विगत केही वर्षदेखि नै कर्णालीको मुगुस्थित रारा ताल घुम्न जाने योजना बन्दै र थन्किँदै थियो । फेरि हामी योजना बनाउने र गफ गर्नमै मजा पनि त मान्छौं । किनकि कुरामा रमाउने हाम्रो संस्कार नै हो । हामी कुरा गर्छांै, गफ गर्छांै, सपना देख्छौं अनि त्यसैमा रमाउँछौं । तर, त्यो सपनालाई सार्थकतामा परिणत गर्न कत्ति पनि परिश्रम गर्दैनौंं, बरु पुनः काक्ताली लागेर सपना साकार भएको कल्पना गर्न पुग्छौं । अनि फेरि रमाउँछौं । बस् कल्पना गर्नु अनि कल्पनामै रमाउनु हाम्रो नियति जो बनेको छ । हो अहिलेसम्म यो पंक्तिकारको रारा जाने सपनाको हविगत पनि यही नै थियो । तर, यसपाली बुटवलका मित्र पंकज राईको साथले यो सपना पूरा भएको छ । हो, यसपाली भने पंक्तिकारको रारा अर्थात् धर्तीको स्वर्ग देख्ने सपना पूरा भएको छ ।
घुमफिरले ताजगी मात्र पैदा गर्दैन किन्तु नयाँ भूगोल, समाज, परिवेश अनि पर्यावरणको भरपुर ज्ञान पनि दिन्छ । यहाँनेर एउटा पुरानो गीतको भाका सम्झन्छु । ‘बुढापाकाहरु भन्थे नि लै लै, हिंडेदेखि छेउ लाग्छ बसे लेउ लाग्छ ।’ हो, जब हिंडिन्छ, जीवन र जगतको प्रत्यक्ष अनुभव गर्न पाइन्छ । देश र दुनियाँ देखिन्छ । अनि त्यो प्रत्यक्ष देखाई, सिकाई र अनुभवले जीवनलाई ऊर्जा दिन्छ । त्यसैले समय मिल्योका कतै न कतै हिंडिहाल्न मन लाग्छ । यसपाली पनि यो दसैंको लामो विदालाई घुम्ने प्रयोजनको लागि सदुपयोग गर्ने मनसुवाले यही समयमा रारातिर लाग्ने निश्कर्ष निकालियो । त्यसो त धेरै साथीहरुको रोजाई दसैंपछि जाउँ भन्ने पनि थियो । तर, दसैंको विदामा घुमफिर गर्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले बुटवलबाट मित्र पंकज राई र यो पंक्तिकारको टोलीले कर्णालीको मोटरसाइकल यात्रा सुरु गर्यो ।
बुटवलबाट करिब ९ घण्टाको यात्रामा हामी सुर्खेत पुग्यौं । यहाँसम्मको बाटो पनि नौलो थिएन र अपेक्षाकृत यात्रा पनि सहज नै थियो । बुटवल छाडेको दिन सुर्खेतमै बास बस्यौं । सुर्खेतको बसाई आरामदायी हुने नै भयो । भालिपल्ट बिहान सात बजे मोटरसाइकलको ह्याण्डल सोझैं कर्णाली राजमार्गतर्फ मोडियो । अनि बिहानीपखको सुर्खेती सिरेटो चिर्दै हुईंकियौं । सुर्खेत उपत्यकाको नेटो काटिसकेपछि बाटो ओरालो, उकालो घुम्ती मोड हुँदै अघि बढ्यो । शरद्को सफा मौसम, जंगलको बिचहुँदै जाने नागबेली मोटरबाटोमा भर्खरै उदाएको घामका किरणहरु रुखबिरुवाको कापबाट सडकमा पोखिन प्रतिस्पर्धा गरिरहेको झंैं देखिन्थ्यो । त्यो दृष्य बडो रोमाञ्चक तथा चामत्कारिक थियो । बिहानको समयमा हल्का चिसोले उत्ताउलो बनेको वातावरण अनि चराचुरुंगीहरुको चिर्बिराहट, झ्याउँकिरीको लयात्मक संगीत अनि तामे ढुकुरका जोडीहरुको फिरफिराहटले त्यो सडक पनि साँच्चिकै धर्तीको स्वर्ग जाने बाटोझैं प्रतीत हुन्थ्यो । हाम्रो यात्रा यसैगरी जारी रह्यो । जति अगाढि बढ्यो ती पुरानै दृष्यहरु नयाँ नयाँ परिवेशमा उजागर भइरहेका हुन्थे । केहि बेरको यात्रापछि सडक छेउछाउमा थपिए धानबालीले लहलह भएको पहेंलपुर फाँटहरु । अरु दृष्यहरु पूर्ववतः नै थिए । हामी ती सबै दृष्यहरुको एकमुष्ट रसास्वादन गर्दै दुई प्राणी निरन्तर मोटरसाइकल यात्राको मज्जा लिइरहेका थियौं ।
करिब डेढ घन्टाको यात्रापछि हामी सुर्खेतको बड्डीचौर पुग्यौं । सुर्खेतको कुनाथरी गाविसस्थित बड्डीचौरमा सानो बस्ती रहेछ । त्यहाँ त्यस्तै २०÷३० घरहरु अनि एक दर्जनजति ससाना छाप्राहरु थिए । बजारको बाँयापट्टि ठूलो चौर थियो, चौरमा एउटा विद्यालय पनि थियो । गाउँका लागि किनमेल गर्ने थलो अनि यात्रुहरुका लागि चिया चमेना खाने विश्रामस्थल झैं देखिन्थ्यो बड्डीचौर । हो, हामी पनि चियाको तलतल मेटाउन एउटा सानो छाप्रोमा पस्यौं । तनहुँ स्थायी ठेगाना भएकी एकजना महिलाका श्रीमान् बाटो खन्ने क्रममा त्यहाँ आइपुगेका रहेछन् र त्यसबेलादेखि नै सडकको छेउमा सानो होटेल गरी जिविका चलाईरहेको मनिसरा थापाको चिया पसलमा चिया पियौं । खाजाका लागि चाउमिन उमाल्दै गरेकी मनिसराले आफ्नो कथा सुनाउँदै भनिन्, ‘के गर्नु बाँच्नको लागि काम गर्नैपर्छ । यो सानो होटलले परिवार चलाएको छु । श्रीमान् बाटो खन्ने काममै लागिरहेका छन् । अहिले पाल्पामा छन् ।’
मनिसराको सानो चिया पसलमा चिया पिएपछि हाम्रो यात्रा अघि बढ्यो । अबको बाटो कस्तो छ भन्ने प्रश्नमा मनिसराको उत्तर थियो, ‘बाटो त पुरै पिच नै छ । कर्णालीको तिरैतिर जाने हो, केही भइहाल्यो भने सिधै कर्णालीमा पानी खान पुगिन्छ ।’ बाटोको बारेमा मनिसराको कुराले थोरै डर अनि धेरै सतर्क बनाइदियो । मनिसराको चिया पसललाई छाडेर हाम्रो यात्रा भने सिधै अघि बढ्यो । बाटो भने पूर्ववतः उकाली ओराली, पुलपुलेसा अनि जंगलको हरियाली हुँदै अघि बढ्यो । केही स्थानमा बाटो बिग्रिएर खराब भएको देखियो । अनि दर्जन भन्दा बढी ठाउँका खोल्साखोल्सीमा पुल नहुँदा खोल्साबाटै साधन लैजानुपर्ने रहेछ । त्यसले केही असहज पक्कै पनि भएको थियो । तर, मित्र पंकजका कुशल हातले ड्राइभ गर्दा निकै सहज भएको थियो । पहाडीबाटोमा कहिंकहीं असहज हुनु स्वभाविकै हो ।
हामी दैलेखको पाल्तडा भन्ने ठाउँमा खानाखानको लागि रोकियौं । जुम्लाबाट ल्याइएको च्याङ्ग्रा यसपटकको तरकारी भयो । खाना खाइवरी पुनः यात्राले गति लियो । कर्णालीको तिरैतिर सुन्दर हरियाली अनि लहलह धानबालीका फाँटहरु अबको दृष्य थिए । त्यस्तै साँढे तीन बजेतिर हामी कालिकोटको सदरमुकाम मान्मा बजार पुग्यौं र त्यहाँ चिया पियौं । डाँडाको थुम्कोमा रहेको मान्मा बजार पुग्दा निकै उचाइमा पुगेको भान हुन्थ्यो । त्यहाँ निरन्तर रुपमा चल्ने वायुले वैकल्पिक ऊर्जाको संभावनालाई संकेत गरेको थियो । यद्यपि हावाबाट बिजुली निकाल्ने कुरा त्यत्ति सहज भने छैन । लागतको हिसाबमा त्यो हाइड्रोभन्दा निकै महंगो गर्छ शायद ।
त्यसदिन कालिकोटकै नाग्माघाट पुगेर बास बस्यौं । पढेको थिएँ, जुम्लाको रातो मार्सी चामलको बारेमा । त्यसैले होटेलवालालाई त्यही चामलको भात पकाउन भनियो । होटलवाल्नी साहुनीले खोजखाज गरेरै भए पनि त्यही चामलको भात पकाएर खुवाईन् । पहिलोपटक रातो मार्सी पेटमा पर्दै थियो । लेकाली भेडाको मासु र रातो मार्सीको भात खाएर तिला नदीको गड्गडाहटसँगै हामी त्यहीं बास बस्यौं । भोलिपल्ट बिहान सवेरै लागियो गमगढीको उकालोतर्फ । राती हल्का रुपमा परेका पानीले गमगढी सडक केही चिप्लो भएको महशुस हुन्थ्यो । हामी विस्तारै सावधानीका साथ नाग्माघाटबाट हिमा खोलाको तिरैतिर कच्ची र चिप्लो सडकको यात्रा अघि बढ्यो । ९३ किलोमिटरको नाग्मा–गमगढी सडकखण्ड पार गर्न हामीलाई लगभग ६ घन्टा लाग्यो ।
यसबिचमा जुम्लाको सिंजा फाँटमा लहराउँदै झुलेको मार्सी धान र कोदोबारीको तस्बिर आँखाभरि कैद गर्दै हाम्रो यात्रा अघि बढ्यो । मार्सी धानबाली जति लहराउँदो र आकर्षक देखिन्थ्यो, यसको उब्जनी गर्न त्यत्ति नै कठिन पनि रहेछ । जेठमा रोपेर कात्तिकमा काट्ने गरेको स्थानीयहरुको भनाइ थियो । यहाँ चिसो ठाउँ भएकोले धानबाली तयार हुन ६ महिना लाग्नेरहेछ । यात्रा कठिन भइकन निकै रोमाञ्चित पनि थियो । हिमा खोलाको तिरैतिर देखिएका रंगिविरंगी पर्वतमाला, खोँच, पहाड, चट्टान अनि त्यही अजंगका चट्टान काटेर बनाइएको साँघुरो सडकमा यात्रा गर्नु जोखिम त थियो नै तर, धेरै त त्यहाँको सुन्दरताले मन लोभ्याइरहेको थियो ।
स्मृतिमा सजिएको रारा तालको सुन्दरताको तस्बिरले हामीलाई कसैगरे पनि रोख्न दिएन र हाम्रो यात्रा गन्तव्यमा नपुग्दासम्म निरन्तर चलिनैरह्यो । त्यसो त नेपालको शासकीय मानसिकतामा ‘कर्णाली’ यसैपनि टाढा थियो र छ । त्यो टाढा रहेको कर्णाली पुग्ने धेरै अघिको सपना थियो यो । अनि त्यो टाढा रहेको कर्णालीलाई सुर्खेत–दैलेख–कालिकोट–जुम्ला कर्णाली राजमार्गले भौगोलिक रुपमा जोड्ने काम गरेको थियो । त्यसमाथि नाग्मा (कालिकोट)–गमगढी (मुगु) सडकले धर्तीको स्वर्ग अर्थात् रारा ताल हेर्ने सपनालाई साकार पारिदियो ।
हो, मोटरसाइकलको व्यवस्थापन गरी झण्डै एक घन्टाको हिंडाइपछि जब आँखै अगाडि साक्षात रुपमा वर्षौंदेखि मानसपटलमा सजिएको राराको जीवन्त दृष्य देखियो, यात्राका सबै दुःखकष्टहरु कपास बनेर हावामा उड्न थाले । अनि केहीबेरसम्म यात्राको थकानले भारी भएको शरीर बेलुनझैं आकाशमा उडेको प्रतीत हुन थाल्यो । राराको स्निग्ध, अटल, स्वच्छ र सुन्दर गाढा निलो रुपले केहीबेर निःशब्द भइयो । बस् केही क्षणका लागि सबै कुरा बिर्सिइयो किनकि आफ्नो आँखैमा थियो वर्षाैंको सपना रारा, अर्थात् धर्तीको स्वर्ग ।
राराको सुन्दरता नियाल्ने उपयुक्त समय कि त असोज कात्तिक कि त चैत बैशाख नै हो । असोज कात्तिकमा रारा हरियालीले सुन्दर देखिन्छ भने चैत वैशाखमा रंगिविरंगी फूलहरुले सजिएको हुन्छ । हामीले हरियाली र हराभरायुक्त रारा हेर्ने निर्णय गरेरै बुटवलबाट निरन्तर मोटरसाइकलको यात्रा गर्दै तेस्रो दिन मध्यान्ह मुगुको राराको सौन्दर्यता नियाल्न पुगेका थियौं । ताल क्षेत्र पुग्नै लाग्दा हामीलाई सिमसिम पानीले स्वागत गर्यो । डाँडाको टुप्पोमा आँखाले भ्याउँदासम्म हेर्न सकिने विशाल फैलावटमा रहेको रारा अनि त्यहाँको वातावरणीय सुन्दरताको बयान शब्दमा अपुग हुन्छ शायद ।
समुद्री सतहबाट २९९० मिटर उचाईमा रहेको यो ताल नेपालकै ठूलो र गहिरो हिमाली ताल हो । तीन हजार मिटरको उचाइबाट हिमाली क्षेत्र सुरु हुन्छ, यसर्थ, यो ताललाई हिमाली क्षेत्रकै ताल मानिन्छ । रारा निकुञ्जको सबैभन्दा आकर्षणको केन्द्र भनेकै रारा ताल हो । यो ताललाई विश्व सिमसार क्षेत्रमा सूचिकृत गरिएको छ र स्वच्छ मूलबाट आएको पानी नै यहाँको मुख्य विशेषता हो । १५८३ हेक्टर क्षेत्रफलमा फैलिएको यो तालको चौडाई २.७ किलोमिटर रहेको छ भने लम्बाई ५.१ किलोमिटर रहेको छ । अनि तालको अधिकतम् गहिराई १ सय ६७ मिटर मापन गरिएको छ ।
यो तालको वरिपरी सिमसार क्षेत्र रहेको छ र यहाँको वनमा विभिन्न किसिमका दुर्लभ बन्यजन्तु, चराचुरुंगीहरु पाइन्छ । त्यस्तै बनस्पति र फूलहरु पनि उल्लेख्य मात्रामा पाइन्छ । एक हजार भन्दा धेरै जातका बनस्पति, फूल तथा जडिबुटीहरु पाइन्छ भने ५१ थरिका स्तनधारी जनावर तथा २१४ जातका चराचुरुंगीहरुको बसोबास रहेको क्षेत्र हो रारा राष्ट्रिय निकुञ्ज । यस हिसाबले उच्च पहाडी क्षेत्र तथा हिमाली क्षेत्रमा पाइने जैविक विविधता यहाँ पाइन्छ । सन् १९७६ मा यो निकुञ्जको स्थापना नै यहाँको जैविक विविधताको संरक्षणका लागि भएको हो ।
ताल क्षेत्रलाई प्रदुषणमुक्त बनाउन र वातावरणीय सन्तुलन कायम राख्नका लागि इन्जिन जडित कुनै पनि साधन ताल वरिपरी लैजान नपाइने व्यवस्था निकुञ्जले गरेको रहेछ । यो पक्ष साँच्चिकै ठिक लाग्यो । धर्तीकै स्वर्ग हेर्नका लागि कम्तीमा एकाध घन्टाको पदयात्रा गर्नु पनि जरुरी नै हुन्छ । नत्र सजिलै देखिने सुन्दरताको मूल्य पनि कम हुन्छ शायद । तर, विशिष्ट पल्टिने नाउँमा अनेक भनसुन गरेरै भए पनि आफ्ना सवारी साधनलाई अलिक माथिसम्म लैजाने कसरत भने धेरैले गर्दा रहेछन् । हामीले भने त्यस्तो कुनै कसरत गरेनौं । बस् एक थान मोटरसाइकल निकुञ्जको हाता बाहिर रहेको एउटा सानो होटल अगाडि थन्क्याएर आआफ्नो ब्यागप्याक बोकेर हिंडेका थियौं ।
त्यस रात त्यही रारा किनारमै रहेको एउटा होटेलमा बितायौं । भोलिपल्ट बिहान दसैंको दिन होटेलमा पाकेको सेलरोटी र चिया खाएर हामी फर्कियौं । फर्किंदा चाहिं डुंगामाफर्त रारा तरियो । आधा घन्टा भन्दा बढी समय लाग्दोरहेछ रारालाई छिचोल्न । डुंगाबाट रारा नियाल्दा भने साँच्चिकै स्वर्गीय आनन्तको अनुभूति भयो । राराको विशालता र सुन्दरता त राराको मध्य भागमा पुगेपछि पो देखिंदो रहेछ । निलो आकाशमा कावा खाइरहेका केही थान सेता वादलका टुक्राहरु, बिहानको पारिलो घाम, राराको गाढा निलो रंग, शान्तसँग बिनाकुनै अवरोध अविछिन्न रुपमा चलिरहेको पानीको तह, वरिपरीको हरियालीयुक्त पहाडका टाकुराहरु । बस् मध्यभागबाट देखिएका राराको सुन्दरताका बान्कीहरु यिनै थिए । हामी राराको यही सुन्दरतालाई मानसपटलमा सजाउँदै आआफ्नो झोलीतुम्बा बोकेर फिर्ता भयौं ।

manikar.nibartaman@gmail.com
www.nibartaman.com


मनिकर कार्की

कार्की अर्थ–राजनीतिका विषयमा कलम चलाउँछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार