नेपाल आइडलको अन्तिम ११ मा सुजाता, छोरीलाई भोट माग्दै परिवारजन

बुटवल। एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडलको अन्तिम ११ जनामा रुपन्देही तिलोत्तमा–८ मणिग्रामकी सुजता पाण्डे पर्न सफल भएकी छन् ।
नेपालमै पहिलोपटक आयोजना गरिएको नेपाल आईडलमा उनी ८० हजार भन्दा बढी प्रतिस्पर्धीहरुबाट छनोट हुंदै अन्तिम ११ जनामा पुगेकी हुन् ।
अब प्रतियोगिताको विजेता बन्न दर्शक भोट निर्णायक हुने भएकाले सुजाताका परिवारले बुटवलमा पत्रकार सम्मेलन गरी एसएमएस भोटिङ गर्न सबैसंग अपील गरेका छन् । नेपाल आईडलमा सुजाता लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्ने एक मात्र प्रतियोगी हुन् ।

सुजातामा अरुमा भन्दा पृथक गायन क्षमता रहेको र उनको जित लुम्बिनी अञ्चलकै लागि गौरवको विषय हुने भएकाले एसएमएस भोटिङ गरी जिताउन सुजाताका बुबा दिपक पाण्डेले अपील गरे । छोरीको सानै देखिको गायनमा रुचि र केही बन्छु भन्ने लक्ष्य अहिले सार्थक बन्ने मोडमा आइपुगेकाले दर्शकको भोट आवश्यक रहेको उनले आग्रह गरे ।

नेपाल आइडल प्रतियोगिता हरेक विहिबार साँझ पौने ९ बजे देखि प्रशारण हुन्छ । सोही बेलादेखि शुक्रबार मध्यान्ह १२ बजेसम्म सुजातालाई भोट गर्न सकिन्छ । मोबाइलको म्यासेज बक्समा गई १५ टाईप गरी ३५२२५ मा पठाउन सकिनेछ । विदेशमा रहेका दर्शकले भोट गर्न नेपाल आइडलको एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

बुटवलको बागेश्वरी संगितालयमा संगित कक्षा सिक्दै गरेकी पाण्डे रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको राममणि बहुमुखी क्याम्पसमा विविएस अध्ययानरत छिन । सुजाताका ठुला बुवा तेज प्रसाद पाण्डेले छोरीको संगित यात्रामा सधैं आफनो सहयोग भइरहेको भन्दै नेपाल आईडलमा विजयी बनाउने हात दर्शकको रहेको भन्दै भोट गर्न आग्रह गरे ।

रुपन्देहीको शानका लागि पनि सुजाताको जित आवश्यक रहेको बागेश्वरी संगितालयका प्रमुख सुरेश सेञ्चुरी बताउंछन् । सुजातालाई एसएमएस भोटिङ गरी जिताउन विभिन्न कलेज, उच्च मावि र संघसंस्थामा पुगेर अभियान चलाउने सेन्चुरीले बताए ।

कार्यक्रम रिपोर्टस क्लव रुपन्देहीको आयोजना तथा क्लबका अध्यक्ष प्रकाश खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार