गुल्मी जिल्लाको पश्चिम वस्तु गाविसमा रहेको विचित्र गुफा यतिवेला प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । गुफा ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण रहेको भए पनि यसको उचित प्रचार प्रसार नहँुदा ओझेलमा परेको हो ।

२०४५ सालमा गाउँको बारीमा मकै खान गएको ढेंडुबाँदरलाई लखेट्ने क्रममा स्थानीयले पत्ता लगाएको विचित्र गुफा अहिले मर्मत सम्भार तथा व्यवस्थापनमा सुधार आए पनि प्रचार प्रचारको अभावमा भने ओझेलमा परेको हो । विचित्र गुफा नेपालमै एक अनुसन्धानमूलक ऐतिहासिक गुफा भएको समेत स्थानीयले दावी गर्दै आइरहेका छन् ।

करिब २ सय ८५ लम्बाई र ३ सय ५० मिटर चौडा भूभागमा फैलिएको उक्त गुफामा मुख्य ढोकाबाट भित्र पसेपछि पाँचवटा द्वारहरुको प्राकृतिक आकार देख्न पाइन्छ । करिब ३० वर्ष अगाडि त्यहाँका स्थानीय जनार्दन भण्डारीले आफ्नो बारीमा मकै खानका लागि आएको ढेंडुबाँदरलाई लखेट्ने क्रममा उक्त ढेंडुबाँदर एकाएक पहराको बीचमा रहेको सानो प्वालबाट भित्र पस्यो । उक्त ढेंडुबाँदरलाई लखेट्न गएको अवस्थामा उक्त गुफा भित्र ढेंडुबाँदर पसेपछि त्यहाँ गुफा रहेको पत्ता लागेको स्थानीय समाजसेवी तथा विचित्र गुफा संरक्षण समितिका अध्यक्ष युवराज भण्डारीले जानकारी दिएका छन् । स्थानीयहरुका अनुसार, विक्रम संवत् २०४५ सालको असार महिनामा गुफा पत्ता लागेको हो । गुफा पत्ता लागेपछि सुरुमा वस्तु गाविसकै दश बाह्र जनाको संख्यामा स्थानीय मानिसहरु हातमा राँका र लाइट बालेर गुफाभित्र सामूहिक रुपमा छिरेका थिए । उनीहरुले उक्त गुफाभित्र देखेका कुराहरुलाई गाउँमा सबैलाई सुनाउन थालेपछि विस्तारै विस्तारै गुफा हेर्न जाने मानिसहरुको घुइँचो लाग्न थालेको भए पनि सोचेअनुसार गुफाको विकास हुन सकेको छैन । गुफा संरक्षण तथा विकास समितिका अध्यक्ष भण्डारीका अनुसार गुफा पत्ता लागेको यतिका वर्षसम्म पनि यसको उचित प्रचार प्रसारको कमीले ओझेलमा पर्नु गुल्मीवासीहरुकै लागि दुखद् समाचार हो ।

रुखको काण्ड जतिकै कडा, मोटा र लामा लहरामा झुण्डिँदै पुग्नुपर्ने बाध्यता त्यो गुफा पत्ता लगाउने अवस्थामा थियो । गुफा बाहिरको प्राकृतिक सुन्दरता र हरियालीले गुफाको थप शोभा बढाएको छ । बस्तीदेखि केही तल ख¥यानमा रहेको उक्त गुफा पत्ता लगाउने कुरा त्यत्ति सहज थिएन । त्यहाँका बुढापाका अग्रजहरुले निकै बहादुरी देखाएर आफ्नो ज्यान जोखिमा राखेर गुफाभित्र पस्ने आँट गर्नुले नै यतिवेला विचित्र गुफा भनेर सबैलाई हेर्न र अवलोकन गर्न सम्भव भएको हो । सुरुमा अनकन्टार ठाउँमा, त्यो पनि ओढारभित्र, हिंस्रक जनावरहरुको प्रवाह नगरी पुरै लम्बाई चाहर्ने ती व्यक्तिको शाहसलाई जो कोहीले पनि एकपटक सम्झन बाध्य बनाउने गदर्छ ।

जसले गर्दा आज यो स्थल ‘विचित्र गुफा’को नामले परिचत छ । गुफालाई संरक्षण गर्न एवं पूजाआजा गर्नको लागि स्थानीय भण्डारीहरु खटिने गरेका छन् । उनीहरुले दर्शकलाई त्यहाँको सम्पूर्ण इतिहास तथा धार्मिक महत्वको बारेमा बताउने गर्दछन् । आगन्तुकहरुलाई गुफा भित्रको धार्मिक महत्वको बारेमा जानकारी दिने गर्छन् । गुफाको मुख्य ढोकाबाट प्रवेश गर्दादेखि भित्ताहरुमा देखिने विभिन्न आकृतिहरुले मानिसहरुलाई टक्क अडिएर एकपटक वरिपरि नियाल्न बाध्य बनाउँछ । गुफाको मुख्य आकर्षण भित्र रहेको ‘स्वर्ग जाने बाटो’ पनि झनै महत्वपूर्ण मानिन्छ । सो ठाउँमा पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ । स्वर्ग जाने बाटोमा धर्मात्माहरु मात्र छिर्न सक्ने र पापी मानिसहरु छिर्न नसक्ने भन्ने पनि मान्यता रहेको छ ।

स्वर्ग जाने बाटो एकदमै साँगुरो छ र त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृश्य हात्तीको भीमकाय शरीर नै हो । त्यहाँ प्राकृतिक रुपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रुपमा देख्न सकिन्छ । त्यसदेखि अगाडि कुनै पनि दृश्य नभएकोले पनि उक्त स्थललाई विचित्रताको अन्तिम दृश्यको रुपमा लिने गरिन्छ । जो मानिस त्यहाँ छिर्न सक्छ उसले आफूलाई भाग्यमानी ठान्दछ । गुफाभित्र रहेका विभिन्न जनावरहरुका आकृतिले गुफाको सौन्दर्यलाई थप लाली थपिदिएको छ ।
गुफा संरक्षणका लागि रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीले पनि केही तत्परता देखाएको थियो । तर आर्थिक अभावका कारण त्यस गुफाको जसरी संरक्षणमा सरोकारवाला निकायहरुले ध्यान दिनु पर्ने हो त्यसो हुन नसक्नुका कारण गुफा लामो समयदेखि ओझेलमा परको स्थानीय बुद्धिजीवीहरुको गुनासो रहेको छ । रेसुङ्गा संरक्षण समितिले पनि गुफाको प्रचार प्रसार र महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउनको लागि त्यसको गुरु योजना बनाउने अभियान अगाडि सारेको थियो, त्यो पनि यतिवेलासम्म अलपत्र परेको छ ।

‘शुरु शुरुमा जति त्यस गुफाको प्रचार प्रसार भयो तर आजभोलि त्यसो हुन सकेको छैन, हामीले आफ्नो तहबाट निकै प्रयास गरेका छौँ, तर सम्बन्धित सरोकारवाला निकायले खासै वास्ता नगरेका कारण यो ओझेलमा परेको हो’, संरक्षण समितिमा अध्यक्ष भण्डारीले भने– “पछिल्लो समय अहिले पनि गाउँबाटै समेत यस विचित्र गुफाको महत्व बुझ्न नसकेर पनि हो कि थप ओझेलमा परेको मलाई लागेको छ ।”

समितिका अध्यक्षले आफ्नो पहलमा नेपाल सरकारका विभिन्न उच्च व्यक्तिहरुलाई अवलोकन गराए पनि यसको महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नपु¥याउँदासम्म यसको विकास नहुने भनाइ रहेको छ । यस गुफाको पर्यटन मन्त्री हुँदा प्रदीप ज्ञवालीलगायत तत्कालीन मुख्य सचिव लिलामणि पौडेल, पर्यटन मन्त्रालयका सचिव लोकबहादुर खत्रीलगायतले समेत अवलोकन गरिसकेका छन् । गुफाको बाहिरपट्टि अहिले विभिन्न मठ मन्दिर, विश्रामस्थलहरु निर्माण भइसकेका छन् भने गुफा अप्ठ्यारो भिरमा रहेकाले त्यहाँसम्म पुग्नका लागि गोरेटोबाटो पनि निर्माण भएको छ । यस गुफाको उचित प्रचार प्रसार गर्न सकेमा आगामी दिनमा गुल्मी जिल्लाको पर्यटकीय हिसाबले यो गुफा साँच्चै एक महत्वपूर्ण क्षेत्रको रुपमा स्थापित हुन सक्छ । यसको विकासका लागि गुरुयोजना निर्माण गरेर अगाडि बढ्न समेत जरुरी देखिन्छ ।

सुरुमा साँघुरो मुखबाट भित्र पस्न सकिने गुफाभित्र पस्दै गएपछि विभिन्न खालका खुला र ठुला खाली स्थानहरु रहेका छन् भने कलात्मक ढंगबाट तयार गरिएका जस्ता देखिने ओडारहरु पनि यहाँभित्र प्रशस्तै पाइन्छन् । ५ तलासम्म फैलिएको गुफा र अनेकौं बाटा आकारका साँघुरा गल्ली तर भित्र पसेपछि पुरै खुला भएकाले पनि यसको आकर्षण बढेको छ ।

सदरमुकाम तम्घासबाट ४ कोष पश्चिममा रहेको गुफा हेर्न आउने संख्या भए पनि यसको महत्व अनुसारका मानिसहरु यहाँसम्म पुग्न सकेका छैनन् । करिब २ सय मिटर लम्बाईमा रहेको यो गुफाभित्र ७ सय जना मानिस एकै साथ पस्दासमेत अक्सिजनको कुनै अभाव नहुने समितिले बताउँदै आएको छ । एउटै प्रवेशद्वार रहेको यति लामो गुफामा अक्सिजन अभाव नहुनुले पनि यसमा छुट्टै विशेषताको आभास हुन्छ यहाँ पुग्ने जो कोहीलाई पनि । यसको अवलोकन गर्न पुग्ने मानिसहरुले यस गुफा ऐतिहासिक मात्र नभएर धार्मिक रुपमा समेत निकै महत्वपूर्ण रहेको बताउँछन् । गुफाभित्र टल्किने खालका चट्टानहरुसमेत रहेकाले यसको अध्ययनका लागि सबै क्षेत्रबाट पहल जरुरी रहेको छ ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार