१०६ वर्षमा एनआईसियु

बुटवल । लुम्बिनी अञ्चल अस्पताल स्थापना भएको १ सय ६ वर्षपछि नवजात शिशु सघन उपचार कक्ष (एनआईसियु) को उद्घाटन भएको छ । कार्तिक ३ गतेदेखि सञ्चालनमा आएको एनआईसियुको शुक्रबार उद्घाटन गरिएको हो ।

वि.सं. १९६७ सालमा स्थापना भएको लुम्बिनी अञ्चल अस्पतालमा स्थापनाको १ सय ६ वर्षपछि एनआईसियुको स्वास्थ्यमन्त्री गगन थापाले उद्घाटन गरे । एनआईसियुको उद्घाटन गर्दै मन्त्री थापाले नागरिक स्वास्थ्य सेवालाई ग्यारेन्टी लिनको लागि नागरिक स्वास्थ्य बिमा नीति लागू गर्नको लागि सरकार प्रतिवद्ध रहेको बताए ।

उनले नागरिकलाई सरकारी अस्पतालमा सेवा नभएर निजीमा जानको लागि बाध्य पार्ने वातावरण अन्त्य गर्नको लागि सरकारी अस्पतालमा उपकरण र सेवा दुवैमा ध्यान दिनुपर्ने बताए । उनले सरकारले स्वास्थ्य बिमाको लागि संसदमा मस्यौदा पठाउने तयारीसमेत भएको बताए ।
निजी अस्पतालहरुले १० प्रतिशत बेड निःशुल्क रूपमा गरिबलाई दिने सम्झौता गरेको भन्दै ती कार्यान्वयनको लागि मातहतका निकायलाई उनले निर्देशन दिए । थापाले निजीले निःशुल्क सेवा नदिए उनीहरुको अस्पताल नवीकरण नगर्ने बताए । उनले भने – ‘हामीसँग सम्झौता गर्नुभएको छ, उपचार गर्नेमध्ये १० प्रतिशत बेड र सेवा निःशुल्क रूपमा असहायलाई दिनुपर्छ ।’

मन्त्री थापाले लुम्बिनी अञ्चल अस्पतालभित्र फार्मेसी संचालन गर्नको लागि निर्देशन दिए । अस्पतालले आफ्नो परिसरमा तत्काल फार्मेसी खोल्नुपर्ने उनको भनाइ थियो । लुम्बिनी अञ्चल अस्पतालमा परिसरमा हाल अस्पतालले भाडामा लगाएर मासिक १३ लाख रुपैयाँ लिने गरेपनि आफै संचालनतर्फ ध्यान दिएको छैन । मन्त्री थापाले भने –‘अस्पताल परिसरमा आफै फार्मेसी संचालन गर्नुपर्छ कुनै बहाना देखाउन पाइँदैन ।’
मन्त्री थापाले अस्पतालको हराएको जग्गा खोज्न र बन मन्त्रालयमा रोकिएको फाइल खोज्ने काम गर्ने बताए । उनले भने– ‘मैले गर्ने काम गर्छु तर तपाईहरुले यहाँ गर्नुपर्ने काम गर्नुहोस् ।’ थापाले लुम्बिनी अञ्चल अस्पतालका लागि आवश्यक जनशक्ति, उपकरण अन्य सहयोग आफूले गर्ने प्रतिवद्धता जनाए ।

अस्पताल अब नयाँ ढंगबाट लैजानको लागि ओ.पि.डि. सेवा बिहान १० बजेदेखि ५ बजेसम्म सेवा प्रदान गर्ने तयारी गर्नुपर्ने, अस्पतालका डाक्टरहरुले परिचय पत्र देखिने गरी लगाउनुपर्ने, अस्पतालका कुन दिन कुन डाक्टरको सेवा कुन रुममा छ स्पष्ट सूचना बाहिर भिडियोमा सार्वजनिक गर्नुपर्ने, डिजिटल सूचना बोर्ड राख्नुपर्ने, अस्पतालमा टिकट लिँदाको लाइनलाई टोकन प्रद्धतिमा लगेर सहज बनाउन उनले निर्देशन दिए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विकास देवकोटाले दश महिनाको प्रयासबाट अस्पतालले एनआईसियू सेवा सञ्चालन गर्न सफल भएको बताए । स्वास्थ्य विभाग र अस्पतालको एक करोड लगानीमा विभिन्न उपकरणहरु खरिद गरी उक्त सेवा सञ्चालनमा आएको हो । उक्त कक्षमा उमेर नपुगेर जन्मेका नवजात शिशु, जन्मदाबित्तिकै सास फेर्न नसक्ने, अत्यधिक जण्डिस भएका र जटिल संक्रमण भएका शिशुहरुको उपचार हुन्छ ।

एनआईसियू सञ्चालनमा आएपछि नवजात शिशुको मृत्यु दर घट्ने, अस्पतालमा सुत्केरी गराउनेको संख्या बृद्वि हुने, नवजात शिशुलाई काठमाडौं भरतपुर रिफर गनुपर्ने अवस्थाको अन्त्य हुनेछ । अञ्चल अस्पतालमा दैनिक ३० देखि ३५ नवजात शिशुको जन्म हुन्छ । ती मध्ये ८ देखि १० शिशु एनआईसियूमा उपचार गर्नुपर्ने अवस्थाका हुन्छ । अब तिनीहरुलाई अञ्चल अस्पतालमै उपचार हुने भएको छ । डा. देवकोटाले उक्त सेवा निजी अस्पतालको तुलनामा धेरै सस्तो र स्तरीय हुने बताए । एनआईसियू सेवाका लागि ८ बेड रहेको छ । यस क्षेत्रमा सिद्धार्थ महिला तथा बाल अस्पतालमा दुई बेडको एनआईसियू सेवा छ ।

एनआईसियूका लागि अस्पतालले मेडिकल अफिसर र बाल रोग विशेषज्ञ गरी ५ जना डाक्टर र १२ स्टाफ नर्स र अन्य ५ जना गरी २२ जना कर्मचारी राखेको छ । एनआईसियु सेवा नहु“दा कतिपय महिलाहरु अस्पतालको सेवा नै नलिई बाहिरबाट सेवा लिनुपर्नेमा एनआईसियुपछि सुत्केरी हुने महिलाको संख्या बढ्ने अस्तपालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा. प्रायश्चित श्रेष्ठले एनआईसियु यस क्षेत्रका नवजात शिशुका लागि अतिआवश्यक सेवा रहेकोले उक्त सेवा सञ्चालनमा आउनु उपलब्धि भएको बताए । उनले अस्पतालको स्तरबृद्धि सँगै एनआईसियु सेवा संचालन गरिएकोले अब नवजात शिशुको मृत्युदर घटाउन सहयोग गर्ने बताए ।

कार्यक्रममा जनस्वास्थ्य क्षेत्रीय कार्यालय पोखराका निर्देशक डा. तारानाथ पौडेलले अस्पतालमा आम्दानीमा बृद्धि सँगै जनताले देखिने गरी सेवा तथा भौतिक पूर्वाधारको काम गर्नुपर्ने बताए । अस्पतालमा लामो समयदेखि रोकिएका सटरहरुको टेण्डर गरेपछि वार्षिक ७ करोड आम्दानीमा बृद्धि भएको हो । अस्पतालमा दैनिक १५ सय जनाको उपचार हुने गर्दछ । लुम्बिनी अञ्चल र राप्ती अञ्चलका केही जिल्ला र भारतका केही स्थानका बिरामीहरु यहाँ उपचार गर्न आउने गर्दछन् ।

अस्पताल विकास समितिका पूर्व अध्यक्ष रामबहादुर कार्कीले अस्पताल स्तरबृद्धि सँगै विभिन्न सेवाहरु थप गर्नुपर्ने बताए । पूर्व अध्यक्ष राजेन्द्र गुप्ताले सुगर रोग निःशुल्क परीक्षण गर्ने व्यवस्था गर्न माग गरे । यस्तै पुनाराम पोखरेलले स्थानीयको मन जितेर काम गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्रका कृष्ण पोखरेल, एमाले जिल्ला अध्यक्ष शिव सुवेदी, कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले अस्पतालको विकासको लागि दलहरुले सहयोग गर्ने प्रतिवद्धता जनाए । अस्पताल विकास समितिका सदस्य टंक पराजुली, डा. प्रकाश बुढाथोकीले अस्पतालको विकास लागि स्थानीयवासीले सहयोग गर्नुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार