना एकीकृतकी अध्यक्ष ज्ञानु पौडेल, लुम्बिनी अञ्चल अस्पताल बुटबलका सूचना अधिकृत लक्ष्मीराज रेग्मी, बुटबल उपमहानगरपालिकाका वरिष्ठ अधिकृत बिजय भुर्तेल, नेपाल पत्रकार महासंघका रूपन्देहीमा सचिब रामप्रसाद आचार्य, औषधि ब्यबसायी लुकराज न्यौपानेलगायत विभिन्न धर्मका धर्मगुरुहरूले बोलका थिए । उनीहरूले रोकथामको सबैभन्दा भरपदो विकल्प प्रचार प्रसार र कडा अनुगमन भएको बताएका थिए ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार