सराङकोटबाट सूर्योदय हेर्न अब सरर केबलकार

पोखरा । नेपालको पर्यटनसँग जोडिएर आउने सहर हो पोखरा । अनि पोखरासँगै जोडिएर आउने मुख्य पर्यटकीय गन्तव्य हुन्– फेवाताल र सराङकोट । फेवाताल र पोखरा बजारदेखि गाडीमा आधादेखि पौने घन्टा लगाएर सूर्योदय र सूर्यास्तको स्वाद लिन सयौं पर्यटक सराङकोट पुग्ने गर्छन् ।

कति पर्यटक सराङकोट आसपासको दृश्य चिहाउन प्याराग्लाइडिङमा कावा खान्छन् । अब भने फेवातालको काखदेखि रमाउँदै ७ मिनेटमै सराङकोट पुग्न सकिने भएको छ । पोखरा, फेवाताल र सराङकोटलाई जोड्ने नयाँ पूर्वाधारका रूपमा केबलकार थपिन लागेको हो ।

फेवातालको उत्तरी क्षेत्र सेदी बगरदेखि सराङकोटसम्मको केबलकार निर्माणको बुधबार शिलान्यास गरिएको छ । अन्नपूर्ण केबलकार प्रालिले स्थापना गर्न लागेको केबलकारको बुधबार प्रालिका अध्यक्ष कालु गुरुङले शिलान्यास गरेका हुन् ।

केबलकारमा गुरुङसहितका नेपाली व्यवसायीको ८५ प्रतिशत लगानी छ । पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीय जनताको १० प्रतिशत लगानी छ । करिब १ अर्बको लागतमा डेढ वर्षमा केबलकार निर्माण भइसक्ने अध्यक्ष गुरुङले बताए । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १३ वटा टावर रहने रोपवे नेपालका अध्यक्ष एवं इन्जिनियर गुणराज ढकालले जानकारी दिए । उनका अुनसार १७ वटा डब्बाबाट सेवा सञ्चालन गरिने र यात्रुको संख्या बढ्दै गएमा ३५ वटासम्म डब्बा केबलमा राख्न सकिन्छ । ‘एउटा डब्बामा ८ जनाले यात्रा गर्न सक्छन्’ ढकालले भने, ‘१७ डब्बाबाट प्रतिघण्टा ५ सय जनालाई सेवा दिन सक्छ ।’

केबलमा ३५ वटा डब्बा राख्ने र १ हजार जनालाई सराङकोट पु¥याउने योजना प्रालिको छ । सराङकोट र सेदीबगरमा स्टेसन राख्नका लागि प्रालिले जग्गा खरिद गरिसकेको छ भने वन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना भइसकेको छ । सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृति दिएको छ ।

पछि पब्लिकलाई सेयर सुविधा दिने योजना कम्पनीले ल्याएको छ । ‘हामीले कम्पनीको शेयर जनतालाई दिने सोंच बनाएका छौं’ प्रालि अध्यक्ष गुरुङले भने, ‘५१ प्रतिशत संस्थापक सदस्यलाई र ४९ प्रतिशत जनतालाई शेयर दिन सकिन्छ, यसबारे हामीले गृहकार्य गरिरहेका छौं ।’ केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको छ । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकारभन्दा यसमा नयाँ प्रविधि प्रयोग गरिने बताइएको छ ।

जापानको निप्पोन केबलकारको प्रविधि र सामान अन्नपूर्ण केबलकारमा प्रयोग हुने इन्जिनियर ढकालले बताए । ‘केबलकार निर्माण गर्दा सुरक्षालाई प्राथमिकता दिइनेछ’ ढकालले भने ‘केबलकार अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै बन्छ ।’ उनका अनुसार केलबलकार निर्माण गर्न ५ वर्षअघि नै सर्भे गरिएको थियो ।

‘केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियोडाँडा तथा पोखराको मनोरम दृश्यावलोकन गर्न मिल्छ’ अध्यक्ष गुरुङले भने, ‘यसले सराङकोटमा पर्यटन प्रवद्र्धन गर्नुका साथै केबलकार नयाँ गन्तव्य बन्ने विश्वास लिएका छौं ।’

बिहान पाँचै बजे पर्यटकलाई सूर्योदय देखाउने गरी केबलकार सञ्चालनको तयारी गरेको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार