टीकाराम गैरे
नवलपरासीको रामग्राम स्तुप ऐतिहासिक पुरातात्विक तथा धार्मिक स्थल हो ।

कोलीय गणराज्यको रूपमा रामग्राम स्तुप रहेको र यसको राजधानी नवलपरासीको पण्डितपुरमा परेको छ । उत्खनन् गरी प्राचीनता पुष्टि भएपछि प्रचार हुँदै आएको रूपन्देहीको देवदह नभई नवलपरासीको पण्डितपुर कोलीय गणराज्यको राजधानी भएको भूगर्व विदले पुष्टि गरिसकेका छन् । नवलपरासी जिल्लाको तत्कालीन गाउँ उनवच विकास समितिको क्षेत्र अन्र्तगत वडा न ५ मा देउरवा गाउँमा रामग्राम स्तुप अवस्थित छ । हाल रामग्राम नगरपालिका ३ उजैनीमा यो स्थल पर्दछ । सदरमुकाम परासीदेखि दक्षिण महेशपुर सडक ३ किमी पार गरेर उजैनी गाउँबाट १५ मिनेट पूर्वतर्फ हिंडेपछि झरही खोलाको किनारमा समतल मैदानमा देखिने थुम्को नै रामग्राम स्तुप हो । यो स्तुप हाल भत्केको अवस्थामा छ ।

प्रचार प्रसारको अभाव र लुम्बिनी विकास कोषको हेलचेक्राइँका कारण स्तुपको महत्व बढ्न नसकेको स्थानीयले बताएका छन् । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाई र ३० फिट उचाई भएको यो स्तुपाको चिल्लो इँटाले बनाइएको छ ।

अहिले स्तुपलाई काँढेतारले घेरी राखिएको छ । वि.सं. २०३७ सालदेखि रामग्रामको रेखदेख निम्ति लुम्बिनी विकास कोषबाट रेखदेखका लागि कर्मचारी राखिदै आएको छ । बौद्ध ग्रन्थको आठ स्तुति बन्दना पाली भाषाका अनुसार गौतम बुद्धको महापरिनिर्वाण भएपछि उनको शवलाई दाहसंस्कार गराउँदा भस्म नभई मोतीको आकारमा चम्किला दानाहरू बनेका र ती दानाहरूलाई अस्थि धातुको संज्ञा दिएको भन्ने भनाइ पाइन्छ ।

मोतीको दानामय अस्थि धातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शायगण, कोलीय, गबराज र मल्ल राज्यसमेत ८ राज्यका राजाहरू आई बाँडेर लिएका र विभिन्न स्थानमा अस्थि धातु राखी ८ वटा स्तुपहरू निर्माण गरिएको विभिन्न दस्तावेजहरूले पुष्टि गरेको जानकारहरूको भनाइ छ ।

जसअनुसार राजगिर गाउँ पटना, कटिहार, तिलौराकोट (कपिलवस्तु) इलाहावाद, भूपाल, गोरखपुर, कुशीनगर र रामग्राम (नवलपरासी) मा स्थापना गरी पूजिएको विभिन्न तहका दस्तावेजबाट थाहा भएको छ । तत्कालीन राजा गौतमबुद्धका ससुरा दण्डपाणीले बुद्धको परिनिर्वाणपछि अस्थि धातु ल्याई स्तुपमा राखी यो स्तुप निर्माण गरेको भनाइ पनि उल्लेख भएको पाइन्छ । सम्राट अशोकले सबै अस्थि धातु एकत्र गरी राख्ने योजना बनाएको भन्ने भनाइ पनि पाइन्छ ।

यस रामग्रामका विषयमा चिनियाँ यात्री फाइयान र हुयेन साङले पनि आफ्नो यात्रा वृतान्तमा प्रशस्त वर्णन गरेको जानकारहरूले बताएका छन् । धार्मिक, पुरातात्विक एवं एतिहासिक दृष्टिकोणले महत्वपूर्ण यस स्थलमा बिगत धेरै वर्षदेखि विदेशी तथा नेपाली बौद्ध धर्मालम्बीहरू निमितम पूजा गर्न, धूपदीप बाल्ने, बाजा बजाउने, भजन गाउने गर्ने गरेका छन् । रामग्रामको संरक्षण र विकास गर्न सकेमा लुम्बिनीजस्तै रामग्राम पनि एउटा अन्तर्राष्ट्रिय महत्वको बौद्ध तीर्थस्थल बन्ने विश्वास गरिएको छ । यसै पवित्र स्थलको नामबाट नगरपालिकाको नामाकरणसमेत गरिएको हो ।


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार